हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङ गर्न दिने निर्णय स्थगित गर्न प्राधिकरणलाई निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङ गर्न दिने निर्णय स्थगित गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिनु भएको छ ।

मन्त्री भट्टराईले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई आइतबार मन्त्रालय बोलाएर निर्णय कार्यान्वयन नगर्न निर्देशन दिनु भएको हो ।

हिमालय एयरलाइन्लाई सेल्फ ग्राउण्ड ह्याण्डलिङ गर्न दिनेसम्बन्धी निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न नेपाल नागरिक उड्डयन प्रधिकरणलाई निर्देशन दिएको मन्त्री भट्टराईले बताउनु भयो ।

मन्त्री भट्टराईले महानिर्देशक राजन पोखरेललाई सचिव केदारबहादुर अधिकारीसँगै राखेर अबदेखि कुनै ठूला र संवेदनशील निर्णय गर्नु पहिले मन्त्रीसँग छलफल गरेर मात्र गर्न पनि निर्देशन दिएको उल्लेख गर्नु भयो ।

साथै, मन्त्री भट्टराईले हिमालय एयरलाइन्सको सेल्फ ग्राउण्ड ह्याण्डलिङ गर्ने व्यवसायिक, प्रविधिक र आर्थिक क्षमताको अध्ययन गरेर प्रतिवेदन तयार पार्न पनि प्रधिकरणलाई निर्देशन दिएको पनि जानकारी दिनु भयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले २०७२ असार २७ गतेको सञ्चालक समितिको निर्णय बमोजिम नागरिक उड्डयन प्राधिकरण ग्राउण्ड हेण्डिलिड.निर्देशिका जारी गरेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सातामा ३५ वटासम्म उडान भर्ने अन्तराष्ट्रिय एयरलाइन्सलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङ गर्न दिने व्यवस्था गरेको थियो ।

हाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सेल्फ ग्राउण्ड ह्याण्डलिङ गर्ने अनुमति थाई एयरवेज र एयर इन्डियाले मात्र पाएका छन् । यी दुई अन्तराष्ट्रिय एयरलाइन्सले निर्देशिकामा उल्लेख भए बमोजिमको ३५ उडान संख्या भने पुरा गरेका छैनन । हिमालयन एयर लाइन्सले ३५ भन्दा बढी उडान गर्दै आएको नेपाल नागरिक उड्डयन प्रधिकरणले जनाएको छ ।

हाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको काम नेपाल वायुसेवा निगमले गर्दै आएको छ ।


ताजा खबर