सरला गौतमको उपन्यास ‘डुमेरो’ सार्वजनिक

नेपालय पब्लिकेसनले सरला गौतमको उपन्यास ‘डुमेरो’ सार्वजनिक गरेको छ। यो उपन्यासले सानो शहरमा हुर्किएकी एउटी किशोरीले ठूलो संसारमा प्रवेश गर्दैगर्दा पहिचान खोज्दाको कथानकलाई अंगालेको छ।

गौतमले पत्रकारिताबाट आफ्नो लेखकीय जीवन आरम्भ गेरकी हुन्। वर्षौंदेखि उनले आफूलाई सामाजिक सरोकारमा मुखरित हुने आलोचनात्मक टिप्पणीकारको रुपमा स्थापित गरेकी छिन्। अखबारका स्तम्भमा उनी सामाजिक र राजनैतिक मुद्दाहरूमाथि केन्द्रित रहेर अभिव्यक्त हुने गर्छिन् जसलाई पाठकहरूले निकै रुचाउने गर्छन्। यो उपन्यास उनको पहिलो साहित्यिक कृति हो।

पुस्तकको शैलीको बारेमा बोल्दै नेपालयकी भूषिता वशिष्ठ भन्छिन् ”गौतमले पात्रहरूका सशक्तिकरण, पहिचान र बद्लिँदा सम्बन्धहरू सरल र चलनचल्तीको भाषामा उधिन्छिन। गौतमको शैली निडर, बेलगाम र समसामयिक छ। यो पुस्तकले नेपालयको आख्यान प्रकाशनमा विविधता ल्याउने प्रतिबद्धतालाई पनि उजागर गरेको छ।”

शीर्षक ‘डुमेरो’ आफैमा नौलो शब्द छ। कुनै गन्तब्यविहीन यात्रामा निस्किएको घुमन्ते अन्वेषकको अर्थ राख्ने यो शब्दले एकैसाथ अनेक प्रतीकात्मक अर्थ बोक्छ।

महामारीलगत्तै बजारमा आएको किताबले अरूबेला झैं प्रकाशन जगतलाई सन्तुष्ट पार्नेमा विश्वस्त रहेकी नेपालयकी सैजन मास्के भन्छिन्, “समय साँच्चै चुनौतीपूर्ण छ, तर हाम्रो अघिल्लो प्रकाशन भूवन ढुंगानाको ’परित्यक्ता’ले बन्दाबन्दीका बाबजूद तुलनात्मक रुपमा निकै राम्रो परिमाणमा स्वीकृति पायो। यो पुस्तकलाई पनि नेपाली पुस्तक बजारले उत्साह थप्नेछ भन्नेमा हामी आशावादी छौं।”

नेपाली बजारको लागि ‘डुमेरो’ को मूल्य ४९५ रुपैयाँ निर्धारण गरिएको छ, जुन देशका प्रमुख पुस्तक पसलहरूमा उपलब्ध हुने नेपालयले जनाएको छ।

नेपालयको अनुसार यसको ई-बुक प्रतिलिपि भने थुप्रै डट कम (thuprai.com) बाट किन्न सकिन्छ। साथै यो पुस्तक अनलाइन बिक्रेता अमेजनमार्फत् विश्वव्यापी रूपमा पनि उपलब्ध हुनेछ।


ताजा खबर