नेपाली क्लवले एएफसीको क्लव लाइसेन्स पाएनन्

एशियन फुटबल महासंघ एएफसीको क्लव लाइसेन्स नेपालका कुनैपनि क्लवले पाउन सकेनन् ।

सन् २०२१ का लागि नेपालबाट क्लव लाइसेन्सका लागि आवेदन दिएका सबै क्लवको डकुमेन्ट अपुग भएको भन्दै एएफसीले सबैको आवेदन खारेज गरेको हो ।

एएफसीको फस्र्ट इन्स्टेन्स बडीले नेपाली क्लवको डकुमेन्टको आधारमा यो निर्णय गरेको छ । जसका कारण नेपाली क्लवले २०२१ मा कुनैपनि एएफसीका प्रतियोगिता खेल्न पाउने छैनन् ।

नेपालबाट १३ वटा एक डिभिजन क्लवले एएफसी लाइसेन्सका लागि आवेदन दिएका थिए । कुल १४ क्लवमा ए डिभिजनबाट बी डिभिजनमा झरेको सरस्वती युथ क्लव बाहेक सबैले आवेदन दिँदा उनीहरुको कागजपत्र पर्याप्त नभएको भनिएको छ । एएफसीले त्रिभुवन आर्मी क्लवले एएफसी लाइसेन्सका लागि गरेको प्रयासको भने तारिफ गरेको छ ।

क्लब लाइसेन्सिङका लागि एएफसीले तोकेका मापदन्ड पूरा गर्न नेपाली ‘ए’ डिभिजन क्लबहरु अझै पनि असमर्थ छन् । यसको अर्थ कुनैपनि क्लबले लाइसेन्स पाउनै नसक्ने भन्ने होइन । मुख्य गरी ए डिभिजन क्लबले उमेर समूहका दुई टिम बनाउनुपर्ने, युथ कार्यक्रम र सुरक्षा अधिकारीसमेत नियुक्त गर्नुपर्ने प्रावधान नेपाली क्लबहरुका लागि निकै नै जटिल थियो ।

एएफसीले मुख्य गरी ५ बुँदामा लाइसेन्सको मापदन्ड तोकेको छ । तीन बुँदाभित्र १९ वटा सहायक शीर्षक छन् । लाइसेन्स पाउनका लागि क्लबहरुको स्पोर्टिङ गतिविधि आवश्यक छ । यसमा एकेडेमी, खेलाडी, प्रशिक्षक र अफिसियलको अनुबन्ध लगायत पर्नेछ । अर्को कानूनी प्रक्रिया हो । क्लबको अस्थित्व र स्वामित्वसँगै उसको बिधानसमेतलाई पारदर्शी प्रस्तुत गर्नुपर्ने हुन्छ ।

एएफसीले सबैभन्दा महत्वपूर्ण मानेको अर्को बुँदा हो, आर्थिक प्रतिवेदन । यसमा वार्षिक बजेट, अडिट रिपोर्टदेखि कर चुक्ताको प्रमाणपत्र पनि पर्ने छ । पूर्वाधारको बुँदामा क्लबहरुकबो आफ्नै रंगशाला हुनुपर्ने, एकेडेमी, खेलाडीको होस्टेल, प्रशिक्षणस्थल सबै सुविधा हुनुपर्नेछ । नेपालका अधिकांश क्लबले यो मापदन्ड पूरा गर्न सक्दैनन् ।

पाँचौं मापदन्डमा युथ कार्यक्रम पर्छ । नेपालका कुनै पनि क्लबमा युथ डेवलेभमेन्ट कार्यक्रम नै छैन । क्लबको एकेडेमी, युथ स्तरका दुई टिम र ग्रासरुट कार्यक्रमहरु समावेश गर्नुपर्ने हुन्छ ।


ताजा खबर