‘अमेरिकी चुनाव सकारात्मक पाठ लिने पछिल्लो उदाहरण हुन सक्छ’

डा. सुरेश आचार्य

अमेरिकी निर्वाचनमा जोसेफ रोबिनेट बाइडन जुनियरले २०२१ को अमेरिकी राष्ट्रपति हुने अवसर पाउनुभएको छ ।

बहालवाला राष्ट्रपति डोनाल्ड जोन ट्रम्पको पराजयसँगै ३० वर्षको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीबाट बहाल रहँदै पराजित हुने उहाँ दोस्रो राष्ट्रपति बन्नुभएको छ । १९९२ को निर्वाचनमा जर्ज बुस सिनियर बहालमा रहेर हार्ने रिपब्लिकन उम्मेदवार हुनुहुन्थ्यो । २८ वर्षपछि त्यो इतिहास ट्रम्पको पराजयसँगै दोहोरिएको छ । यद्यपि, यसबीचमा बुसका छोरा जुनियर बुसले २००० को निर्वाचन जितेसँगै २००४ को निर्वाचन पनि जित्नुभएको थियो ।

अमेरिकी इतिहासमा २०१६ को निर्वाचन परिणाम धेरैका लागि अस्वाभाविक थियो । अमेरिकाका मिडियाले मात्र होइन, विश्व राजनीतिक विश्लेषकहरूले समेत डेमोक्र्याट उम्मेदवार हिलारी क्लिन्टन विजयी हुने आँकलन गरेका थिए । अमेरिकाजस्तो उदार प्रजातान्त्रिक मुलुकमा पहिलोपटक अवसर पाएकी महिला उम्मेदवार क्लिन्टनको हार सबैका लागि आश्चर्यको विषय बनेको थियो । कलाकार, व्यवसायी हुँदै पछिल्लो समय राजनीतिमा प्रवेश गर्नुभएका र कुनै राजनीतिक दलमा निरन्तरता दिन नसकेका डोनाल्ड ट्रम्पको विजय दुनियाँले अनौठो मानेको थियो । यसको अर्को कारण थियो– ट्रम्पको अराजनीतिक भाषाशैली र प्रस्तुति । अमेरिकी नागरिकको प्रत्यक्ष मतमा पराजित भए पनि अमेरिकी निर्वाचन पद्धतिको फाइदा उठाउँदै इलेक्टोरल कलेजको बहुमतका आधारमा उहाँ राष्ट्रपति बन्नुभयो ।

यसपटकको निर्वाचन परिणामको आँकलन गर्न अमेरिकी मिडिया र राजनीतिक विश्लेषकहरू अगाडि सरेनन् । उनीहरूले कडा प्रतिस्पर्धा हुने तर विजय कसको हुन्छ भनेर ठोकुवा गर्न नसकिने भनेर गरेको टिप्पणी मिलेको छ । अमेरिकी नागरिकको ४७ प्रतिशत मत पाउनुलाई अघिल्लो निर्वाचनपछि अलोकप्रिय बनेको भन्ने अवस्था रहेन । यसपटक पराजित हुँदै गर्दा पनि ट्रम्पले सात करोडभन्दा बढी अमेरिकी नागरिक मत र २४ राज्यमा बहुमत पाउन सक्नुभयो । विश्व शक्तिशाली मुलुक अमेरिकाको राष्ट्रपतिका रूपमा उहाँका कतिपय अभिव्यक्ति अस्वाभाविक र मजाक लाग्ने गथ्र्यो । उहाँको कमजोर राजनीतिक पृष्ठभूमिका कारण त्यो छुट उहाँले पाउँदै आउनुभएको थियो र त्यसअनुरूपको अमेरिकी नागरिकको माया उहाँले प्राप्त गर्नुभयो । यद्यपि, उहाँले यत्तिमा चित्त बुझाउन सक्नुभएन । निर्वाचन परिणामलाई उहाँले अस्वीकार गर्नुभएको छ र कानुनी उपचारको खोजीमा हुनुहुन्छ ।

