नेताको नालीबेली

~ शोभा शिलवाल

राणाशासन ,पञ्चायत र प्रजातन्त्र भोगी सके जनताले

गणतन्त्र नामको लहडी शासन भोग्दै छन् जनताले।

सङ्घीयता भनेको त जनतालाई झुक्याउने खेल रहेछ

सत्तामा पुग्नेले देश र जनतालाई लुट्ने खेल रहेछ।

दङ्गा फसाद गर्ने, झगडालु भए नेता भइँदो रहेछ

डर ,धम्की देखाएपछि जनताको सर्वस्व भुट्न पाइँदो रहेछ ।

 शैक्षिक  सर्टिफिकेट नचाहिने गफ जाने हुँदो  रहेछ

उखानटुक्का बिच बिचमा गाँसी दिए काफी हुँदो रहेछ।

 काम गरी खान गाह्रो हुने डुली खान पाइँदो रहेछ

झोले र छाते  बन्न गाह्रो नमाने नेता भइँदो रहेछ।

राम राज्य गर्न नजाने पनि नेता भएपछि हुने रहेछ

कसो गरी आफ्नो दस पुस्ता पाल्ने ?भनी सोचे हुने रहेछ।

 नेताको हात्तीको जस्तो चपाउने र देखाउने दाँत हुँदो रहेछ

 जनताले दुत्कारे पनि यिनलाई अहङ्कार र अभिमानले छुँदो रहेछ।

जति मान्छे मारेर नारीका सिउँदो पुछे पनि नेता हुन पाइँदो रहेछ

सत्तामा पुगेपछि नेताको नैतिकता भारमा पुग्न जाँदो रहेछ।

सक्छौ भने जनताहरू , आफ्नो सत्ता आफ्नै हातमा लिनू

रक्सी र मासुमा नबिकी ,आफ्नो  मत सार्थक बनाउनू ।


ताजा खबर