नेपाली क्रिकेटको एकदिवसीय मान्यताको अवधि थपियो

 नेपाल क्रिकेट संघ(क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले नेपालको एकदिवसीय क्रिकेटको मान्यता एक वर्षका लागि थपिने बताउनुभएको छ । क्यानको वार्षिक साधारण सभाको क्रममा उहाँले सन् २०२२ सम्मलाई रहेको एकदिवसीय मान्यता सन् २०२३ सम्म बढाइएको जानकारी दिनुभयो ।

कोभिड–१९ को महामारीले सम्पूर्ण खेल जगत् नै ठप्प हुँदा वार्षिक क्यालेण्डर प्रभाबित बनेको छ । नेपालले खेल्ने लिग डिभिजन २ का खेलहरु समेत प्रभाबित भएको छ । प्रभाबित खेलहरुलाई पूर्णता दिनुका साथै क्रिकेट क्यालेण्डरलाई पुरा गर्न सन् २०२३ को मार्चसम्म अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले नेपाललाई अन्तर्राष्ट्रिय एकदिवसीयको मान्यता दिएको उहाँले प्रष्ट्याउनुभयो ।

साधारण सभाका निर्णयहरु:

क्यानको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७०÷७१ देखि २०७५÷०७६ सम्मको संघको वार्षिक लेखापरीक्षण प्रतिवेदनलाई पारित गरेको छ ।

आर्थिक वर्ष २०७७÷०७८ को कार्यक्रम र बजेट निर्माण गर्दै अघि बढ्न केन्द्रीय कार्यसमितिलाई सभाले निर्देशन दिएको छ ।

साधारणसभाले एन्टी करप्सन, एन्टी डोपिङ र इथिक्स पोलिसी निर्माण गर्न कार्ययोजना दिएको छ ।
पाँच वर्षे रणनीतिक योजना निर्माण गर्न र सो योजना अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलमा पेश गर्ने निर्णय गरिएको छ । जिल्ला र प्रादेशिक क्रिकेट संघहरुको सञ्चालन कार्यविधि निर्माण गर्न निर्णय गरिएको छ । खेलाडीहरुको आचार संहिता र अनुबन्धन निर्माण गर्ने निर्माण गरिएको छ । संघ, प्रदेश र जिल्ला समिति मातहातका कर्मचारी, पदाधिकारी एवम् सदस्यहरुको आचार संहित निर्माण गर्न साधारण सभाले निर्णय गरेको छ ।

त्यसैगरी, क्यानले नेपाल प्रिमियर लिग सञ्चालन गर्न साधारण सभाका प्रतिनिधिहरु एकमत रहेकोले क्रिकेट संघको स्वामित्व रहने गरी नेपाली क्रिकेटको हित अनुकूल रहने गरी केन्द्रीय समितिलाई नेपाल प्रिमियर लिगको कन्ट्रयाक्ट सम्झौता प्रकृया अगाडि बढाउने जिम्मेवारी दिइएको छ । –रासस


ताजा खबर