नेपाल बंगलादेशसँगको दोस्रो खेल जित्नै पर्ने दबावमा

नेपाली राष्ट्रिय फुटबल टिमले मंगलबार बंगलादेशसँग मुजिव बर्सो फिफा इन्टरनेशनल सिरिज अन्तर्गत अन्तिम खेल खेल्दै छ । यो खेल नेपाली समय अनुसार अपरान्ह पौने ५ बजे बंगबन्धु रंगशाला ढाकामा हुने छ ।

पहिलो खेलमा २–० गोल अन्तरले पराजित भएको नेपालले दोस्रो खेल कुनै पनि हालतमा जित्ने लक्ष्य लिएको छ । पाँच वर्ष पछि पहिलो पटक बंगलादेशसँग पराजित भएको नेपालले मंगलबारको खेलमा कम्तिमा २–० गोल अन्तरले जित निकाल्न सकेमा ट्रफीको छिनोफानो पेनाल्टी सुटआउटबाट तय हुने भएकाले पनि मंगलबारको खेल जित्ने गरि मैदान उत्रने नेपाली टिमले जनाएको छ ।

नेपाली टिमका विंगर सुजल श्रेष्ठले भने ‘ भोलिको म्याचका लागि हामीले तयारी पुरा गरेका छौं । अन्तिम अभ्यास पनि हामीले सम्पन्न गरिसकेका छौं ।’ पहिलो म्याचमा हामीले सोचेँको जस्तो गर्न नसकेको स्वीका गर्दै सुजलले दोस्रो म्याचमा त्यस्तो गल्ति नहुने बताए ।

उनले भने ‘लामो समयपछि फुटबलमा कमब्याक गरेकाले पनि केही अप्ठेरो भएको थियो । तर हामीले प्रयास नै नगरेको भन्न मिल्दैन ।’

फिफा वरियतामा नेपालभन्दा बंगलादेश अगाडी रहे पनि पछिल्लो पाँच वर्षदेखि नेपाल हावी हुँदै आएको थियो । तर पहिलो गेममा पराजित भएपछि नेपाली टिमको स्तर खस्कदै गएको हो त भन्ने आम प्रश्न पनि उब्जिएको छ । यो विषयमा विंगर सुजलको जवाफ भने यस्तो छ । ‘हामी भन्दा उनीहरु राम्रो होइन की, हाम्रो खेल अलि कमजोर हुँदा उनीहरुले अलि राम्रो खेलेको जस्तो देखिएको मात्र हो ।’

यस्तै, नेपाली टिमका स्ट्राइकर नवयुग श्रेष्ठले पहिलो म्याचमा पराजित भएपनि मंगलबार हुने खेलमा जित्ने लक्ष्य लिएको बताए । बंगलादेशको तुलनामा नेपालले तयारी गर्ने समय कम पाएकाले पनि खेलाडीका बीचमा तालमेल नमिलेको बताए । पहिलो खेलमा नेपालले मेन टु मेन मार्किङ गर्न नसक्नु र मिस पास हुनु नै हारको कारण रहेको नवयुगको स्वीकारोक्ति छ ।

यस्तै नेपाली टिमका मुख्य प्रशिक्षक वालगोपाल महर्जनले पनि पहिलो खेलमा भएको कमी कमजोरी सच्याएर टिम बंगलादेशसँगको खेलका लागि तयार रहेको बताए । पहिलो खेलमा डिफेन्डिङ सेटमा सचेत अपनाउन नसक्दा गोल खान पुगेको बताउँदै यो गल्ति दोस्रो खेलमा नहुने बताए ।

टिमले अभ्यासका लागि पर्याप्त समय नपाउनु र नयाँ खेलाडीहरु हुनुले पनि बंगलादेशसँगको पहिलो खेल हारिएको बताउँदै दोस्रो खेलमा नेपालले सुधारिएको प्रदर्शन गर्ने बताए ।

नयाँ खेलाडी भएकाले सिनियर र जुनियरका बीचमा कम्युनिकेशन गर्ने कुरामा पनि अनुभव नहुँदा टिम सेटअपमा केही असहजता देखिएको पनि उल्लेख गरे ।

पहिलो खेलमा तीन जना खेलाडीले डेब्यु गर्ने अबसर पनि पाए । विकास खवासले सुरुमै प्लेयिङ ११ मा स्थान बनाउँदा एरिक विष्ट र दर्शन गुरुङले सब्सीच्युटरुपमा डेब्यु गरेका थिए । उनीहरुको प्रदर्शन राम्रो नै भएकाले भोलिको खेलमा प्लेयिङ ११ बनाउँदा केही परिवर्तन हुने संकेत पनि प्रशिक्षक महर्जनले गरेका छन् ।

खेलाडीहरु सबै फिट नै रहेको पनि प्रशिक्षक महर्जनको भनाई छ । यस्तै पहिलो खेलका लागि गरिएको परिक्षणमा पोजेटिभ रिपोर्ट आएपछि रजिन धिमालले खेल गुमाएका थिए । उनी अहिले फिट भएर टिमसँग अभ्यासमा पनि जोडिएका छन् । –रासस


ताजा खबर