नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित देश

‘सेल्फ क्वारेन्टाइनको निर्माणमा नागरिक समाजले पनि प्रभावकारी भूमिका निर्वाह गर्न सक्छ’

चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड– १९) को संक्रमणले अमेरिका र युरोपेली मुलुकलाई ठप्प पारेको छ। विश्वव्यापी भय उत्पन्न गरिरहेको छ। अमेरिकाबाट नै जनस्वास्थ्य एवं संक्रमण विषयमा उच्च शिक्षा हासिल गरेका डा. अनुप सुवेदी अहिले नेपालमानै सेवारत हुनुहुन्छ। विश्वव्यापी बन्दै गएको कोरोना भाइरस (कोभिड– १९) र नेपालमा यसको जोखिम र अपनाउनुपर्ने सावधानीलगायतका विषयमा  डा. सुवेदीसँग गरिएको सफल कुराकानीको सम्पादित अंश :

कोरोना भाइरस (कोभिड– १९) को उत्पत्ति कसरी भयो ?

श्वासप्रणालीमा संक्रमण गराई रुखाखोकी लगाउने विभिन्न भाइरसमध्ये कोरोना पनि एक हो। यसको संक्रमणले विश्वव्यापी त्रास बढाएको छ। कोभिड– १९ नाम दिइएको यो भाइरसको अघिल्लो पुस्ता सम्भवतः चमेरोमा रहेको थियो कि भन्ने अनुमान छ। चमेरोमा हुने भाइरससँग यो धेरै मिल्दोजुल्दो पनि छ। यसले समयक्रममा आनुवंशिक परिवर्तन गरेपछि मानिसमा पनि रोग लगाउन सक्ने भएर निस्केको हो कि भन्ने पछिल्लो अनुसन्धानले देखाएको छ। चमेरो वर्गका कुनै प्राणीको संसर्गबाट मान्छेमा आएको भन्ने अनुसन्धानबाट पाइएको छ। चमेरोबाट अर्को कुनै जनावरमा भाइरस सरेर त्यसपछि मान्छेमा प्रवेश गरेको पनि हुन सक्छ। यसबारेमा यही नै हो भन्ने यकिन हुन बाँकी छ। अध्ययन–अनुसन्धानका क्रममा कुनै दिन स्पष्ट होला।

यो भाइरसको विशेषता कस्तो छ ?

एक व्यक्तिबाट अर्को व्यक्ति वा समुदायमा धेरै चरणमा संक्रमण गरिरहन सक्ने विशेषता कोरोना भाइरसमा पाइयो। यो भाइरस मान्छेका शरीरभित्र पनि बाँच्न सक्ने देखिएको छ। यसअघि संक्रमण गराएका सार्स र मर्सभन्दा यो अलि फरक खालको छ। सार्स र मर्स भाइरसले समुदायमा आतंकित हुने गरी यति धेरै फैलिएको थिएन। तर कोरोना भाइरस समुदायमा फैलिने खालको छ। संक्रमित व्यक्तिले खोक्दा वा हाच्छयुँ गर्दा धेरै मात्रामा भाइरस बाहिर निस्कन्छ। र्‍यालका छिटाबाट सर्छ। र्‍यालका छिटा कुनै वस्तुमा परेछ र त्यहाँ हात पर्न गई नाक, मुख वा आँखा मिचेको अवस्थामा वा कुनै चिज समाएर खायौं भने शरीरभित्र भाइरस पसेर संक्रमण हुन सक्छ।

लक्षण नभएका व्यक्तिले पनि कोरोना भाइरस अर्को व्यक्तिलाई सार्ने सम्भावना पनि देखिएको छ। यसको सामान्यदेखि जटिलसम्मका लक्षण देखिने गर्छ। खोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने र श्वास फेर्न गाह्रो हुने लक्षण देखिएका छन्। कसैलाई पखाला लाग्ने, नाक बन्द हुने र घाँटी दुख्ने हुन्छ। जटिल अवस्थामा फोक्सोमा असर गर्छ। फोक्साको तन्तु राकिने हुन्छ। रगतमा अक्सिजनको मात्रा न्यून हुँदै जान्छ। फोक्सोको जटिलता बढ््दै गएर जटिल अवस्थामा पुगेपछि ज्यान जाने गरेको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को केही तथ्यांकअनुसार विकसित मुलुकमा मृत्युदर एक प्रतिशतभन्दा कम देखिएको छ। मृत्युदर न्यून हुनुमा ती मुलुकको बलियो स्वास्थ्य संरचना, उपचार पद्धति पनि हो। चिकित्सक, पूर्वाधारलगायतले पनि मृत्युदर निक्र्यौल हुन्छ।

