निजामती अस्पतालको क्वारेन्टिनमा काम गर्ने स्वास्थ्यकर्मीलाई दुर्व्यवहार

बानेश्वरको निजामती कर्मचारी अस्पतालले क्वारेन्टिनमा काम गरिरहेका स्वास्थ्यकर्मीलाई स्थानीयले मानसिक तनाव हुने गतिविधि गरेको भन्दै स्थानीयसँग समन्वय गराइदिन वडा अध्यक्षलाई अनुरोध गरेको छ।

अस्पतालले महानगरको वडा नम्बर ३१ का वडाअध्यक्षलाई पत्र लेखेर मध्यबानेश्वरको मिलनचोकस्थित लर्डबुद्ध बोईज होस्टलमा स्थानीयले घेराउ गरेर क्वारेन्टिनमा रहेका स्वास्थ्यकर्मीलाई मानसिक तनाव हुने खालका गतिविधि गरेको र सो क्षेत्रका स्थानीयबासीसँग समन्वय गराउन अनुरोध गरेको हो।

उक्त होस्टललाई जिल्ला प्रशासन कार्यलय काठमाडौंको समन्वयमा निजामती कर्मचारी अस्पतालको स्टाफ बस्ने क्वारेन्टिन बनाएको अस्पतालले जनाएको छ।

हामीलाई ‘बचाउने’ स्वास्थ्यकर्मीमाथि किन छुद्र व्यवहार ?

त्यही अनुसार होस्टलमा निजामति अस्पतालका स्वास्थ्यकर्मीहरू बसिरहेका थिए। आज बिहान स्थानीयले होस्टलमा स्वास्थ्यकर्मी नराख्न भनेर होस्टल भएको घर घेराउ गरेका थिए। “होस्टललाई क्वारेन्टिन बनाएको जानकारी छैन,” वडाअध्यक्ष नारायण प्रसाद भण्डारीले भने “अस्पताल र प्रशासन कार्यलयले जानकारी नदिई होस्टललाई क्वारेन्टिन बनाइएको रहेछ।”

उनले सफल नेपालसँग  भने “मेरो वडामा क्वारेन्टिन बनाएको कुरा मलाई जानकारी नै छैन। कसैलाई जानकारी नदिई क्वारेन्टिन बनाउँदा यस्तो घटना हुन पुग्यो।”

भण्डारीले भने “कम्तिमा मलाई जानकारी भएको भए अगाडि नै मैले स्थानीयसँग समन्वय गर्न सक्थेँ। एक्कासी आएर बस्दा स्थानीय आतंकित भएर यस्तो भएको हो।”

अहिलेसम्म पनि अस्पतालले पठाएको पत्र प्राप्त नभएको उनले बताए। वडाअध्यक्षको हैसियतले चासो लिएर बुझिरहेको र भोली स्थानीयसँग छलफल गर्ने तयारी गरेको उनले बताए।


ताजा खबर