डा. युवराज खतिवडा अमेरिकाका लागि राजदूत नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले डा. युवराज खतिवडालाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।


राष्ट्रपतिले मङ्गलबार डा. खतिवडालाई मन्त्रिपरिषद्को सिफारिसमा राजदूत पदमा नियुक्त गर्नुभएको जानकारी राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले दिनुभयो । नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।


यसअघि डा. खतिवडा राष्ट्रिय सभाको सदस्य भई वर्तमान सरकारमा अर्थमन्त्रीसमेत हुनुभयो । साथै, उहाँले केही समय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्नु भएको थियो ।


वित्तीय अर्थशास्त्रमा विद्यावारिधि गर्नु भएका डा. खतिवडा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष तथा नेपाल राष्ट्र बैङ्कको गर्भनर भइसक्नु भएको छ ।  


ताजा खबर