एनसेलले २७ अर्ब लगानी थप्यो

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले करिब २७ अर्ब रुपियाँ लगानी थपेको छ ।

कम्पनीले हालै सार्वजनिक गरेको राष्ट्रिय योगदान प्रतिवेदन (२०१९/२०) अनुसार गत आर्थिक वर्ष २०७६/७७ मा मात्रै उपकरण खरिद, सेवा विस्तारलगायत गतिविधिमा २६ अर्ब ७७ करोड लगानी भएको छ ।

यो लगानी आर्थिक वर्ष २०७५/७६ को तुलनामा दोब्बरभन्दा बढी भएको पनि कम्पनीले जनाएको छ । उक्त आवमा कम्पनीले ११ अर्ब ९७ करोड रुपियाँ विकास खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार गत आवमा एनसेलले सरकारलाई मूल्य अभिवृद्धि कर, आयकरसहित दूरसञ्चार कम्पनीलाई अनिवार्य गरिएका शुल्कसमेत गरेर ३२ अर्ब ६२ करोड रुपियाँ करका रूपमा बुझाएको छ । त्यसअघिको आवमा कम्पनीले ३४ अर्ब ५५ करोड रुपियाँ कर बुझाएको थियो ।

कोभिड सङ्क्रमणका कारण आम्दानी प्रभावित भएपछि करको मात्रा केही घटेको कम्पनीले स्पष्ट पारेको छ । कम्पनीले आफ्नो विकास तथा सञ्चालन खर्चबाट प्रत्यक्ष वा परोक्ष रूपमा नेपालको अर्थतन्त्रलाई गत आवमा ६० अर्ब ५१ करोड रुपियाँ बराबरको योगदान पु¥याएको पनि दाबी गरेको छ । त्यस्तै एनसेल व्यवसायबाट करिब ५७ हजारलाई अप्रत्यक्ष रोजगारी प्रदान गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।

एनसेलका अनुसार हाल कम्पनीका एक करोड ५७ लाख प्रयोगकर्ता छन् । ग्रामीण क्षेत्रमा ५९ प्रतिशत बीटीएस टावर स्थापना गरेको कम्पनीले ५८ प्रतिशत जनसङ्ख्यामा फोरजी पहुँच पु¥याएको दाबी गरेको छ । त्यस्तै एनसेलका ग्राहकमध्ये ६४ प्रतिशतले स्मार्टफोन प्रयोग गर्ने प्रतिवेदनमा उल्लेख छ ।


ताजा खबर