जर्मनीको ‘एरिएल याम’ र नेपालको ‘गिठ्ठा’

डा. अरुणा उप्रेती

प्राचीन कालमा एक जना वैद्यले आफ्ना विद्यार्थीहरूलाई धेरै वर्षसम्म विभिन्न औषधि र वनस्पतिको ज्ञान दिएपछि परीक्षा लिने बेलामा भनेछन्, “तिमीहरू सबै जंगलमा जाऊ र एक महिनापछि त्यस्ता वनस्पति लिएर आऊ, जसको कुनै औषधीय महत्व छैन ।” सबै विद्यार्थीहरू जंगलमा गएर खोज्न थालेछन् । एक महिनापछि प्रायः विद्यार्थी हातमा कम्तीमा पनि दुई–तीनवटा वनस्पति लिएर फर्केछन् र गुरुजीलाई भनेछन्, “यी वनस्पतिको कुनै औषधीय महत्त्व छैन ।”


एक जना विद्यार्थीचाहिँ झण्डै ५ दिन ढिला फर्केर भनेछन्, “गुरुजी, म त वनस्पति खोज्दा खोज्दा हैरान भएँ, तर हरेक वनस्पतिमा कुनै न कुनै औषधि पाएँ ।” गुरुजीले प्रसन्न भएर भनेछन्, “तिमी नै मेरा वास्तविक शिष्य रहेछौ । मेरो शेषपछि मेरो ठाउँ लिन योग्य छौ ।”


यो कथाबाट मैले सिकेको पाठ हो, “संसारमा कुनै न कुनै औषधीय गुण नभएको वनस्पति हुँदैन ।” हामीले हेर्न मात्र जान्नुपर्छ । यो कथा नै भए पनि यसमा धेरै सत्यता छ ।

“चेपाङहरुले केही खान पाएनन्, भोकमरी भयो, त्यसैले उनीहरुले गिठ्ठा भ्याकुर, तरुल, सिस्नु, कालो निगुरो खाएर जीवन बिताउनु परेको छ । पौष्टिक खाना नपाउँदा उनीहरु कुपोषणको शिकार भएका छन् ।

त्यसैले सरकारले चामल लगेर दिनुपर्छ” भन्ने भाषण जताततै सुनिन्छ । पत्रिकामा पनि छापिन्छ । तर नेपालमा भएको कृषि वैज्ञानिक, कृषि मन्त्रालय र कृषिमा काम गर्ने सरकारी कर्मचारीले शायदै भन्छन् कि चेपाङको खानाले कुपोषण गराउँदैन । चेपाङले खाने खानामा त मानव स्वास्थ्यलाई चाहिने सबै तत्व छन् । बरु हामीले त चेपाङले प्रयोग गर्ने खाना मासिँदै गएकोमा पो त चिन्ता जनाउनु पर्ने हो ।


केही दिन अघि एक जना साथी जर्मन पुगेर आएका थिए र उनले मलाई भने, “जर्मनीमा त एरिएल याम खाइयो । बडो मीठो र स्वस्थकर रहेछ । नेपालमा पनि त्यो पाइन्छ कि पत्ता लगाएर हाम्रो बारीतिर पनि रोप्न पाए हुन्थ्यो ।” उनको कुरा सुनेर म हाँसे । “तिमीलाई अंग्रेजी नाम भएको हुनाले बडो स्वस्थकर लागेछ ।

यो त हामीकहाँ चेपाङले दैनिक प्रयोग गर्ने गिठ्ठा पो हो ।” उनी एकछिन त अकमक्क परे, “ए त्यस्तो पो रहेछ । किन त चेपाङहरुले खान पाउँदैनन् भनेर भनेको ?” “किनभने हामीकहाँ नेपाल बाहिरका कृषि उपज मात्र राम्रो हुन्छ, भन्ठान्छन् । देशभित्रको वनस्पति कति पौष्टिक उत्तम छ, वास्ता नै गर्दैनन् ।”