कोरोना भाइरसको संक्रमण विश्वव्यापी भएको अवस्था हेर्दा सुरु चरणमा यसको जोखिमको न्यून आकलन गरिएको हो ?

संसारका सबै मुलुकले नै कोरोना भाइरसको जोखिमको न्यून आकलन गरेका हुन्। अमेरिका त बल्ल चनाखो र संवदेनशील बनेको छ। हाम्रो मुलुकमा त जोखिमको आकलन गर्ने विज्ञ पनि कम छन्। सायद त्यसैले कम अनुमान गरिएको हो कि जस्तो लाग्छ।

संक्रमणबाट महिलाभन्दा पुरुष बढी प्रभावित भएको तथ्यांक देखिन्छ। यसको कारण के होला ?

बाहिरी समाज वा भीडभाडमा महिलाभन्दा पुरुष बढी जाने गरेकाले पनि संक्रमणबाट बढी प्रभावित भएको हुन सक्छ। संक्रमणको एक्सपोजर बढी भएर पनि पुरुष बढी प्रभावित भएको हुन सक्छ। अरू स्पष्ट कारण छैन। ज्येष्ठ नागरिक मात्र होइन, जवानको पनि ज्यान गएको छ।

कोरोना भाइरसको संक्रमण र तापक्रमबीच आपसमा विपरीत सम्बन्ध भएकाले उच्च तापक्रममा यसको संक्रमण न्यून हुन्छ भनिन्छ नि ?

तापक्रम बढी हुँदा कोरोना भाइरसको संक्रमण केही मत्थर हुन्छ। भाइरसको संक्रमणको बेग यति उच्च छ कि यसले विकसित मुलुकमा पनि ठूलो भय उत्पन्न गराइरहेको छ। उच्च तापक्रम भएको मुलुकमा संक्रमणको वेगमा केही कमी आउला तर हराइहाल्दैन।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपाललाई कोरोना भाइरस संक्रमणको उच्च जोखिममा पारेको छ। यसका कारण के होलान् ?

नेपाललाई उच्च जोखिममा राख्नुका कारणबारे डब्लूएचओको भित्री दस्ताबेज पढेको त छैन। तर चीनसँग सीमा जोडिएका कारण पनि उच्च जोखिममा पारिएको हुन सक्ने सहजै अनुमान गर्न सकिन्छ। चीनसँगको निकटता छ। पर्यटक नेपाल आइरहने कारणले पनि हुन सक्छ। त्यस्तै जनस्वास्थ्य संरचनाको सबलता, नयाँ केशको विमानस्थलमै पहिचान गर्न सक्ने अवस्था, समुदायमा परीक्षण र पहिचान गर्ने क्षमता, प्रयोगशालाको क्षमतालगायतका विषय हेरिन्छ। त्यस्तै कुनै व्यक्तिलाई भाइरस पोजेटिभ देखिएको छ भने उसले अन्यलाई संक्रमण गरायो कि गराएन भनेर टे«सिङ गर्ने व्यवस्था, क्वारेन्टाइन, आइसोलेसनलगायतका पक्ष र जनशक्तिको दक्षतालगायतको पक्षको विश्लेषण गरेर उच्च जोखिममा पारेको हुन सक्छ। नेपालमा सघन उपचारमा दक्ष चिकित्सक न्यून छन्। भेन्टिलेटर कम छ। अन्य मुलुकमा फैलिएको अवस्था हेर्दा अवस्था नाजुक छ।

चीन र युरोपेली मुलुकमा कोरोनाको भय छ। नेपालमा आवश्यक पूर्वतयारी कस्तो छ ?

