राष्ट्रिय कविता महोत्सव सुरु

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले मुलुकको सांस्कृति समृद्धिका लागि स्रष्टाहरुलाई एकजुट भएर कलम चलाउन आग्रह गर्नुभएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानले आज आयोजना गरेको राष्ट्रिय कविता महोत्सवको उद्घाटन गर्नुहुँदै मन्त्री भट्टराइले आर्थिक समृद्धिसँगै सांस्कृति समृद्धिको पनि खाँचो भएको औल्याउनुभयो ।

स्रष्टाहरुले परिवर्तनका पक्षमा कलम चलाउँदै आएको स्मरण गर्दै मन्त्री भट्टराइले अब स्रष्टाको कलम आर्थिक विकास र संस्कृतिक रुपान्तरणको पक्षमा चल्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मन्त्री भट्टराइले प्रज्ञा प्रतिष्ठान परिसरमा पुस्तक भण्डारण तथा बिक्री कक्षको पनि शुभारम्भ गर्नुभयो ।

प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको २०४७ सालदेखि २०७६ सालसम्मका राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कविताहरुको संग्रह पनि उहाँले आजै सार्वजनिक गर्नुभयो ।

प्रज्ञा प्रतिष्ठानको ६३औं वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको कविता महोत्सवमा प्राप्त पाँच सय दुई कवितामध्ये ३० वटा उत्कृष्ट कविता वाचनका लागि छनोट भएको छ ।

छनोट भएका कविताहरुमध्येबाट आजै वाचनको प्राप्तांकसहित मूल्यांकन गरी नतिजा सार्वजनिक गरिने प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्राध्यापक जगतप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रतिष्ठानमा कार्यरत कर्मचारीलाई प्रज्ञा दीर्ध सेवा पदक र प्रज्ञा सेवा पदकबाट सम्मान गरिएको छ ।

प्रज्ञा प्रतिष्ठानले आफ्नो वार्षिकोत्सवका अवसरमा हरेक वर्ष असार २९ गते गर्ने राष्ट्रिय कविता महोत्सव यस वर्ष भने कोरोना भाइरस सङ्क्रमण महामारीका कारण मंसिर २९ गतेलाई सारिएको थियो । –रासस


ताजा खबर