नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित देश

‘भौगोलिक, सामुदायिक र सांस्कृतिक हिसाबले लोकगीत फरक हुन्छन्’

प्रकाश सपुत

भनिन्छ, संसारमा सबैभन्दा बढी आँसु बिक्री हुन्छ । आँसुको अर्थ, यसको तागत, यसको सौन्दर्य, यसको कमजोरीमाथि बहस विमर्श हुँदै गर्लान् । आँसु अर्थात् संवेदनामाथि केन्द्रित भएर काम गर्ने कलाकारमध्येका एक हुन् प्रकाश सपूत ।

‘बोलमाया’देखि ‘बदला बरी लै…’ सम्म आइपुग्दा उनले मानिसको संवेदनामा केन्द्रित भई काम गरेका छन् । उनका गीत रुचाइएका पनि छन् । भिडियो पनि रुचाइएका छन् । प्रायः युट्युब ट्रेन्डिङमै आइरहेका हुन्छन् । भिडियोमार्फत गीतसँगै कथा पनि भन्नु उनको विशेषतै बनेको छ । 

सपूतलाई आरोप पनि लाग्ने गर्छ– उनले आँसु बेचे । निराशावादी कुरा गरे । भनिन्छ– संसारमा परिवर्तनका लागि दुईवटा कुरा प्रयोग हुन्छ रे, कि युद्ध कि प्रेम । सपूत समीक्षा गर्छन्, ‘म स्वयं पनि भावना र मायाले जित्नुपर्छ भन्ने मान्छे हो । त्यसैको रिफ्लेक्सन मेरा सिर्जनामा देखिन्छन् होलान् ।’ 

सपूत तीस वर्षका युवा हुन् । योे पुस्ता सबैभन्दा छिटो भएको सामाजिक, राजनीतिक परिवर्तनबीच हुर्किएको छ । जनयुद्ध, दोस्रो जनआन्दोलन, पहिचानको आन्दोलन, मधेस आन्दोलन । बेतिथि, बेरोजगारी, अरब, राजनीतिक अस्थिरता । तमाम कथा र उल्झनबीच बाँचिरहेको पुस्ता हो यो । यसबीचमा जीवनशैलीमा पनि द्रुत परिवर्तन भए । योबीचमा सपूतले जस्तो गीत ल्याइरहेका छन्, त्यसमाथि प्रश्न उठ्नु स्वाभाविकै हो । ‘मैले अहिलेसम्म समाजको चित्रणमाथि काम गरिरहको छु,’ उनी भन्छन्, ‘योभन्दा बढी गर्न नसक्नुमा सायद ममा अध्ययन पुगेको छैन होला । परिपक्व विचार छैन होला । त्यो बिस्तारै बन्दै जाला । तर, अहिलेसम्म मेरा जति भोगाइ छन्, नमीठा अनुभव छन्, त्यसैलाई आधार बनाएर काम गरिरहेको छु ।’

कुनै दिन आफूले आफ्नो विचार, दृष्टिकोण साझा गर्नुपर्ने वेला पनि आउनेछ भन्नेमा विश्वस्त छन् सपुत । तर, आफू अहिले जुन अवस्थामा हो, त्यसले संवेदनाभन्दा माथि जान नदिएको बताउँछन् । तर, विचार परिपक्व बन्ने कुरा त अभ्यास पनि गर्दै जानुपर्ने हुन्छ । विचार, दृष्टिकोणको कुरा आममानिसले पनि गरिरहेका हुन्छन् । तर, स्थापित भइसकेका कलाकारको सानो स्टाटस, साना वाक्यले ठूलो समूहलाई प्रभावित गरिरहेको हुन्छ । त्यसमा सपुतको कोसिस कहाँ छ ? मनोरञ्जनभन्दा माथि उठेर हेर्ने हो भने सामाजिक उत्तरदायित्व, जिम्मेवारी कहाँ हुन्छ सपूतलगायत कलाकारको ? यस्ता प्रश्नले सपूत स्वयंलाई सताइरहँदो रहेछ । ‘यसको समाधान खोजेर दिन पाए त हुने’ भन्ने लागिरहँदो रहेछ । तर, मान्छेको रुचिले गर्दा जोखिम मोलिहाल्न पनि सक्दैनन् । ‘कुनै काम गर्दा मान्छेको विचार बाँडिन्छ । त्यसले निम्त्याउने अलोकप्रियताको पनि डर होला ममा,’ उनी भन्छन्, ‘म आफ्नो विचार त राख्छु नै । तर सिर्जनामा चाहिँ यही कारण म अलि डराएको होला ।’

