डा.रेग्मीको ‘टन्सिलले बिगारेको मुटु’ लोकार्पण

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीद्वारा लिखित पुस्तक ‘टन्सिलले बिगारेको मुटु’ लोकार्पण गरिएको छ । विश्व मुटु दिवसको अवसरमा शताब्दीपुरुष सत्यमोहन जोशीले मङ्गलबार उक्त पुस्तक लोकार्पण गर्नुभयो ।

डा. रेग्मीले बाथ मुटुरोग, गरिबी र अशिक्षाबाट प्रताडितको समस्या पुस्तकमा समेटिएको बताउनुभयो । बाथ मुटुरोगको सबैभन्दा ठूलो सिकार विपन्नतामा हुर्किएका बालबालिका छन् । यस रोगका कारण नेपालमा बर्सेनि एक हजार बालबालिकाको मृत्यु हुने गरेको छ ।

डा. रेग्मीले वार्षिक आठ सय जनाको मुटुको भल्भ फेर्ने जस्तो महँगो र जटिल शल्यक्रिया भइराखेको जानकारी दिँदै हजारौँ युवाले बाथ मुटुरोगबाट पीडित भई अशक्त जीवन बिताएको बताउनुभयो । पुस्तकमार्फत डा. रेग्मीले समाजका अपहेलित र छायाँमा परेका विपन्न वर्गका बालबालिकाको विषयलाई उठाउने प्रयास गर्नुभएको छ ।

पुस्तकमा नेपाली समाजको चित्र र रोगीको वेदना छ । पुस्तकमा सङ्घर्षको कथा छ । यस्तै नेपालमा मुटुरोग उपचार सेवाको स्थापना र विकासको इतिहाससमेत उल्लेख गरिएको छ । पुस्तकभित्र नेपाल हार्ट फाउन्डेसनले बाथ मुटुरोग रोकथामका लागि चलाएको अभियानको जानकारीसमेत दिइएको छ । –रासस


ताजा खबर