बिबिएल खेल्न सन्दीप लामिछाने अष्ट्रेलिया प्रस्थान

नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास लिग (बिबिएल) क्रिकेट खेल्न आज अष्ट्रेलिया उड्नु भएको छ ।

उहाँ तेस्रोपटक बिग बास खेल्न कतार एयरवेजको उडानमार्फत त्यसतर्फ लाग्नुभएको हो ।

लामिछाने बुधबार अस्ट्रेलिया पुगेपछि १४ दिनको क्वारेन्टिनमा बस्ने उहाँका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिनुभयो ।

बिग बास भने गत बिहीबारदेखि नै शुरु भइसकेको छ । क्वारेन्टिनमा बस्नुपर्ने भएकाले लामिछानेले शुरुआती छ खेल गुमाउनु हुनेछ ।

यस पटक उहाँले होबार्ट हुरिकेन्सबाट बिग बास खेल्दै हुनुहुन्छ । लामिछानेले यसअघि दुई यामको बिग बास लिग मेलबर्न स्टार्सबाट खेल्नुभएको थियो । उहाँले पछिल्ला दुई याममा २० खेल खेल्दै २६ विकेट लिनुभएको थियो ।

उहाँ आबद्ध होबार्ट आज दिउँसो आफ्नो तेस्रो खेल एडिलेड स्टाइकर्सविरुद्ध खेल्दैछ । होबार्ट यसअघिका दुई खेलमा विजयी भएको थियो । हालसम्मको खेल प्रदर्शनका आधारमा लामिछानेको टोली होबार्ट सात अङ्कसहित लिगको दोस्रो स्थानमा रहेको छ ।

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेको अवस्थामा दुई साताअघि लामिछाने कोरोनाबाट सङ्क्रमित हुनुभएको थियो । हाल उहाँ कोरोनाबाट मुक्त हुनुभएको छ ।


ताजा खबर