टर्किस एयरलाइन्स बन्यो स्पोर्टस अवार्डको सहप्रायोजक

नेपाल खेलकुद पत्रकार मञ्चले स्पोर्टस अवार्ड २०७६ को सहप्रायोजक (एयरलाइन्स पार्टनर) को रुपमा मंगलबार टर्किस एयरलाइन्ससँग सम्झौता गरेको छ ।

स्पोर्टस अवार्डका लागि टर्किस एयरलाइन्ससँग लगातार यो दोस्रो वर्ष भएको सम्झौता हो । मञ्चका महासचिव प्रज्वल ओली र टर्किस एयरलाइन्स नेपालका महाप्रबन्धक अब्दुल्लाह टंकर केसीसीले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरका छन् ।

यो सम्झौता एक वर्षको हुनेछ । सम्झौता अनुसार पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत वर्ष खेलाडी पुरुष र महिला विजेताले दुईतर्फी हवाई टिकट प्राप्त गर्नेछन् । यो एयरलाइन्स पुग्ने विश्वका जुनसुकै गन्तव्य पनि हुनेछ ।

कार्यक्रममा टर्किस एयरलाइन्स नेपालका महाप्रवन्धक अब्दुल्लाह टंकर केसीसीले भने– खेलाडी र युवाहरुको प्रोत्साहनका लागि नेपाल खेलकुद पत्रकार मञ्चले अवार्ड कार्यक्रम गरिरहेको छ । यो सराहनीय कार्य हो । त्यसका लागि हामी पनि यस कार्यक्रममा जोडिन पाउँदा आभारी छौं । नेपाली खेलकुदका जुनसुकै कार्यक्रमलाई सहयोग गर्न हाम्रो संस्था तयार छ ।

नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव प्रज्वल ओलीले भने– टर्किस एयरलाइन्सस“ग लगातार दोस्रो वर्ष सहकार्य गर्न पाउँदा मञ्च परिवार खुसी छौं । सम्पूर्ण नेपाली खेलकुद र खेलाडीका लागि टर्किस एयरको यो सहकार्य प्रोत्साहनजनक रहेको छ । यो सहकार्यलाई टर्किसले निरन्तरता दिनेछ भन्ने हाम्रो विश्वास छ । टर्किस एयरलाइन्सले हाल विश्वका ३२० गन्तव्यमा सेवा पुर्‍याइरहेको छ ।

हाल विश्वव्यापी फैलिइरहेको कोरोना भाइरस महामारीका कारण विश्वका २१५ गन्तव्यमा मात्र एयरलाइन्सले सेवा पुर्‍याइरहेको छ ।

पल्सर स्पोर्टस अवार्ड कार्यक्रम पुस २८ गते हुनेछ । १७ औं संस्करणको अवार्डको पिपल्स च्वाइस विधाको मनोनयनसमेत सार्वजनिक भइसकेको छ । पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिसँग प्रायोजन सम्झौता नवीकरण गर्नुका साथै पिपल्स च्वाइस विधाको भोटिङका लागि ई–सेवासँग पनि सम्झौता भइसकेको छ ।

पिपल्स च्वाइस विधाको मनोनयनमा पौडीकी गौरिका सिंह, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र करातेका मन्डेकाजी श्रेष्ठ परेका छन् ।

विगतका वर्षमा जस्तै यसपल्ट पनि उत्कृष्ट पुरुष, महिला, पिपल्स च्वाइस तथा प्रशिक्षक विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ । अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्परहरू प्रदान गरिने छ ।

अवार्डलाई सह–प्रायोजनको रुपमा सूर्य नेपाल प्रालि, रुस्लान, कामारु टे«डिङ प्रालि (अन्तर्राष्ट्रिय ब्रान्ड केल्मीको आधिकारिक बिक्री वितरक केल्मी नेपाल), टर्किस एयरलाइन्स, रोयल सिंगी होटल, होटल क्राउन प्लाजा, इमेजिङ रहनेछन् ।

अवार्डलाई युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटीको समेत सहयोग रहनेछ । ‍


ताजा खबर