स्यावास सन्तोष : ‘नेपाली खाना विश्वमा चिनायौ’

बीबीसी वानबाट प्रसारित मास्टरसेफ : द प्रोफेसनल्स् २०२० को अन्तिम प्रतिस्पर्धामा उपाधि नजिते पनि संयुक्त अधिराज्य (बेलायत) मा बसोबास गर्ने नेपालका सन्तोष साहले निर्णायकसहित सम्पूर्ण नेपालीको मन जित्न सफल हुनुभएको छ । बेलायतमा भएको अन्तिम प्रतिस्पर्धामा साह र नेदरल्यान्डका वार्ट भान डर लीलाई पछि पार्दै बेलायतका २५ वर्षीय एलेक्स वेब मास्टर सेफको विजेता बन्न सफल हुनुभएको छ ।

हस्पिटालिटी क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय स्तरको यस प्रतियोगितामा सहभागी ३२ व्यावसायिक सेफमध्ये तीन जनाले अन्तिम प्रतिस्पर्धामा आफ्नो स्थान बनाउन सफल हुनुभएको थियो । नेपाली ढाकाटोपीमा देखिनुभएका ३५ वर्षीय साहले अन्तिम प्रतिस्पर्धामा चरेसको थालमा राँगाको मासु, खोले साग, भेडाको गिदीलगायतका परिकार पस्कनुभएको थियो ।

प्रतियोगिताका विभिन्न चरणमा साहले योमरी, क्रिस्पी, चिकेन चिल्ली, सी विडको अचार, भेजिटेबल अचार, खरायोको मासु, कोदोको खीर, आँपको कुल्फी, आँपको अमौरा बनाएर निर्णायकको मन जित्नुभएको थियो । सेमिफाइनलको पछिल्लो चरणमा साहले नेपालको हिमाली खानाबाट प्रेरित रोस्टेड काँक्राको बियाँ, प्याजको अचार, स्याउको चट्नीलगायतका परिकार बनाउनुभएको थियो । यसैगरी विभिन्न चरणमा सिस्नो र आलुको तरकारी, बेथेको साग, भाङको चट्नी मकैको रोटी, तामाको अचार जस्ता नेपालका मौलिक खानाका परिकार पस्कनुभएको थियो ।

साहले लन्डनका चर्चित सेफहरूसँग प्रशिक्षण लिनुका साथै सँगै काम गरेको अनुभव छ । नेपालको सिराहा जिल्लाको कर्जन्हा घर भएका साह सानो उमेरमै कामको खोजीमा भारत जानुभएको थियो ।

भारतको गुजरातमा किचन पोर्टरबाट सुरु भएको उहाँको सङ्घर्ष भारतको पाँचतारे होटल हुँदै एक दशकअघि लन्डनका चर्चित रेस्टुरेन्टसम्म पुगेको हो । हाल उहाँ लन्डनको एक रेस्टुरेन्टमा हेड सेफका रूपमा कार्यरत हुनुुहुन्छ । प्रतियोगिताको फाइनलमा पुग्नुभएका अर्का प्रतिस्पर्धी ली लन्डनमै सेफको रूपमा कार्यरत हुनुहुन्छ ।

प्रतियोगितामार्फत नेपालका विभिन्न परिकारलाई अन्तर्राष्ट्रिय स्तरमा परिचत गराउन आफू सफल भएको साहले बताउनुभयो ।

सफल नेपाल परिवारका तर्फबाट सेफ साहलाई धेरै धेरै बधाई अनि सम्पूर्ण नेपालीजनका तर्फबाट स्यावासी पनि ।


ताजा खबर