प्रदेश ५ को नाम लुम्बिनी र राजधानी दाङ देउखुरी

लामो समयको पखाईपछि प्रदेश ५ को राजधानी दाङको देउखुरी राख्ने प्रस्ताव प्रदेश सभाको दुईतिहाई बहुमतले पारित भएको छ ।

आज प्रदेशसभामा भएको मतदानमा प्रस्तावको पक्षमा ६९ मत खसेको छ भने विपक्षमा १३ मत खसेको छ । कुल ८७ सदस्य रहेको प्रदेश सभामा ८२ जना सांसदहरु उपस्थित हुनुभएको प्रदेश सभा सचिवालयले जनाएको छ । यसैगरी प्रदेश ५ को नाम लुम्बिनी पनि पारित भएको छ ।

प्रदेशसभाको मंगलबार बसेको छैठौं अधिवेशन तथा ३२ औं बैठकमा सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले संसदमा पेश गर्नुभएको प्रदेश नामाकरण सम्बन्धि प्रस्ताव दुईतिहाईले स्वीकृत भएपछि प्रदेशको नाम लुम्बिनी भएको हो ।

शुक्रबार मन्त्री केसीले संसदमा पेश गरेको प्रस्तावमा एक संशोधनको प्रस्ताव पेश भएको थियो । संसदमा मंगलबार भएको मतदानमा ७९ जना सांसदहरुले मन्त्री केसीको प्रस्तावको पक्षमा तथा ४ जना सांसदले विपक्षमा मतदान गर्नुभएको थियो । यससँगै साँढे दुई वर्षदेखिको विवाद समाधान भएको छ ।

यसका साथै प्रदेशसभाको चालु छैठौं अधिवेशन आज नै समापन भएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा पठाउनुभएको अधिवेशन समापनसम्बन्धि पत्र सभामुख पूर्णबहादुर घर्तिले प्रदेशसभालाई जानकारी दिँदै समापन गर्नुभएको हो । –रासस


ताजा खबर