केही समयअघि सार्वजनिक भएको सपुतको गीत ‘बदला बरी लै…’ चर्चामा आयो । साथै आलोचना पनि भयो, बलात्कारीलाई सजायका लागि भूतको सहारा लिइएको छ । सामाजिक सञ्जालमा प्रतिक्रिया पनि आए, ‘अपराधीलाई सजायका लागि त्यसरी भूतको सहारा लिने ? कानुन ल्याउनुपर्छ भन्ने संकेत दिँदा के जान्थ्यो ?’ सपूतले यस्ता प्रतिक्रिया पढे । उनलाई सोच्न बाध्य पनि गरायो । उनी स्वयं पूर्ण आस्तिक नरहेको बताउँछन् । तर, कानुन ल्याउँदै गर्दा हामीले देखिरहेको कानुनको नांगो अनुहारप्रतिको वितृष्णाका कारण पनि आफूले सामाजिक विश्वास पद्धतिको सहारा लिएको बताउँछन् सपूत । हाम्रो कानुन न्याय दिनभन्दा बढी प्रमाण नष्ट गर्न उद्यत् देखिनु र कानुनप्रतिको अविश्वासका कारण आफूले मान्यताहरूको सहयोग लिएको बताउँछन् । ‘हाम्रो राज्य–व्यवस्थामाथि मैले व्यंग्य गर्न खोजेको हुँ,’ सपूत भन्छन् ।

सपूतका पछिल्ला गीत जति पनि आएका छन्, ‘स्टोरी टेलिङ’मा आधरित छन् । उनी गीतलाई जत्तिकै भिडियोलाई पनि प्राथमकिता दिइरहेका हुन्छन् । गीत खासगरी सुन्ने नै हो । गीत सुन्दा मात्र पनि मजा आउनुपर्छ । कथा हालेर कतिपय अवस्थामा सपूतलाई गीत बिगाऱ्याे पनि भन्छन् । ‘मेरो गीतमा भिडियो पनि हेर्नुपर्छ । मेरो आवाज लोकविधाका लागि हो । पप, आधुनिक गाउन सक्दिनँ । तर, मलाई लाग्थ्यो, मेरो गीत सबैले सुनिदेओस् । यही कारण मैले चतुऱ्याइँ गरेको हुँ कथा हालेर,’ सपूत भन्छन्, ‘विधा लोक भएकाले मेरा गीत सीमित मान्छेले सुन्लान् । तर, कथा त सबैको साझा हुन्छ । भेगीय, सामुदायिक, उमेरको हिसाबले फरक गीत सुन्लान् । तर, विदेश जानुपर्ने पीडा, बलात्कारको घटनाले दिने तनाव त सबैको एकै हो । अनि मैले सोचेँ, गीतमा म कथा पनि लिएर जान्छु ।’ यसले सपूतलाई फाइदा पनि गऱ्याे । उनका अनुसार गीतमा मात्र उनलाई त्यति आत्मविश्वास थिएन । त्यहीकारण गीत र कथालाई सँगसँगै लिएर गएको स्विकार्छन् ।

