काँग्रेसले संसद विघटन बारे सर्वोच्चको निर्णय स्वीकार्ने

नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् विघटन बारेमा सर्वोच्च अदालतको निर्णय जे भए पनि काँग्रेसलाई स्वीकार्य हुने बताउनुभएको छ ।

नेपाली काँग्रेस भक्तपुर क्षेत्र नं. २ ले आज नयाँ ठिमीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै सभापति देउवाले सर्वोच्च अदालतले जे निर्णय गर्छ त्यसैलाई नेपाली काँग्रेसले स्वीकार गर्दै अगाडि बढ्ने स्पष्ट गर्नुभयो ।काँग्रेसले सर्वोच्चको फैसलालाई सधैँ स्वीकार गर्दै आएको र अब पनि सर्वोच्चको फैसलालाई शिरोधार्य गर्ने बताउनुभयो ।

उहाँले काँग्रेसले अदालतलाई तर्साउने, धम्काउने र अनावश्यक दबाब दिने काम हिजो पनि नगरेको र अब पनि दबाब दिएर निर्णय गराउनेतर्फ नलाग्ने बताउनुभयो ।सरकार र संसद्ले बदमासी गरे पनि अदालतले बदमासी नगर्ने प्रति नेपाली काँग्रेस विश्वस्त रहेको भन्दै सरकारले संसद् विघटन गरी निर्वाचन समेत घोषणा गरिसकेकाले अब काँग्रेस कसरी अगाडि बढ्ने भन्ने केन्द्रीय कार्य समितिको बैठक बसी निर्णय लिने देउवाले  स्पष्ट गर्नुभयो ।

नेपाली काँग्रेस सरकारको कदम विरुद्ध एक्लै आन्दोलन गर्ने भन्दै देउवाले काँग्रेसले गर्ने अबको विरोध कार्यक्रमका लागि नेपाली काँग्रेसका कार्यकर्तालाई तयार भएर बस्न निर्देशन गर्नुभयो ।

पञ्चायत कालमा पनि अदालतले न्याय दिएको स्मरण गर्दै उहाँले अब पनि अदालतले न्याय दिनेमा काँग्रेस विश्वस्त रहेको बताउनुभयो ।  अहिले संसद् विघटनको मुद्दा अदालतमा रहेकोले यसको पक्ष विपक्षमा नलाग्ने बताउनुभयो । –रासस


ताजा खबर