प्रधानमन्त्री कपमा लुम्बिनी र एपीएफको विजयी शुरुवात

प्रधानमन्त्री कप राष्ट्रिय महिला टि–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र सशस्त्र प्रहरीको विभागीय टोली एपीएफले विजयी सुरुवात गरेका छन् ।

शनिबारदेखि लुम्बिनी प्रदेशस्थित दाङ्गको लमहीमा शुरु प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनीले प्रदेश नम्बर २ र एपीएफले कर्णाली प्रदेशलाई हराउदै विजयी शुरुवात गरेका हुन् ।

जित सुरुवातसंगै समूह ए मा रहेका एपीएफ र लुम्बिनीले समान २–२ अंक जोडेका छन् ।

पहिलो खेलमा लुम्बिनीले प्रदेश २ माथि ९ विकेटको फराकिलो अन्तरले हराउदै सानदार शुरुवात गर्यो ।

टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित ओभरमा ७ विकेट गुमाउदै ७७ रन बनाएको थियो ।

७८ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले मात्र १ विकेट गुमाएर २३ बल अगावै पुरा गर्यो ।

लुम्बिनीकी गिता गोसाई २३ रन र नेरी थापा १५ रनमा अविजित रहदा सरस्वती घर्तिमगरले २२ रन जोडिन ।

बलिङतर्फ प्रदेश २ की कविता गौतमले एक विकेट लिईन् ।

अनुराधा चौधरी र साना प्रविनले समान २१ रन तथा विमला मगरले १० रन जोड्नु बाहेक अन्य ब्याट्सवुमनले ५ रन कटाउन सकेनन ।

लुम्बिनीकी सुस्मिता भुसाल सर्वाधिक ३ विकेट लिदै प्लेयर अफ दी म्याच घोषित भईन् ।

शनिबारकै दोस्रो खेलमा एपीएफले कर्णालीमाथि २ सय ४ रनको फराकिलो जित हासिल गरेको छ ।

एपीएफबाट २ सय ३६ रनको बिशाल लक्ष्य पछ्याएको कर्णाली १४ ओभर १ बलमा मात्र ३१ रनमा अलआउट भयो ।

कर्णालीको कमजोर ब्याटिङको फाइदा उठाउदैं सस्तैमा समेट्न एपीएफकी करुणा भण्डारीले ५, राजमती ऐरीले २, सोनु खड्का र रेखा रावलले समान एक–एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको एपीएफले निर्धारित ओभरमा ४ विकेट गुमाएर २ सय ३५ रनको विशाल स्कोर बनाएको थियो ।

एपीएफका लागि सिता राना मगरले शानदार अर्धशतक पुरा गर्ने क्रममा ६८ रन बनाउँदा सरिता मगर ४४ रनमा अविजित रहिन् ।

यस्तै ज्योती पाण्डे ३२, ईन्दु वर्मा २२ र ममता चौधरीले २ रनको योग्दान दिइन् ।

कर्णालीकी दिक्षा पुरीले २ तथा निशा पराजुली र अन्जु गुरुङ्गले समान एक–एक विकेट हात पारिन् ।

६८ रन बनाएकी एपीएफकी कप्तान सिता मगर प्लेयर अफ दी म्याच घोषित भइन् ।

प्रतियोगितामा ७ प्रदेश र एक विभागीयसहित ८ टोलीको सहभागिता रहेको छ ।


ताजा खबर