उपचार आफै गर्नु अरे …

शोभा सिलवाल 

सांसदलाई मात्रै आएछ दसैँ , भत्ता यिनलाई चाहिएको छ 

हामी जनता जसोतसो ,बाँच्नसम्म पाइएको छ ।

लागे लागोस् जनतालाई ,कोरोना यिनलाई के को बाल छ? 

जति धेरै सङ्क्रमित बढे ,उति यिनलाई माल छ ।

जसको हातमा डाडुपन्यु ,उसले चाट्नै पर्ने अरे 

सांसद , मेयर , मन्त्रीको  नाम ,ढुङ्गामा लेख्नै पर्ने अरे ।

लौन , कस्तो बिडम्बना ? यो देशले सहेकै छ 

अरबौँ ,खरबौं बजेट हेर ,भुँडीभित्र  गएकै छ ।

लक्षित वर्गलाई मात्र,कोभिड १९ को उपचार अरे 

यो उपचार  लिनलाई नि ,यिनकै आसेपासे अघि सरे । 

हाम्रो देशका सांसदको, नैतिकता कहाँ गयो  ?

संविधानमा दशैँ भत्ता, खाने नियम कहिले आयो ?

कोरोना परीक्षण  आफैँ गर्  ,भन्नु संवेदनहीनताको पराकाष्ठा 

हामी पनि मर्ने नै हो, भन्ने छैन पापको चेष्टा ।

कसले बुझ्ने ? देशविदेशका श्रमिकका कथाव्यथा 

चाडबाड जे आए नि, गरिबका उही छ  व्यथा ।

सांसदको उपचार, खर्च २०० % ले बढेको छ         

पल्लो घरको हर्के दाइ, बिच सडकमा ढलेको छ । 

बाँच्न मन भए हामीले, आफ्नो उपचार आफै गर्नु अरे 

जनतालाई बचाउने, कानुन बनेकै छैन रे ।


ताजा खबर