आईपीएलमा आज हैदराबाद र चेन्नाई भिड्ने

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा आज सनराइजर्स हैदराबाद र चेन्नाई सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । जारी सिजन अपेक्षाकृत प्रदर्शन गर्न नसकिरहेका दुवै टिमका लागि जित अपरिहार्य भइसकेको छ ।

दुवई इन्टरनेसनल स्टेडियममा यो खेल आज साँझ पौने आठ बजेदेखि सुरु हुनेछ । अंकतालिकामा हेदराबाद ७ खेलबाट ६ अंकसहित पाँचौं र चेन्नाई समान खेलबाट ४ अंकहित अन्तिमबाट दोस्रो स्थानमा छन् ।

पछिल्लो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरसँग पराजित भएपछि कप्तान महेन्द्रसिंह धोनीले आफ्नो जहाजमा धेरै प्वालहरु भएको र एउटा टाल्दा अर्कोबाट पानी चुहिरहेको भन्दै टिमको स्तर खस्किएको संकेत गरेका थिए ।

तीनपल्टको उपाधि विजेता चेन्नाई ब्याटिङ, बलिङ र रणनीतिमा समेत यसपल्ट चुकेको छ । सेन वाटसन र फाफ डू प्लेसिसको ओपनि.ग जोडीले केहि खेलहरुमा राम्रो गरेका छन् । चेन्नाईको मध्यक्रमले अहिलेसम्म लय भेट्टाएको छैन र तीव्र बलर पनि प्रभावशाली देखिएका छैनन् ।

हैदराबादले पछिल्लो खेलमा राजस्थानलै हातैबाट दुई अंक खोसेको टुलुटुलु हेर्न बाध्य भयो । ब्याटिङमा राम्रो प्रदर्शन भइरहे पनि बलिङ र फिल्डिङमा हैदराबादलाई अझै सुधारको खाँचो छ । मुख्यगरी स्पिनर रशिद खानबाहेक तीव्र बलरहरुको अभाव सुरु भएको छ । भुवनेश्वरकुमार चोटग्रस्त हुनुको घाटा पनि हैदराबादले ब्यहोरिरहेको छ ।

यसअघि हिजो सम्पन्न खेलमा बैंग्लोरले कोलकाता नाइट राइडर्समाथि ८२ रनको सानदार जित हासिल गरेको छ । बैंग्लोरले सातौं खेलमा पाँचौं जित निकालेको छ । समान खेलबाट समान अंक भए पनि अंकतालिकामा मुम्बई इन्डियन्स शीर्ष, दिल्ली क्यापिटल्स दोस्रो र बैंग्लोर तेस्रो स्थानमा छन् । –एएनआई


ताजा खबर