उहाँका बारेमा बीबीसी विश्व सेवामा एक राजनीतिक विश्लेषकले टिप्पणी गरेका छन्– ट्रम्पले २०१६ मा निर्वाचन जित्नुको आंशिक कारण हिजो कसैले भन्न नसकेका कुरालाई व्यक्त गर्न सक्ने राजनीतिभन्दा बाहिरको चरित्र हुनु थियो । आज ट्रम्पले निर्वाचन हार्नुको आंशिक कारण पनि त्यही चरित्र हुनु हो । यसपटकको हारलाई सहरभन्दा बाहिरका महिलालाई हेर्ने ट्रम्पको दृष्टिकोण पनि अर्को कारणका रूपमा व्याख्या गरिएको छ । आप्रवासी र काला जातिप्रतिको कटु आलोचनाले पनि ट्रम्पको मत प्रभावित भएको विश्लेषण गरिँदै छ । निर्वाचनको दिनसम्म आइपुग्दा दुई लाख ३० हजार अमेरिकीले कोरोना भाइरसका कारण ज्यान गुमाउनुपर्ने अवस्था ट्रम्पको पराजयको अर्को कारण थियो ।

अमेरिकाको निर्वाचन परिणामपछि आश्चर्य हुने पालो विश्वका अरू मुलुकका नागरिकको परेको छ । अमेरिकाजस्तो स्रोत साधन सम्पन्न र सचेत नागरिक रहेको मुलुकमा धाँधली भएको भनेर ट्रम्प अदालत गइरहनुभएको छ । अरू मुलुकमा निर्वाचन प्रक्रिया, मतदाताहरूमा चेतनाको अभाव, सत्ताको दुरुपयोग, बल प्रयोगजस्ता कारण निर्वाचनमा धाँधली हुने गर्दै आएका छन् । यसको कतै कानुनी उपचार हुने पनि गर्छ । कतिपय मुलुकमा कानुनी सुनुवाइसमेत फेरि राजनीतिक रूपमा प्रभावित हुने गर्छ । तर, अमेरिकामा सत्तारूढ राष्ट्रपति आफैँले मतदान प्रक्रिया र मतगणनामा धाँधली भएको आरोप लगाइरहँदा अरू आश्चर्य हुनु स्वाभाविक हो । तर, अमेरिकी नागरिकका लागि पनि यो स्वाभाविक यसकारण लागेको हुनुपर्छ– मतदानअघि नै पराजित भएमा ट्रम्पले स्वीकार नगर्ने खबर सार्वजनिक भइसकेका थिए । यतिसम्म कि हारपछि पनि ट्रम्पले राष्ट्रपति भवन ह्वाइट हाउस नछाड्ने चर्चा हुँदै आएको थियो ।

अमेरिकी चुनावमा यसपटकको चुनाव प्रचार र उम्मेदवारहरूको प्रस्तुति पनि आलोचनाको विषय रह्यो । यसपटकको चुनावी अभियान र प्रेजिडेन्सियल डिबेट हेरेर मिडियाले निराशाजनक, मर्यादाहीन, असभ्य र अश्लील प्रचार भनेर टिप्पणी गरे । कतिपय मिडियाले त दुई उम्मेदवारबीचको तल्लो स्तरमा ओर्लेर गरिएको प्रस्तुतिका कारण समाचार नै बनाएनन् । विकसित र शक्तिशाली मुलुकका राष्ट्रपति उम्मेदवारका प्रस्तुतिले अमेरिकी नागरिकलाई नै लज्जित तुल्याएको थियो । इतिहासकै लज्जाजनक चुनाव प्रचारका रूपमा निर्वाचन अभियानलाई हेरिएको थियो । यद्यपि, नागरिकका लागि दुईमध्ये एक रोज्नुको विकल्प थिएन ।्

अमेरिकाको यो निर्वाचनले नेपालका लागि दुईवटा पाठ सिकाएको छ । सम्पूर्ण विश्व कोरोना भाइरसको महामारीबाट गुज्रिँदै गर्दा अमेरिकामा राष्ट्रपति निर्वाचन सम्भव भएकोमात्र छैन, सबैभन्दा बढी मत यसपटक खसेको छ । नेपालका राजनीतिक दलहरू यही सङ्क्रमणका कारण पार्टीको आन्तरिक निर्वाचन गर्न असफल भइहँदा सङ्क्रमणको पहिलो नम्बरमा रहेको अमेरिकामा यहाँका नागरिकले उत्साहपूर्वक निर्वाचनमा भाग लिएका छन् । कोरोना भाइरस केही होइन भन्ने अवस्था छैन । यसले विश्वविज्ञानलाई चुनौती दिइरहेको छ । तर, यही महामारीका बीचमा मतदान केन्द्रमा लाइन लागेरमात्र नागरिक निर्वाचनमा सहभागी भएका हैनन्, प्रचार अभियानमा पनि सामूहिक रूपमा सहभागी भए । निर्धारित मितिमा निर्वाचन हुनुपर्छ भन्ने राजनीतिक इच्छाशक्तिले कोरोनालाई पराजित ग¥यो, यद्यपि, कोरोना आफैँ पराजित भएको छैन ।

