प्रधानमन्त्रीद्वारा छठ पर्वको शुभकामना

राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले छठ पर्वको अवशरमा शुभकामना सन्देश व्यक्त गर्नुहुँदै राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन आग्रह गर्नुभएको छ ।

सन्देशमा प्रधानमन्त्री ओलीले महामारीमा मानव स्वास्थ्य सुरक्षाका लागि तोकिएका मापदण्ड अनुशरण गर्दै विशेष सावधानी अपनाएर यसवर्षको छठ पर्व मनाउन आग्रह गर्नुभएको छ ।

तराईको मिथिला क्षेत्रमा महापर्वका रुपमा सनातन कालदेखि मनाईदै आइएको छठले सम्पूर्ण नेपालीहरुलाई सुख, शान्ति, समृद्धि तथा खुसीयाली ल्याहोस् भन्दै प्रधानमन्त्री ओलीले चाडपर्व र संस्कृतिका दृष्टिले विविधतायुक्त नेपाली समाजमा यस्ता पर्वले सौहार्दपूर्ण अन्तरसम्बन्धलाई अझ मजबूत बनाउने उल्लेख गर्नुभएको छ ।

 प्रधानमन्त्रीको शुभकामना सन्देशको पूर्णपाठ :

शुभकामना
उदाउँदो सूर्यको आराधना गर्दै सम्पन्न गरिने छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि तथा खुसीयालीको हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

तराईको मिथिला क्षेत्रमा महापर्वका रुपमा सनातन कालदेखि छठ मनाइँदै आएको छ । हाम्रा आदिग्रन्थ ऋग्वेद र कतिपय पुराणहरुमा सूर्यको महिमा वर्णित छ भने प्रागैतिहासिक कालदेखि दक्षिण एसियामा विशेष रुपमा सूर्यको उपासना गर्ने लोकसंस्कृतिले निरन्तरता पाउँदै आएको छ । मानव समाज कृषियुगमा प्रवेश गरेपछि कृषि उत्पादनसँग सम्बन्धित परिकारसहित सूर्यको उपासना गर्ने परम्पराका रुपमा छठ पर्व सुरु भएको मानिन्छ । यस पर्वमा व्रत बस्ने, जलाशयमा स्नान गरी बेलुकीपख प्रसादको रूपमा खीर खाने र खुवाउने चलन छ । परम्परा अनुसार साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ । बितेका केही वर्षयता छठ पर्व तराई मधेस र पहाडका नेपाली समुदायबीचको सेतुका रुपमा समेत विकसित हुँदै आएको छ । चाडपर्व र संस्कृतिका दृष्टिले विविधतायुक्त नेपाली समाजमा सौहार्दपूर्ण अन्तरसम्बन्धलाई अझ मजबूत बनाउन यस्ता पर्वहरुले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन् ।

छठ पर्वको यस उल्लासका बीच विश्वब्यापी रुपमा फैलिएको कोभिड १९ को महामारीलाई हामी सामना गरिरहेका छौं । यस महामारीमा मानव स्वास्थ्य सुरक्षाका लागि तोकिएका मापदण्ड अनुशरण गर्दै विशेष सावधानी अपनाएर यसवर्षको छठ पर्व मनाउन म सबैमा आह्वान गर्दछु । यस महामारीले जनताको स्वास्थ्य र राष्ट्रको आर्थिक तथा सामाजिक जीवनमा मात्र होइन मुलुकको समृद्धिको अभियानमा पनि अवरोध पु¥याएको छ । यसले जनताको स्वास्थ्यमा गरेको क्षति न्यूनीकरण गर्दै रोकथाम तथा नियन्त्रणमा सरकारले आवश्यक कदम चाल्दै आएको छ । यस महामारीका वाबजुद मुलुकको विकास तथा समृद्धिको यात्रालाई हामीले अघि बढाइरहेका छौं ।

यतिबेला हामी जननिर्मित संविधानको संस्थागत कार्यान्वयन मार्फत् मुलुकलाई विकास र समृद्धिको दिशामा अग्रसर गराइरहेका छौं । सिंगो देश नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरेको छ । यस अवसरमा राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन म सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक आह्वान गर्दछु । यसै एकता मार्फत् हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समर्थ हुने छौं भन्ने विश्वास दिलाउन चाहन्छु ।
५ मंसिर २०७७
केपी शर्मा ओली


ताजा खबर