‘प्रा.डा.भगवान कोइरालाको किशोरावस्थाका कुरा’

प्रा.डा भगवान कोइराला नेपालको मुटु शल्य चिकित्सा क्षेत्रका सिद्धहस्त शल्य चिकित्सक हुन । उनले नेपालमा मुटु शल्य चिकित्सालाई स्थापित गर्न अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । नेपालको एकमात्र मुटु अस्पताल शहिद गंगालाल हृदयरोग उपचार केन्द्रको संस्थापक निर्देशक रहिसकेका उनी हाल त्रिबि शिक्षण अस्पताल अन्तर्गतको मनमोहन कार्डियोभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत छन्। हजारौं नेपालीको मुटुरोग शल्यकृया मार्फत निको पारेर जिवनदान दिएका प्रा.डा. कोइरालासँगको सफल कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौं ।

कक्षा ८ सम्म पाल्पाको गाउँकै स्कूलमा अध्ययन गरेँ । थप अध्ययनका लागि तानसेन जानुपर्थ्यो । घरबाट तानसेन पुग्न दुई घन्टा लाग्थ्यो । घरबाटै स्कुल आउजाउ गर्न सम्भव थिएन । त्यसैले तानसेनमा कोठा लिएँ । त्यसअघि तानसेन गएको पनि थिइनँ । परिवारसँग छुट्टिएर कहिल्यै नबसेको हुनाले मलाई ‘होमसिक’ हुन्थ्यो अनि स्कूलबाट भागेर घर पुग्थेँ ।

गाउँमा हुँदा पढाइमा अब्बल थिएँ । ‘टप थ्री’मा एउटा पोजिसन मेरै हुन्थ्यो । तानसेन आएपछि भने डेराको बसाइ, होमसिकनेस र कक्षा छोडेर भगाइका कारण पढाइ खस्कियो । कक्षा ९ बल्लतल्ल पास गरेँ, सन्तोषजनक नतिजा आएन । कक्षा १० मा पुग्दाचाहिँ कोठामा बस्ने बानी परिसकेको थियो । एसएलसी दिनुपर्ने भनेपछि पढाइमा विशेष ध्यान दिएँ । पूर्व गृहमन्त्री माधव घिमिरे र म क्लासमेट थियौं । एसएलसीअघिको टेस्ट परीक्षामा हामी दुवैजना तेस्रो भयौं ।

एसएलसी तयारी बिदा भएपछि म गाउँतिर गएँ । पढाइ त चौपट भयो । माधवले चाहिँ एसएलसीको राम्रो तयारी गर्नुभएछ, त्यसैले बोर्ड थर्ड हुनुभयो । टेस्टमा दुवैजना तेस्रो भएकाले मनमनै म पनि बोर्ड थर्ड भएँ कि भन्ने आशा थियो । तर, सेकेण्ड डिभिजनमा पास भएछु ।

एसएलसी दिनुभन्दा अघि भविष्यमा के बन्ने, कसो गर्ने भन्ने केही सोचिएन । २०३४ सालमा एसएलसी पास भएपछि चाहिँ अब के पढ्ने होला भन्ने लाग्न थाल्यो । बुबाहरू पनि गाउँमै बस्ने भएकाले उहाँहरूलाई यतातर्फ खासै जानकारी थिएन । गाउँको एकजना साहुले मेरो बुबालाई ‘छोरोलाई हेल्थ एसिस्टेन्ट पढाउनू’ भन्नुभएछ । बुबाले घरमा आएर मलाई भन्नुभयो । बायोलोजी नै पढ्ने हो भनेपछि सहज पनि लाग्यो र काठमाडौं बसेर पढ्ने भनेपछि उत्साहित पनि भएँ । विज्ञान त्यसमा पनि बायोलोजी मलाई विद्यालय तहदेखि नै सहज लाग्थ्यो । बुबाको कुरा सुन्नेबित्तिकै डाक्टर बन्ने सपना बुन्न थालेँ ।

