यो मायाको जातै मीठो (कविता)

भावना शर्मा

रातै मीठो साथै मीठो मायालुको बातै मीठो
मनदेखि तनसम्म यो मायाको जातै मीठो ।

नजिकिँदै लजाउँदै एक–अर्कामा हराउँदै
मुटु साटी लगाउने मायाको यो नातै मीठो
मनदेखि तनसम्म यो मायाको जातै मीठो ।

रिसाउँदा फकाई–फकाई मनको सारा थकाइ
बग्दा आँसु माया गरी पुछिदिने हातै मीठो
मनदेखि तनसम्म यो मायाको जातै मीठो ।

स्पर्शले मात्र पनि शरीर उसै थर–थराउने
मायालुको साथ भए लाग्छ सारा रातै मीठो
मनदेखि तनसम्म यो मायाको जातै मीठो ।

दुःख–सुख जेजे मिल्छ मिली कटाउँला भनी
जिन्दगीभर साथ दिने मायालुको साथै मीठो
मनदेखि तनसम्म यो मायाको जातै मीठो ।  


ताजा खबर