वन जंगलमा खोजेर चेपाङहरुले गिठ्ठा प्रयोग गर्दा त्यसको तीतोपन हराओस् भनेर केही बेर उमाल्ने गर्छन । त्यसपछि तरकारीजस्तै गरेर पकाएर खान्छन् । धेरै गिठ्ठा एकैचोटी जम्मा गरे भने चाहिँ छयाङ् पनि बनाउँछन् ।


संसारमा ६०० किसिमका गिठ्ठा पाइन्छन् । पश्चिम अफ्रिकामा चाहिँ यसको अत्यधिक प्रयोग हुन्छ । त्यसैगरी यसको औषधीय गुण र पोषणकै कारण जापान र ब्रिटेनमा पनि लोकप्रिय छ ।


गिठ्ठा शक्तिको राम्रो स्रोत हो । यसमा काब्रोहाइडेट र रेशादार पदार्थ पनि पर्याप्त मात्रामा हुन्छ । यसको प्रयोगले कब्जियत कम गर्छ, कोलेस्ट्रोल पनि कम हुन्छ । साथै यसमा भिटामिन बी र फेलिक एसिड पनि रहेको हुन्छ । गर्भवतीलाई फोलिक एसिड चाहिन्छ ता कि भ्रुणलाई विकलागंता नहोस् ।


यति मात्र होइन यसमा विभिन्न किसिमका सूक्ष्म पोषण जस्तो : म्याग्नेसियम, पोटासियम, लौह तत्व पनि रहेको हुन्छ । गिठ्ठाको प्रयोग संसारका झण्डै ६ करोड मानिसले दैनिक भोजनका रुपमा प्रयोग गर्छन् । नेपालमा गिठ्ठा अपहेलित छ तर यसको प्रयोग मानिसहरुको पोषण बढाउन प्रयोग गर्न सकिन्छ भन्ने कुरा ध्यान दिनैपर्छ ।


अहिलेसम्म त गिठ्ठा केवल जंगलबाट मात्र टिपेर खाने चलन छ । यसलाई खेती गरेर लोकप्रिय बनाउन सकियो भने यसले खाद्य सुरक्षामा महत्वपूर्ण स्थान खेल्न सक्छ ।

नेपालमा अक्षय तृतीयामा सातु र शर्वत, यमरी पूर्णिमामा योमरी खाएजस्तै अफ्रिकामा त विशेष प्रकारको पर्व नै मनाइन्छ, गिठ्ठा खानका लागि । त्यहाँ गिठ्ठा पीठो बनाएर केकमा हालेर वा सुप बनाएर खाने चलन छ ।


जापानमा पनि गिठ्ठाको नुडल पनि बनाउने चलन छ । उनीहरुले दैनिक जीवनमा प्रयोग गर्ने गिठ्ठा हामीले अवहेलना किन गर्नु र रु चाइनामा गिठ्ठाबाट निस्कने रस जस्तो पदार्थलाई बाहिरी घाउ, पिलो आदिमा लगाएर निको पार्ने औषधि बनाइन्छ ।


नेपालको सन्दर्भमा त गिठ्ठा र भ्याकुरको आर्थिक र पोषणयुक्त दुवै महत्व छ । सजिलैसँग जस्तो जमीनमा पनि फल्न सक्ने हुनाले यसको खेती सजिलै गर्न सकिन्छ ।

यसलाई विभिन्न खानेकुरासँग मिसाएर खाँदा स्वाद र पौष्टिकता पनि बढ्न जान्छ । यसलाई व्यापारिक दृष्टिले उत्पादन गरेर पीठो, नुडल्स चिप आदि बनाएर आर्थिक रुपमा पनि उन्नति गर्न सकिन्छ ।

जनस्वास्थ्य बिद् डा.उप्रेती पोषण सचेतना अभियन्ता हुनुहुन्छ ।


ताजा खबर