लोकगीतको आफ्नै किसिमको सौन्दर्य छ । भौगोलिक, सामुदायिक, सांस्कृतिक हिसाबमा लोकगीतका स्वाद फरक हुन्छन् । यहाँनेरचाहिँ सपूतका गीतको जरा कहाँ हो ? यसमा सहज उत्तर भेट्छन् नए । हाम्रो अहिलेको जीवनशैली स्पष्ट छैन । सबै कुरा छाडेर कता कता पुगेका छौँ । त्यो विकासको हिसाबले राम्रै हो । तर संस्कृतिको हिसाबले विचलित अवस्था छ । लोकगीत नै हो हाम्रा खाँटी कथाहरू भन्ने विधा । संगीतका अन्य विधा आयातीत हुन् । हाम्रो पुर्खा जसरी बाँचेर आए, घामपानी सहेर आएर, त्यहीँबाट जन्मिएका हुन् लोकगीत । ‘हामीले आफ्नो जरालाई छाड्न सक्दैनौँ । साथै संसारको गतिसँग पनि भिडिरहेका छौँ । हाम्रो पुस्ताबीचमा छ,’ उनी भन्छन्, ‘र, यही हामीले बाँचिरहेको समय र भोलिका दिनमा आउने समयबीच कसरी संयोजन गर्ने भन्ने कोसिस हो मेरो गीतमार्फत । सम्भवतः हाम्रो पुस्ताले बाँचिरहेको समय नै मेरो गीतकोे जरा हो ।’ 

सपूत अहिले त स्टार हुन् । तर, विगततिर बरालिने हो भने चरम निराशाबाट पनि गुज्रिए । सुरुवाती चरणमा गीतहरू ल्याए । तर, उनकै साथीहरूले गीत मन पराएनन् । सपूत पप, मेटल, रक गाउन सक्दैन थिए । उनी भन्छन्, ‘मैले गीतमा कथा नमिसाएको भए सम्भवतः यहाँ हुँदिनँ थिएँ होला ।’

होटेलमा काम गरे । दोहोरीमा गाए । ०६९ सालमा एल्बम पनि ल्याए । एल्बम असफल भयो । तर, उनलाई त्यो असफलताले तनाव दिएन । तर, तनाव त अब पारिवारिक जीवनलाई कसरी चलाउने भन्नेबारे थियो । सपनाको यात्रा असफल भए पनि वास्तविकताको यात्रा त्यस्तो नहोस् भन्ने चाहन्थे । विदेश जाने, स्थायी जागिर गर्नेबारे पनि सोचे । तर, यस्तो वेला सफल मानिसको कथा पढ्थे । उपन्यास पढ्थे । उपन्यासको पात्रहरूमा छिरेपछि आफ्नो पीडादायी वास्तविकता केही क्षणका लागि भए पनि बिर्सन्थे । कहिलेकाहीँ मानिसको सपनाको यात्रा धेरै पर छुटेको हुन्छ, वास्तविकताको यात्रा धेरै अगाडि गइसकेको हुन्छ, या त उल्टोपाल्टो हुन सक्छ । ‘तर, म  विस्वास्त थिएँ, एक दिन सपनाको यात्रा र वास्तविक जीवनको यात्रा सँगसँगै गर्नेछु । अहिले दुवैसँगको यात्रामा छु,’ सपूत भन्छन् ।

सपूत अहिले सन्तुष्ट लिन सकिने ठाउँमा आइपुगेको बताउँछन् । सपूतको पुस्ताकै पहिलो व्यक्ति हुन् उनी जसले प्लस टु पास गरे । उनका हजुरबुबा बाग्लुङको धम्जा गाउँमा विस्टकहाँ बोरा बोकेर अन्न उठाउन जान्थे । सपूतको बुबासम्म आइपुग्दा पनि घरमा आधामा भैँसी बाँधिन्थ्यो, आधामा मान्छे बस्थे । बुबा विदेश गएपछि भने केही सुधार भयो । घरले खरको छानो पायो । ‘मलाई देख्नेहरूले भुइँबाट उठेको देख्लान्, तर त्यसो होइन । म भुइँभन्दा तल खाडलबाट उठेको हुँ,’ सपूत भन्छन्, ‘अहिले म सबैले देख्ने ठाउँमा छु भनेर गर्व लाग्दैन । यो उचाइबाट एकदिन त झर्नैपर्छ । तर, खुसी यसमा लाग्छ कि अब झर्दा पनि भुइँसम्म मात्र झर्छु, त्यो खाडलमा झर्नुपर्दैन ।’  


ताजा खबर