कुनै पनि रोगसँग लड््ने बलियो अस्त्र नै सूचना हो। जनता सुसूचित गराउन सकियो त्यति सहजै लड््न सकिन्छ। जनता सुसूचित भए आफैं सावधानी अपनाउन सक्छन्। भीडभाडमा नजाऊ, भोजभतेर नगर भनेर सरकारले भने पनि जनताले नबुझेको अवस्थामा सरकारको अपिल नमान्न पनि सक्छ। जोखिम कुन स्केलको हुन्छ भन्नेबारे नबुझेको व्यक्तिले सरकारको अपिलको पालना नगर्ला पनि। जोखिमको स्केल ठूलो हुन्छ भन्ने जानकारी भएपछि जनता आफैं जागरुक हुन्छन्। खोकी लागेको छ भने घरभित्रै रहन्छ। बाहिर अरूलाई सार्दैन भन्ने सोच आउँछ। सुसूचित भएमा सतर्कता अपनाउँछन्। सरकारले केही गर्ने योजना बनाएमा जनताले पनि साथ दिन्छन्। अहिले जनता पूर्ण सुसूचित नभएको देखिन्छ।

सुसूचित गराउने सवालमा सरकारको भूमिका प्रभावकारी देख्नुहुन्छ ?

सरकारले प्रयत्न त गरेको छ, तर सूचना जनतासमक्ष कम मात्र पुगेको देखिन्छ। जोखिम कुन स्केलमा हुन्छ त भन्ने पूर्वअनुमान गर्न सकेको देखिँदैन। किनकि मन्त्रीज्युले नै निःशुल्क उपचार गरिन्छ भन्ने वचनबद्धता व्यक्त गर्नुभएको छ। यसखालको वचनबद्धता गरिरहँदा कति सय वा हजारजनालाई उपचार गर्ने कल्पना गरिएको छ ? भन्ने प्रश्न उठ््नु स्वाभाविक हो। सरकारी तहमा रहेका व्यक्तिको बुझाइमा केही कमी भएजस्तो लागिरहेको छ। कल्पनाशीलताको पनि कमी देख्छु। अमेरिकाजस्ता मुलुकसमेत अत्तालिएको अवस्था छ। म चाहन्छु– कोरोना भाइरस नेपालमा नछिरोस्।

कोरोना भाइरसको संक्रमणको जोगिन व्यक्तिगत तहमा पूर्वसावधानी कसरी अपनाउने ?

भीडभाडमा जानु हुँदैन। अहिले नै सार्वजनिक कार्यक्रम, विद्यालय, सिनेमा हललगायत बढी भीडभाड हुने स्थल बन्द भइसकेका छन्। यसले पनि जोखिमको स्केल न्यून गर्न सघाउँछ। साबुनपानीले नियमित हात धुनुपर्छ। सेनिटाइजरको उपयोग गर्न सकिन्छ। हाच्छ््युँ गर्दा वा खोक्दा विचार गर्नुपर्छ। अरूलाई नपरोस् भनेर हेक्का राख्नुपर्छ। खोकी लागेको छ वा अन्य लक्षण देखिएको छ भने मास्क प्रयोग गर्नुपर्छ। अरूले खोकिरहेको ठाउँमा जानु हुँदैन। अस्पतालमा पनि अनावश्यक रूपमा जानु हुँदैन। परिवारमा कुनै एकजनामा लक्षण देखिएको छ भने परिवारका सदस्यले सावधानी अपनाउनुपर्छ।

धेरैका छोराछोरी कोही विकसित मुलुकमा छन् भने कोही खाडीमा कार्यरत छन्। घरमा ज्येष्ठ नागरिक मात्र रहेको अवस्था छ। यसमा समुदायले सहयोग गर्नुपर्छ। ज्येष्ठ नागरिकलाई भीडभाडमा जानबाट जोगाउनुपर्छ। छिमेकी वा समुदायका सचेत व्यक्तिले तरकारी, औषधिलगायत अत्यावश्यक वस्तु खरिद गरी ल्याइदिएर सहयोग गर्न सक्नुहुन्छ। अहिलेको समय त नेपाली समुदायमा देखिएको सहिष्णुता र सहयोगी भावनाको परीक्षा हो। सरकार एवं नीतिनिर्माण तहको भूमिका अस्पताललाई संक्रमणमुक्त राख्ने र जनताको हित एवं स्वास्थ्यको रक्षा गर्ने नै हो।

नेपालमा सेल्फ क्वारेन्टाइनको उपयोगिता कस्तो छ ? कार्यान्वयन चुनौती के–के छन् ?