काठमाडौं आएँ । महाराजगञ्जस्थित इन्स्टिच्युट अफ मेडिसिनमा हेल्थ असिस्टेन्ट अध्ययन पढ्न सुरु गरेँ । त्यसबेला एकजना दाइ पनि काठमाडौंमा हेल्थ असिस्टेन्ट पढ्दै हुनुहुन्थ्यो । केही समय दाइ र म कोठा लिएर बस्यौं । तर, पहिलो सेमेस्टर केही समय पढेपछि होस्टलमा बस्न थाल्यौं । हेल्थ असिस्टेन्ट अध्ययन सुरु गर्दा पहिलो सेमेस्टरको सुरु-सुरुमा निकै गाह्रो भयो । यो विषय पढ्न सकिँदैन कि भनेर हतोत्साही पनि भएँ । तैपनि हिम्मत नहारी अध्ययन गरेँ, परीक्षा दिएँं । पहिलो सेमेस्टरमा पाँच जनामात्र क्लिन पास भए । त्यसमा पाँचौं नम्बरमा म पनि परेछु । त्यसपछि फुरुङ्ग भएँ । पढ्न पनि रुची बढ्न थाल्यो । यो नै मेरो जीवनको एउटा टर्निङ प्वाइन्ट बन्यो ।

र्ड सेमेस्टरसम्म पुग्दा टप पोजिसनमा आएँ । आफ्नै बलबुताले सफलता पाएपछि मेरा कमजोरी पनि सबै हट्दै गए । हरेक विषयमा सक्षम हुन थालँे । किशोरावस्था एउटा चञ्चले उमेरका साथै व्यक्तित्व विकास गर्ने बेला पनि रहेछ । यस्तो बेला सानो सफलताले पनि धेरै खुशी बनाउँदो रहेछ । हामी आफैंमा कोही बेबकुफ, बुद्धु वा भयंकर स्मार्ट भन्ने हुँदैनौं । सबैसँग आ–आफ्नै क्षेत्रको ज्ञान, शक्ति र सम्भावना हुन्छ । त्यो कसरी प्रस्फुटन हुन्छ भन्नेचाहिँ शैली र वातावरणमा भर पर्छ ।

किशोर छँदा धेरैजनामा विभिन्न सोच आउँछ । त्यो आफैं आउन सक्छ अथवा अरु कसैले गरेको गाली, ताली र सुझावका कारण धारणा बन्छ । मलाई पनि त्यस्तै भयो । त्यो बेलामा डाक्टर हुनु नै सबैभन्दा ठूलो कुरा थियो । त्यो बेलासम्म मलाई पैसा तिरेर अरु देशमा गएर पढ्न पाइन्छ भन्ने पनि थाहा थिएन । तर मलाई पढाउने शिक्षकले सर्जन बन्नुपर्छ भनेपछि चाहिँ मनमा चाह पलाएको थियो ।

मलाई किशोर छँदा मनपर्ने खेल भनेको ब्याटमिन्टन थियो । होस्टलमा बस्दा पनि म धेरैजसो ब्याटमिन्टन नै खेल्थेँ । अहिले पनि फुर्सदको समयमा कहिलेकाहीँ खेल्छु । अरु खेलमा पनि रुचि छ, खेलिरहन्छु । एकदिन महाराजगञ्ज क्याम्पसका साथीहरूले क्रिकेट सिकाउन भनेर लगे । जिन्दगीमा मैले पहिलोपटक ब्याट समातेको त्यहिबेला हो । एकजना अग्लो साथीले बलिङ गर्दा बल ढुंगामा लागी उछिट्टिएर मेरो च्यापुमा लाग्यो । त्यसपछि मैले जिन्दगीमा कहिल्यै क्रिकेट भने खेल्ने आँट गरिनँ ।

त्यो बेला शनिबार एक दिन फुर्सद हुन्थ्यो । महाराजगञ्जमा एउटा साइकल पसल थियो । त्यहाँ ५० पैसामा साइकल भाडामा पाइन्थ्यो । साइकल लिएर बुढानिलकण्ठसम्म पुगिन्थ्यो । त्यो पल सम्झँदा अहिले पनि आनन्द लाग्छ ।

धेरैको किशोरावस्थामै प्रेमसम्बन्ध बसेको पनि सुनेको छु । तर म किशोर छँदा भने ध्यान पढाइमै बढी केन्द्रित भयो । त्यसैले प्रेमसम्बन्ध गाँस्नेतिर ध्यानै गएन ।  


ताजा खबर