पोखराबाट जितपुर सिमरा सीधा उडान सञ्चालन हुने

पोखराबाट जितपुर सिमरा सीधा हवाई उडान सञ्चालन हुने भएको छ ।

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा बसेको मन्त्रीस्तरको बैठकले पोखरादेखि सिमरा चैत १५ गते जहाज सञ्चालन गर्ने निर्णय गरेको हो ।

गण्डकी प्रदेशको राजधानी पोखरालाई सातै प्रदेशसँग सीधा हवाई सम्पर्कमा जोड्ने प्रदेश सरकारको उद्देश्यअनुरूप पोखरा–सिमरा विमान सञ्चालन गर्ने तयारी गरिएको हो । चैत १५ गते परीक्षण उडानसँगै पोखराबाट सिमरा हप्ताको तीन दिन नियमित उडान हुनेछ । यती एयरलाइन्सले उडान भर्ने पोखरा–सिमराको भाडादर चार हजार पाँच सय रुपियाँ कायम गरिएको छ ।

पोखरा–सिमरा विमान सञ्चालनपछि दुई प्रदेशको व्यापारिक सम्बन्ध विस्तार हुने गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले बताउनुभयो । दुई प्रदेशबीच सीधा हवाई सेवा सञ्चालनपछि यस क्षेत्रको पर्यटन तथा आर्थिक क्रियाकलापसमेत बढ्ने बताउनुभयो ।

पोखरा–सिमरा विमान उडानको प्रचारप्रसार तथा आगन्तुकको स्वागतका लागि पोखरा महानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, पोखरा उद्योग वाणिज्य सङ्घ, जितपुर सिमरा उद्योग वाणिज्य सङ्घ तथा पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घसंस्थाले व्यवस्थापन गर्नेछन् । –रासस


ताजा खबर