संक्रामक रोग लागेको शंका भएको हुन सक्ने शंका भएको तर पुष्टि नभइसकेको अवस्थामा रोगको लक्षण देखिन्छ कि भनेर छुट्टै राख्ने कार्य क्वारेन्टाइन हो। लक्षण देखिएको अवस्थामा तुरुन्तै उपचार गर्न सकियोस् र अरूलाई नसरोस् भन्ने उद्देश्यले अलग राख्ने व्यवस्थालाई नै क्वारेन्टाइनका रूपमा लिइन्छ। संक्रामक जीवाणु शरीरभित्र छ

भनेर पुष्टि भइसकेको अवस्थामा उपचारका लागि आइसोलेसनमा राखिन्छ। सीमित साधनस्रोत भएको मुलुकमा सामान्य लक्षण भएका सबै व्यक्तिलाई अस्पताल भर्ना गर्न सम्भव हुँदैन। अस्पतालमा बेडसमेत अपुग हुन सक्छ। समुदायमा घुमफिर गरेर अरूलाई भाइरस सार्ने पनि गर्नुभएन। त्यसैले अनुशासित रूपमा घरमा बस्ने र आफैं अनुगमन गर्ने कार्य नै सेल्फ क्वारेन्टाइन हो।

हामो मुलुकमा सेल्फ क्वारेन्टाइनमा बसेको व्यक्तिको अनुगमन कसले गर्छ ? त्यो संयन्त्र मैले देखेको छैन। सेल्फ क्वारेन्टाइनमा बसेको छ भने खाना कसले ल्याइदिन्छ ?

दशौं हजारलाई संक्रमण भएको अवस्थामा सरकारले सबैका घरघरमा खान लगेर जान सक्दैन। त्यस्तो बेला सामाजिक स्वयंसेवकको नेटवर्कको आवश्यकता पर्छ।

यस खालको विषम परिस्थितिमा नागरिक समाजले कस्तो भूमिका निर्वाह गर्न सक्छ ?

जनचेतना बढाएर एवं सामाजिक उत्तरदायित्व बहन गरेर भूमिका निर्वाह गर्न सक्छ। अनावश्यक भेला, भोजभतेर नगरौं भनेर चेतना फैलाउन सक्छ। स्वयंसेवकको नेटवर्क बनाएर सहयोग गर्ने परिपाटी विकास गर्न सकिन्छ। सेल्फ क्वारेन्टाइनको निर्माणमा नागरिक समाजले पनि प्रभावकारी भूमिका निर्वाह गर्न सक्छ।

जनतालाई सुसूचित गराउन सरकारले गरिरहेको प्रयासमा थप केकस्ता उपाय अपनाउनुपर्ने खाँचो देखिन्छ ?

पत्रपत्रिका नपढ्ने, टेलिभिजन नहेर्ने, रेडियो नसुन्ने वर्ग पनि छ। सामाजिक सञ्जाल नहेर्ने अदृश्य जमात पनि छ। यस्तो वर्ग सायद बहुमतमा होला। अधिकांशको मातृभाषा नेपाली नहुन सक्छ। उनीहरूको आफ्नै मातृभाषामा पनि सिकाउनुपर्ने आवश्यकता देखिन्छ। यसका लागि मन्त्रालयको वेबसाइटमा अपिल गरेर वा प्रमुख जिल्ला अधिकारीले सदरमुकाममा कार्यक्रम गरेर हुँदैन। यसका लागि गाउँगाउँमा रहेको महिला स्वास्थ्य स्वयंसेविकाको नेटवर्कलाई सक्रिय पार्नुपर्छ। आमा समूहलाई पनि परिचालन गर्न सक्छ। टोलटोलमा जानकारी दिन जनशक्ति परिचालन गर्ने काम सरकारले गर्नुपर्छ। विभिन्न भाषामा सन्देशमूलक प्रचार सामग्री बनाउनुपर्छ।


ताजा खबर