आईपीएलमा गएराति राजस्थान रोयल्स विजयी

इन्डियन प्रिमियर लिग- आईपीएल टी-ट्वान्टी क्रिकेटअन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्स विजयी भएको छ । शारजाह क्रिकेट रंगशालामा भएको खेलमा किङ्ग्स इलेभन पञ्जाबलाई चार विकेटले पराजित गर्दै राजस्थान रोयल्सले प्रतियोगितामा आफ्नो दोस्रो जित हात पार्‍यो ।

टस हारेपछि ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै २२३ रनको योगफल बनाएको थियो । २ सय २४ रनको फराकिलो लक्ष्य पाएको राजस्थानले सो लक्ष्य १९ ओभर तीन बलमा ६ विकेट गुमाउँदै पूरा गर्न सफल भयो ।

हिजोको जित राजस्थानको कीर्तिमानी जित समेत हो । आईपीएलमा कुनैपनि क्लबले सफलतापूर्वक पार गरेको यो सर्वाधिक ठूलो योगफल हो । राजस्थानको जितमा म्यान अफ द म्याच घोषित सञ्जु स्यामसनले ८५ रन र कप्तान स्टीभ स्मिथले ५० रनको योगदान गरे ।

पञ्जाब यसअघिको खेलमा दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको थियो । यसैबीच आईपीएलअन्तर्गतको दशौँ खेलमा आज गत वर्षको विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स ब्याङ्ग्लोर बीच प्रतिस्पर्धा हुँदैछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने उक्त खेल नेपाली समयानुसार साँझ ७ बजेर ४५ मिनेटमा शुरू हुनेछ । –एएनआई


ताजा खबर