अर्को सन्देश राजनीतिमा उमेरको कुनै हद हुँदैन भन्ने हो । अमेरिकालाई कुन पुस्ताले राजनीतिक नेतृत्व दिन्छ भन्ने प्रश्न त्यहाँ महŒवपूर्ण रहेन । ४५ वर्षको उमेरमा बिल क्लिन्टन राष्ट्रपति हुँदा उहाँ लोकप्रिय भएकै हो । व्यक्तिगत चरित्रको प्रश्न उठिरहँदासमेत उहाँले दोस्रो कार्यकालका लागि पनि सहज विजय प्राप्त गर्नुभयो । ४६ वर्षको उमेरमा राष्ट्रपति हुनुभएका बाराक ओबामाको राजनीतिक उचाइ अहिले पनि घटेको छैन । उहाँ जो बाइडेनलाई मत माग्न रात दिन क्रियाशील त हुनुहुन्थ्यो नै, उहाँको फोन उठाउँदै गर्दा आमनागरिकमा निकै उत्साह देखिन्थ्यो । तर, १९४६ जुन १४ मा जन्मेका ७० वर्षका डोनाल्ड ट्रम्पसँग लगभग एकै उमेरकी हिलारीलाई चुनाव जित्न सम्भव भएन । आज १९४२ नोभेम्बर २० मा जन्मनुभएका बाइडेन ७८ वर्ष पूरा गर्दैगर्दा अमेरिकाको ४६औँ राष्ट्रपति हुन सफल हुनुभएको छ ।

नेपालमा पुस्ताको चर्चा खुब हुने गर्छ । पुरानो पुस्ता विचारका रूपमा, राजनीतिक कार्यदिशाका रूपमा बूढो भयो भन्नेहरू नेपाली काँग्रेसमा धेरै छन् । पछिल्लो सत्ता राजनीतिकेन्द्रित नेपाल कम्युनिस्ट पार्टीमा पनि नयाँ पुस्ताले पो केही गर्छ कि भन्ने आँकलन हुन थालेको छ । तर, अमेरिकी नागरिकले पुस्ताको कुरा उठाएन । आर्थिक विकास र राष्ट्रिय स्वार्थमा कुन उम्मेदवारले काम गर्न सक्छ भन्ने उनीहरूको छनोट हुने गरेको छ । राजनीतिक अनुभव नहुँदाका उत्तेजनात्मक अभिव्यक्तिले राष्ट्रपतिको गरिमालाई घटायो कि भन्ने चिन्ताले ट्रम्पको पराजयलाई सहयोग पुर्यायो । उमेरभन्दा विचार र दृष्टिकोणको प्रस्टताले नेतृत्व स्थापित गर्छ भन्ने कुरा पुष्टि हुँदै आएको तथ्य हो ।

नेपालका प्रमुख राजनीतिक दलहरू समयमा पार्टी अधिवेशन नगरेर राजनीतिक खिचातानी गरिरहेका छन् । यो मामिलामा नेपाली काँग्रेसमात्र छैन, दुई पार्टी एकीकरणपछिको नेपाल कम्युनिस्ट पार्टीमा पनि निर्धारित समयमा महाधिवेशन गर्ने तयारी देखिँदैन । मधेसबाट उठेका राजनीतिक दलहरू पनि आपसी द्वन्द्वबाटै गुज्रेका छन् ।

पञ्चायतको पृष्ठभूमिमा बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी त्यही रोगबाट ग्रसित छ । यतिबेला उनीहरूका लागि कोरोना भाइरस सङ्क्रमण गतिलो निहुँ बनेको छ । तर, चाहँदा प्रत्यक्ष निर्वाचन सम्भव हुने रहेछ भन्ने उदाहरण अमेरिकाले देखाएको छ । सम्पन्न मुलुकमा अपेक्षा नगरिने केही विसङ्गति अमेरिकी निर्वाचनमा पनि भित्रिएका छन् तर सकारात्मक पाटोबाट पाठ लिनका लागि अमेरिकी चुनाव पछिल्लो उदाहरण हुन सक्छ । 
आचार्य नेपाल पत्रकार महासङ्घका पूर्वसभापति हुन्


ताजा खबर