नेपालको जनै जर्मनीसम्म पुग्छ : वैदिक विधि अनुसार बनाइने जनै र धागोको माग बढ्दो

जनै र रक्षाबन्धनको धागोको नाम लिँदा यस क्षेत्रमा बुटवलको वैदिक जनैलाई सम्झिने संस्कार नै बसेको छ। अर्थात यस क्षेत्रमा वैदिक जनैले ‘ब्राण्ड’ नै बनाएको छ।

राधा धागो उद्योग जनै र रक्षाबन्धनका सामग्रीको व्यावसायिक उत्पादन गर्ने यस क्षेत्रकै पहिलो उद्योग हो। १८ वर्षदेखि जनै र रक्षाबन्धनको व्यवसायिक उत्पादन गर्दै आएको उक्त उद्योगबाट उत्पादित वस्तु नेपालको विभिन्न जिल्ला मात्र होइन विदेशमा समेत पुग्ने गरेको छ।

वैदिक विधि अनुसार बनाइने हुँदा जनै र धागोको माग अत्यधिक भएको उद्योगका सम्पादनकर्ता बुद्धिप्रसाद शर्मा बताउँछन्। गुल्मीको अस्लेवामा जन्मेका शर्माले बुटवल उपमहानगरपालिका–४ रामन्दिर लाइनमा श्रीमती राधा शर्माको नाममा उद्योग दर्ता गरी सञ्चालन गरिरहेका छन्। बुद्धिप्रसादको अर्को पहिचानको नाम ‘जनै बाजे’ हो।

शास्त्रीय जनै, वैदिक जनै, राधापवित्र जनै, वैदिक रक्षाबन्धन, लाखबत्तीको गुणस्तरीय पूजा सामग्री उत्पादन गरेको भन्दै उक्त राधा धागो उद्योगलाई २०७४ मा नेपाल सरकार, उद्योग मन्त्रालयले उत्कृष्ट उद्यमीको रूपमा पुरस्कृत गरेको थियो। शर्मा परिवारले २०५८ सालदेखि सानो आकारमा उत्पादनको अभ्यास गरेका थिए। २०६१ सालमा उद्योग दर्ता गरी उत्पादन बढाए।

जनै उद्योगको सुरुवातबारे शर्मा भन्छन्, ‘जनै लगाएपनि ब्राम्हणले आफैं जनै बनाउन छाडे, ब्राम्हण पतनतिर लागे भन्ने सोच आयो। जनै बनाउन सके बिक्री हुन्छ भन्ने लाग्यो अनि उद्योग खोलियो।’ आफूले सुरु गरेको काम समाज र बजारले रुचाएकाले आफ्नो कामप्रति सन्तुष्ट भएको उनी बताउँछन्।

बजारमा नक्कली धागो र जनै आएकोमा भने उनलाई चिन्ता लागेको छ। ‘पोलिष्टर मिस्सिएको धागोबाट समेत जनै बनाएर बजारमा बिक्री गरिएको छ’, शर्माले भने, ‘त्यस्ता जनैले स्वास्थ्यलाई समेत हानी गर्छ।’ आफ्नो उद्योगबाट बन्ने जनै शुद्ध सुतिबाट बनेको उनको दाबी छ। गुणस्तरीय वस्तु उत्पादन गर्ने र त्यसैमा सन्तुष्टी लिने गरी आफूहरूले उद्योग सञ्चालन गरिरहेको शर्मा बताउँछन्।

उद्योगमा जनै र धागो किन्दै गरेका ग्राहक र व्यापारीहरूले वर्षौदेखि वैदिक जनैको प्रयोग गरिरहेको बताए। देवदहका स्थानीय डिल्लीप्रसाद शर्माले ८ वर्षदेखि वैदिक जनै लगाइरहेको बताए। उद्योगमा पुग्दा बुटवलका स्थानीय रिगेन्द्र भुसाल घरायसी प्रयोजनका लागि जनै किन्ने आएका भेटिए भने लेखनाथ ज्ञवाली एक सय जोडा जनै किन्दै थिए।

उद्योगबाट उत्पादित वस्तुहरूको माग झापा, महेन्द्रनगर, नेपालगञ्ज, पोखरा, दाङ, पाल्पा, बाग्लुङ, म्याग्दी, काठमाडौं, चितवनसम्मबाट आउने गरेको शर्माले जानकारी दिए। प्रत्यक्ष अर्डर नआएको भएपनि विदेशमा पुगेका नेपालीहरूले विदेशका पसलहरूबाट उनको उत्पादनहरू किनेर प्रयोग गरेको खबर आफूलाई गरेको उनको भनाई छ। इङ्ग्ल्याण्ड, जर्मन, बर्माबाट आउने नेपालीहरूबाट यो कुरा सुनेको उनले बताए।

उनको उद्योगबाट वार्षिक चार लाख जति जनै उत्पादन हुने शर्मा बताउँछन्। वर्षैभरि घरका चार जनाबाहेक बाहिरी चार जना महिला कामदारले रोजगारी पाइरहेका छन्। सिजनको बेला थप कामदार लगाई जनै र धागोको उत्पादन हुने गर्दछ। घरका चारमध्ये दुई जना जनशक्ति मात्रै पुरुष छन भने सबै कामदार महिला छन्।

उद्योग दर्ता गरेर सरकारलाई कर तिरेर उद्योग चलाइरहेको भएपनि बजारमा लुकिछिपि बनाएका र वैदिक प्रक्रिया नगरी बनाइएको जनै आएको शर्मा बताउँछन्। त्यस्ता कामलाई करको दायराभित्र ल्याउनुपर्ने उनको माग छ। नक्कली काम गर्ने, कर नतिर्ने र गलत कुसंस्कारीहरूलाई स्थानीय प्रशासनले कारबाही गर्न जरुरी भएको शर्माले बताए।

वैदिक सनातन वर्णाश्रमधर्म मान्ने तागाधारी जातिहरूले आजको दिन बिहानै नित्यस्नान गरी पूजापाठ गर्ने, चोखो खानुको साथै जनै धारण र रक्षाबन्धन बाँध्ने गर्ने गर्दछन्। ‘अहिले विशेष महत्व राख्ने त्यही जनै र रक्षाबन्धन बनाउने चलन हराउँदै गएको छ’, उनले भने।


ताजा खबर