नेकपा अध्यक्ष ओली र गृहमन्त्री तथा सचिवालय सदस्य थापा बीच भेटवार्ता

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’लाई भेट्नुभएको छ । हरिहरभवनस्थित मन्त्री क्वाटरमै गएर प्रधानमन्त्री ओलीले नेता थापालाई भेट्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

पछिल्लो समय नेकपा भित्रको आन्तरिक विवाद समाधानोन्मुख रहेका बेला प्रधानमन्त्री ओली आफैँ सक्रिय हुनुभएको हो । सोअघि आजै विहान प्रधानमन्त्री ओलीले खुमलटार गएर अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्नुभएको थियो । सो भेटमा पार्टी उपाध्यक्ष बामदेव गौतमको पनि सहभागिता थियो । भोलि आइतबार नेकपा स्थायी कमिटी बैठक आव्हान गरिएको छ ।

सोअघि पार्टीको आन्तरिक विवाद सल्टाएर अध्यक्षको संयुक्त प्रस्ताव बैठकमा पेश गर्ने वातावरण बनाउन अध्यक्ष ओली सक्रिय हुनुभएको नेकपाका नेताहरुको भनाई छ । प्रधानमन्त्री ओली आफैँ विवाद सल्टाउन सक्रिय हुनुभएपछि त्यसलाई नेताहरुले ‘सकारात्मक कदम’ भन्नुभएको छ । संवैधानिक परिषदको पछिल्लो अध्यादेश सरकारको तर्फबाट प्रधानमन्त्रीले ल्याउनुभएपछि पार्टीभित्र तिव्र असन्तुष्ट बढेको थियो ।

संवैधानिक निकायमा राजनीतिक नियुक्त गर्न बाँकी रहेकाले बैठकमा गणपुरक संख्या नपुग भएपछि सरकारलाई अध्यादेश ल्याउनु परेको प्रेस सल्लाहकार थापाले जानकारी दिनुभयो । तर पार्टीको बैठकमा त्यसबारे छलफल भई फिर्ता लिने सहमति भइसकेकाले प्रक्रियाअनुसार अध्यादेश फिर्ता हुने उहाँले बताउनुभयो । संवैधानिक निकायको करिब ४५ वटा पदपूर्ति गर्न अझै बाँकी छ ।


ताजा खबर