वाणिज्य बैंक र महालक्ष्मी नगरपालिकाबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र ललितपुरको महालक्ष्मी नगरपालिकाबीच सहुलियतपूर्ण कर्जाका लागि सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र महालक्ष्मी नगरपालिकाका नगर प्रमुख रामेश्वर श्रेष्ठले बुधबार हस्ताक्षर गर्नुभएको छ ।

सम्झौतामा नगरपालिकाले उद्यम तथा व्यवसाय गर्न सम्भाव्य र इच्छुक समुहलाई परामर्श तथा उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने र तालिम प्राप्त उद्यमीरुको ५र५ जनाको समूह बनाई सहकार्य समूह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरुलाई कर्जाका लागि बैंकको शाखामा सिफारिस गर्ने छ। नगरपालिकाले सिफारिस गरेका उद्यमीहरुलाई बैंकले नियमानुसार प्रत्येक समूहलाई अधिकतम पाँच लाख रुपैयाँसम्म सहुलियपूर्ण कर्जा दिने बैंकले जनाएको छ।

बैंकले अहिलेसम्म १७ वटा स्थानीय तहसँग सहुलियतपूर्ण कर्जाका लागि सम्झौता गरेको छ ।

समझदारीपत्रमा हस्ताक्षपछि सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले महालक्ष्मी नगर क्षेत्रभित्रका उद्यम तथा व्यवसाय गर्न चाहने युवाहरुलाई आवश्यक परामर्श र उद्यमशीलतासम्बन्धी तालिमको व्यवस्था गरी तालिम प्राप्त व्यक्तिहरुलाई सहुलितपूर्ण कर्जाको लागि बैंकमा सिफारिस गरिने बताउनुभयो । उहाँले यस कार्यक्रमले युवाशक्तिलाई उत्पादनसँग जोडी बेरोजगारी न्यूनिकरण गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यस समझदारीले वर्तमान अवस्थामा खेर गइरहेका बौद्धिक र श्रमिक शक्तिको उचित व्यवस्थापन गर्ने नगरको लक्ष्यलाई पूरा गर्न एवम् नगर प्रमुख युवा उद्यमशीलता कार्यक्रमको सफलतामा समेत ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै, उहाँले यस सहुलियतपूर्ण कर्जासँग सम्बन्धित काममा बैंकसँग आवश्यक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सहुलियतपूर्ण कर्जा तिर्नुनपर्ने भन्ने भ्रम धेरैमा रहेकाले कार्यान्वनयमा चुनौति भएता पनि नगरपालिकाको सहकार्य र प्रतिबद्धताले बैंकलाई थप उत्साहपूर्ण तरिकाले कार्यक्रम कार्यान्वयन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


ताजा खबर