काठमाडौंका ६०६ सहित थप १,२७२मा कोरोना पुष्टि

कोरोना भाइरसबाट आज थप एक हजार दुई सय ७२ जना सङ्क्रमित भएका छन् ।

आज आठ हजार ३१ वटा नमूना परीक्षण गर्दा सात सय ८८ जना पुरूष र चार सय ८४ जना महिला गरी जम्मा एक हजार दुई सय ७२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेको कूल संख्या दुई लाख ३८ हजार आठ सय ६१ पुगेको छ ।

आज काठमाडौं उपत्यकामा तीन सय ५९ जना पुरूष र दुई सय ४७ जना महिला गरी जम्मा छ सय छ जना सङ्क्रमित थपिएका छन् ।

यसैगरी आज थप एक हजार पाँच सय ७५ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म सङ्क्रमण मुक्त हुनेको कूल संख्या दुई लाख २१ हजार आठ सय ४७ पुगेको छ ।

आज सम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना सङ्क्रमण मुक्त हुने दर ९२ दशमलव ९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसका कारण आज थ १६ जनाको मृत्यु भएको छ । कोरोनाका कारण हाल सम्म एक हजार पाँच सय ६७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार आज देश भर गरी १५ हजार चार सय ४७ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

सक्रिय सङ्क्रमित मध्ये १० हजार तीन सय ९४ जना होम आइसोलेसनमा रहेका छन् भने बाँकी पाँच हजार ५३ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेसन सेन्टरहरूमा रहेका छन् ।

यसैगरी आज तीन सय २८ जनाको आईसियू तथा ५४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ताजा खबर