मनकामना केबुलकार एकहप्ताका लागि बन्द

मनकामना केबुलकार नियमित मर्मतसम्भारका लागि मंगलबारदेखि सात दिन बन्द गरिने भएको  छ।

केबुलकार २० पुससम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए। कोरोनाको महामारीसँगै नौ महिना बन्द रहेको केबुलकार गएको २८ मङ्सिरबाट सञ्चालनमा आएको थियो। सञ्चालनको पहिलो दिन नै एक हजारभन्दा बढीले सेवा लिएका थिए।

यात्रुको चाप बढ्दै गए पनि कम्पनीको प्राविधिक निर्देशिका र आवश्यकताअनुसार बृहत् मर्मतसम्भारको समयतालिकामा केबुलकार अनिवार्य बन्द गर्नुपर्ने शेरचनले बताए। मर्मतसम्भारपछि २१ पुसदेखि पुनः नियमित सेवा सञ्चालन गरिने मनकामना दर्शन प्रालिले जनाएको छ।  
 
मनकामना केबुलकारको सेवा बन्द रहे पनि मनकामना मन्दिर भने भक्तजनका लागि खुल्ला नै रहने छ। मनकामना मन्दिरका मूल पुजारी इन्सान थापामगरका अनुसार सुरक्षा मापदण्ड अपनाएर  दर्शनार्थीका लागि मन्दिर खुला गरिएको छ।

गोरखाको शहीद लखन गाउँपालिकास्थित मनकामनामा रहेको मनकामना माता माईको मन्दिर जाने दर्शनार्थीको सहजताका लागि सञ्चालन गरिएको केबुलकारको प्रवेशद्वार (बटम स्टेशन) भने चितवनको  इच्छाकामना–४ स्थित चेरेसमा छ। सोही बटम स्टेशनमा रहेको दी मनकामना क्याफे भने नियमित सञ्चालनमा रहने मनकामना दर्शन प्रालिले जनाएको छ। 


ताजा खबर