वामदेवविरुद्धको रिट शुक्रबार सम्मलाई हेर्दाहेर्दैमा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई शुक्रबार सम्मलाई हेर्दाहेर्दैमा राखिएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासको पूर्ण इजलासमा रिट निवेदक र विपक्षी दुबै पक्षबाट आज पहिलो चरणमा बहस भए पनि अझै कानुन व्यवसायीहरुले बहस गर्ने क्रम नसकिएकाले पर्सी शुक्रबारसम्मलाई हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभएको छ ।

निवेदनको माग बमोजिम अन्तरिम आदेश जारी गर्ने नगर्नेबारे प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको पूर्ण इजलासमा आजदेखि बहस शुरु भएको हो ।

यसअघि प्रारम्भिक सुनुवाई गर्दै गत असोज ७ गते न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले उपाध्यक्ष गौतमको मनोनयन यथास्थितिमा राख्न र थप संवैधानिक जिम्मेवारी नदिन आदेश दिनुका साथै यो मुद्धालाई संवैधानिक इजलासबाट टुंगो लगाउन आदेश जारी गरेको थियो । –रासस


ताजा खबर