‘नेतृत्वमा पुग्न मिहनेत, निरन्तरता, योगदान र कार्य क्षमता सबै चाहिन्छ’

लायन इन्दु लम्साल लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालका निवर्तमान डिष्ट्रिक्ट गभर्नर हुनुहुन्छ । सन् २००२ मा लायनवादमा प्रवेश गर्नुभएकी लम्साल लायन्स क्लब अफ काठमाडौं, भृकुटीको संस्थापक अध्यक्ष (सन् २००६) हुँदै डिष्ट्रिक्टका महत्वपूर्ण पद सम्हाल्दै लायन वर्ष २०१९/२० मा डिष्ट्रिक्ट गभर्नर भई आफ्नो सफल कार्यकाल पूरा गर्नुभएको छ । वहाँले विश्व लायन्स इतिहासमा उत्कृष्ट कार्य गरेवापत ‘एम्बास्डर अफ गुडविल’ अवार्ड हात पार्न सफल हुनुभएको छ । प्रस्तुत छ, लम्सालसँगको  सफल कुराकानीको सम्पादित अंश: 

लायनवादमा कहिले प्रवेश गर्नुभयो र किन?
➢ म लायन सदस्य बनेको सन् २००२ तिर हो । अहिले झण्डै दुई दशक हुन लागेछ । लायन्सका माध्यमबाट समाजमा योगदान दिन सकिने देखेर नै लायनवादमा प्रवेश गरेकी हुँ । यसले नेतृत्व विकासको अवसर र आपसी भाईचाराको सम्बन्धको निर्माणमा समेत महत्वपूर्ण भूमिका खेलेको महशुस गरेकी छु ।

लायन्स प्रवेश गर्नुअघि र लायन्सको सर्वोच्व नेतृत्वमा पुगेपछि लायन्स प्रतिको बुझाइमा के फरक पाउनुभयो ?
➢ लायनबारे जे सुनेकी र पढेकी थिएँ, त्यही नै पाएँ, सुन्नु, पढ्नु र नेतृत्वमा पुग्दा गरिने अनुभवमा केही न केही फरक अवश्य हुन्छ । यस्तो फरक अनुभूति मेरो मात्र हुने होइन । नेतृत्वमा पुग्ने हरेक क्षेत्रका नेतृत्वकर्ता हुन्छ भन्ने मेरो निष्कर्ष छ ।

महिलाहरूको लायन्समा आकर्षण कस्तो छ ?
➢ लायन्स क्लबमा महिलाको आकर्षण अत्यन्तै सकारात्मक छ । सेवामूलक कार्य गर्दा, कार्यक्रममा सहभागिता जनाउँदा र दिइएको जिम्मेवारी सम्पादन गर्दाका अवस्थामा महिलाहरू जिम्मेवारीपूर्ण ढङ्गले प्रस्तुत भएको देख्छु । लायन्स क्लबमा महिला सदस्य थपिने क्रम पनि बढ्दो छ । यसले लायन्समा महिला आकर्षण सकारात्मक छ भन्ने कुराको पुष्टि गर्दछ ।

नेतृत्व र व्यक्तित्व विकास एवं समाज सेवाका लागि लायन्स नै जरुरी छ र ?
➢ अपरिहार्य छ भनेर त म भन्दिन । तथापि नेतृत्व र व्यक्तित्व विकास एवं समाज सेवाका लागि लायन्स क्लब एक उत्कृष्ट थलो हो ।

समग्र महिला नेतृत्वको विकासमा तगारो बनेको सबैभन्दा मूल कुरा के हो जस्तो लाग्छ ?
➢ महिला नेतृत्वको सवालमा कुनै पनि कुरा तगारो बन्छ जस्तो मलाई लाग्दैन । यद्यपि हाम्रो जस्तो मुलुकमा पितृसतात्मक सोंचमा केही परिवर्तन आउन जरुरी छ । यदि तगारो छ भने हामी महिलाकै सोंचमा छ, छ नि ! मैले नेतृत्व गर्न सक्दिन कि भन्ने आत्म विश्वासको कमी, घर र परिवारको जिम्मेवारी धेरै हुनु जस्ता सोंचले हामी महिलालाई बढी नै ग्रसित पारेको छ, यसबाट माथि उठ्नु जरुरी छ ।

तपाईंभन्दा पछि आउने महिला पुस्ताका लागि सबैभन्दा ठूलो चुनौती के हुनेछ ?
➢ चुनौती छ जस्तो मलाई लाग्दैन, बरु अवसरै अवसर छ । बिस्तारै समाज परिवर्तन हुँदैछ, सोंचाईमा पनि परिवर्तन हुदैछ । महिलालाई अवसर दिनु पर्दछ भन्ने मूल्य र मान्यता स्थापित हुन थालेको छ । यसले महिलालाई चुनौतिलाई सामान्य तुल्याइ दिएको छ ।

