क्रिसमस र इसा मसिहाको जन्म

डा. श्याम उपाध्याय

नेपाल र युरोपबाहिर धेरै देशमा क्रिसमसको दिन इसा मसिहाको जन्म दिन हो भन्ने ठानिन्छ तर यो गलत विश्वास हो । उनी जन्मेको साल यही हो भन्ने ऐतिहासिक प्रमाण पनि छैन । धेरै धार्मिक ग्रन्थले उनको जन्म इसापूर्व चौथो र छैटौँ शताब्दीको बीचमा भएको हुनुपर्छ भनेर अनुमान गरेका छन् ।


इसापूर्व (बीसी) र इसा पछि (एडी) गणना गरिएको पात्रो जुलियान पात्रोसँग सम्बन्धित छ, इसा मसिहाको जन्मसँग होइन । कसैकसैले एडी भनेको ‘अफ्टर डेथ’ भन्ने अर्थ लगाउँछन् । त्यो गलत हो । एडीको पूरा अर्थ ‘अन्नो डोमिनी’ अर्थात् प्रभुको वर्ष हो । जुलियान पात्रोको पहिलो वर्ष इसा मसिहाको नाममा समर्पित गरिएको हो तर उनी त्यो सालमा जन्मेका होइनन् । उनी १ एडीभन्दा दुई/तीनसय वर्षअघि जन्मिएका हुन् ।


इसाईहरूलाई इसाको जन्म कहिले भयो भन्दा पनि ईश्वर मानवको अवतार लिएर पृथ्वीमा आएका थिए भन्ने मान्यता बढी महŒवपूर्ण हुन्छ । तर, जन्मकै हिसाबले इसाको जन्म सेप्टेम्बरमा भएका प्रमाण बढी छन् । पहिला त इसाईहरू डिसेम्बरमा निष्पाप गर्भधारण दिवस मनाउँछन्, जुन दिन आमा मेरीले पुरुषसँग संसर्गविना नै इसालाई गर्भधारण गरिन् भन्ने विश्वास गरिन्छ । यसलाई मान्ने हो भने मेरी गर्भवती भएको सेप्टेम्बरमा ठीक नौ महिना पुग्छ ।


दोस्रो प्रमाण इसाको जन्म भएको खबर बेथ्लेह्याम (प्यालेस्टाइन)मा गोठालाहरूले सुनाएका थिए भनिन्छ । डिसेम्बरमा जाडो हुने भएकाले गोठालाहरू आफ्ना बस्तुभाउ बाहिर ल्याउदैनथे । तसर्थ, उनी जाडोयाममा जन्मेका होइनन् र क्रिसमस र इसाको जन्मबीच कुनै सम्बन्ध छैन ।


इतिहासमा पहिलो क्रिसमस २५ डिसेम्बर सन् ३३६ का दिन मनाइएको अभिलेख छ । क्रिसमस मनाउन किन २५ डिसेम्बरलाई नै रोजियो त । किनभने जुलियान पात्रोअघि रोमन पात्रोको प्रचलन थियो, जसअनुसार २५ डिसेम्बरका दिन सूर्य पृथ्वीको उत्तरी ध्रुवबाट अधिकतम दूरीमा हुन्छ भन्ने मान्यता थियो, जुन कालान्तरमा जम्मा दुई÷चार दिनको फरकले सही नै साबित निस्क्यो । यस दिनपछि हरेक दिन बढ्दै जाने भएकाले गणनाको आरम्भ पनि सजिलो भयो । हाम्रो मान्यताअनुसार यो सूर्य उत्तरायण हुने दिन अर्थात् माघेसङ्क्रान्ति हो ।


जुलियान पात्रोको स्थापना रोमन वादशाह जुलियस सिजरले इसापूर्व ४६ मा गरेको भए पनि खासै प्रचलनमा भने यो केही सुधारका साथ १ जनवरी सन् ७०९ देखि आएको हो । सन् १५८२ मा रोमन पादरी ग्रेगोरी तेह्रौँले यसलाई अरू सुधार गरेर ग्रिगोरियन पात्रो बनाए, जुन हाल अन्तर्राष्ट्रिय प्रचलनमा छ ।


पहिलाको जुलियन पात्रो रूस र अन्य क्रिस्चियन अर्थोडक्स धर्म मान्ने देशहरूमा धार्मिक पर्व मनाउने दिन हेर्नका लागि गिर्जाघरहरूले अझै पनि प्रयोग गरिरहेका छन् । अर्थोडक्स र क्याथोलिक धर्मावलम्बीहरूले क्रिसमस मनाउने दिन फरक छ । जुलियान पात्रोअनुसार यस वर्ष क्रिसमस पुस २३ गते अर्थात् माघेसङ्क्रान्तिभन्दा एक हप्ताअघि पर्छ । हजारौँ वर्षदेखिको प्रचलनको हिसाबले यो त्यति ठूलो फरक भएन ।

यसबाट के प्रमाणित हुन्छ भने हाम्रा धार्मिक आस्था जति नै भिन्न भए पनि एउटै पृथ्वीमा बसेका र एउटै सूर्यको ज्योतिमा हुर्केका मानव जातिका आस्था र परम्परामा खोतल्दै गए केही न केही समानता अवश्य भेटिन्छ ।


ताजा खबर