आगामी जनगणनामा घरको पनि पूर्ण गणना गरिने

राष्ट्रिय जनगणना २०७८ मा मानिसको मात्र नभई घरको समेत पूर्ण गणना गरिने भएको छ ।

बाह्रौँ राष्ट्रिय जनगणनामा पहिलोपटक घरको तला, आयु तथा प्रयोजनसहित पूर्ण गणना गरिने केन्द्रीय तथ्यांक विभाग, जनसंख्या शाखा निर्देशक ढुण्डीराज लामिछानेले बताउनुभयो । जनगणनामा घरको समेत पूर्ण गणना गरिन लागेको यो पहिलोपटक हो ।


घर तथा घरपरिवार सूचीकरणअन्तर्गतका प्रश्नावलीमा घरसम्बन्धी केही आधारभूत प्रश्नहरु समावेश गरिएको निर्देशक लामिछानेले बताउनुभयो । घरसम्बन्धी गणनाले घरमा कति परिवार कति बसेका छन् ? कति पुरानो घर हो ? तथा बसोबास वा व्यावसायिक प्रयोजनका लागि घर प्रयोग गरिएको हो भन्नेजस्ता तथ्यांक प्राप्त हुने उहाँको भनाइ छ ।


घर कति तलाको छ ? घर बनेको कति वर्ष भयो ? घर मुख्य रुपमा के का लागि प्रयोग गरिएको छ ? घरमा कति परिवार बसोबास गरिएको छ ? भन्ने प्रश्नहरु घर तथा घरपरिवार सूचीकरणमा सोधिनेछन् । आगामी २०७८ वैशाख २६ गतेदेखि जेठ १४ गतेसम्म घर तथा घरपरिवार सूचीकरणका लागि जनगणनाका लागि नियुक्त सुपरीवेक्षकहरु घरघरमा पुग्नेछन् ।


त्यस्तै जनगणनाको मुख्य प्रश्नावलीमा पनि घरको प्रकृति र प्रयोजनसम्बन्धी विवरण संकलन हुने गरी प्रश्नहरु समावेश गरिएका छन् ।


जनगणनाको मुख्य प्रश्नावलीअन्तर्गत पारिवारिक विवरण शीर्षकमा घरसम्बन्धी प्रश्नहरु समावेश छन् । पहिलो नम्बरमा तपाईँको परिवारले प्रयोग गरेको घरको स्वामित्व कस्तो हो ? भनी प्रश्न सोधिनेछ । त्यस्तै तपाईंको परिवारको प्रयोग गरेको घरको जग के ले बनेको हो ? तपाईंको परिवारको प्रयोग गरेको घरको बाहिरी गारो केले बनेको छ ? तपाईंको परिवारको प्रयोग गरेको घरको छाना केले बनेको छ ? तपाईंको परिवारको प्रयोग गरेको घरको भुइँ कस्तो छ ? जस्ता प्रश्नहरु सोधिनेछन् ।


संघीय नेपालको पहिलो राष्ट्रिय जनगणना समेत रहेको बाह्रौ जनगणना आगामी २०७८ जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुनेछ ।


ताजा खबर