लायन्सले समाजमा पारेको प्रभावसँग तपाई कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
➢ म अत्यन्त खुशी र सन्तुष्ट छु । आज समाज र राष्ट्रले अनुभूति गर्ने गरी लायन्सले कार्य गरिरहेका छन् । केही कुरामा हामी ब्राण्डिङ गरेर जानुपर्छ भनेर लागेका छौं । नेपालको सन्दर्भमा अहिले पनि लायन्स भनेपछि आँखासँग जोडिएको संस्था हो भनेर जो कोहीले अनुभूति गर्न सक्छन् । पछिल्लो समयमा आएर अहिले मुलुक कोभिड–१९ को माहामारी होस्, बाढ़ीपैह्रो वा केही बर्ष पहिलेको भू–कम्पको समय होस्, यस्ता विपत्तिका घडीमा लायन्सहरु समेत पीडित र प्रभावित भएका थिए । तथापि आफ्नो पीडाका बिच पनि लायन्सहरु अरुलाई सहयोग गर्न अघि सरेका थिए र अघि सर्दै पनि छन् । हामी सरकार पुग्न नसकेको ठाउँमा पनि पुगेका छौं मुलुकलाई विपत पर्दा उद्वारमा सहयोग जुटाउन पाँउदा अत्यन्त सन्तुष्टी मिलेको छ ।

लायनवादले दिएका अवसरलाई कसरी चित्रण गर्नुहुन्छ ?
➢ लायनवादले दिने अवसर भनेको समाजसेवा, नेतृत्व विकास र भाईचारा सम्बब्धको बिस्तार गर्ने अवसर हो । हाम्रो जस्तो विकासोन्मुख देशमा लायन्स अन्तर्राष्ट्रिय सञ्जालबाट थुप्रै सहयोग जुटाउन सकेका छौं र अझै थुप्रै सम्भावना छन् । यस्ता अवसरले हाम्रो पारिवारिक तथा सामाजिक जीवनलाई अझ बढी सुन्दर बनाउँछ ।

लायन्सको कार्यकाल भर्खर सक्नु भएको छ, लायन वर्ष २०१९/२० कस्तो रह्यो ?
➢ मेरो नेतृत्वमा रहेको लायन बर्ष २०१९÷२० अत्यन्त रङ्गीन, उत्साहजनक, सक्रिय, सफलतम र राष्ट्रको शान बढाउने ढंगका कार्य सम्पादन भएको म र मेरो टिमको निष्कर्ष छ । यो मेरो एकल प्रयासबाट मात्र होइन, यसको जस सम्पूर्ण टिमलाई नै जान्छ ।

लायन्स डिस्ट्रिक्ट ३२५ बी १ नेपाललाई विश्वमा नै सर्वोत्कृष्ट डिस्ट्रिक्ट गभर्नरका साथै उत्कृष्ट डिष्ट्रिक्ट बनाउन सफल हुनुभयो, तपाईंको कार्यकालमा भएका उल्लेख्य कार्य के–के थिए?
➢ १०४ वर्षे संसारको लायनवादको इतिहासमा १२० वटा नयाँ लायन्स क्लब स्थापना गरेर विश्व रेकर्ड कायम गर्नु, शिप मुलक कार्यक्रम अन्तर्गत ३ हजार ३ सय ५० भन्दा बढी युवा तथा महिलालाई सीप र तालिमको अवसर सिर्जना गर्नु, यो वर्ष संसारमा सबैभन्दा बढी सदस्यता बृद्धी गर्ने डिस्ट्रिक्टका रुपमा स्थापित हुनु, लायन्सको आफनै गुठी नेपाल लायन्स फाउण्डेसनमा ३४ लाख भन्दा बढी रकम जम्मा गर्नु, पढाऊँ अभियानमा १४ लाख भन्दा बढी रकम जम्मा गर्नु, ६५ जना लायन्सले एमजेएफ/पिएमजेएफ योगदान गर्नु, त्रिभुवन विश्वबिद्यालयकाृ हाताभित्र स्थापित रक्त संचार केन्द्रमा १२६ जनाले रु ३१ लाख ५० हजार को संस्थापक सदस्यता ग्रहण गर्नु, नारी सम्मान, १४४ जना क्लब अध्यक्षहरु नगरकोटका लायन्स लिडरसिप क्याम्पबाट दीक्षित हुनु, १७ वटा विद्यालयमा लायन्स मनाराम पुस्तकालय स्थापना गर्नु, क्षेत्रगत रुपमा वृत्ति विकास कार्यक्रमको आयोजना गर्नु, महिला गोष्ठीको आयोजना गर्नु, लायन्स अन्तर्राष्ट्रियबाट बाट ३ वटा अनुदान भित्र्याउनु, कोभिड–१९ का बेला प्रभावकारी ढङ्गले राहत तथा स्वास्थ सामाग्री वितरण गर्नु, भू–कम्पबाट क्षतिग्रस्त विद्यालयहरु निर्माण गरी समुदायलाई हस्तान्तरण गर्नु, ४७९ वटा लायन्स क्लबहरुले सम्पादन गरेका अनगिन्ती सामाजिक सेवाका कार्यहरु जस्ता कार्यले गर्दा लायन वर्ष २०१९/२० विश्वमा नै सर्वोत्कृष्ट डिष्ट्रिक्टका रुपमा स्थापित र सम्मानित हुन सफल भयौं ।

लायन्स अन्तर्राष्ट्रियबाट प्रदान गरिने सबैभन्दा ठूलो सम्मान हात पार्नु भएछ, कस्तो महशुश गर्नु भएको छ ? योे एम्बेसर अफ गुडविल अवार्ड भनेको के हो ?
➢ लायन्स अन्तर्राष्ट्रियबाट प्रदान गर्ने सबैभन्दा ठूलो सम्मान ‘एम्बास्डर अफ गुडविल अवार्ड’ प्राप्त गर्दा निकै खुसी लागेको छ,। लायन्स अन्तर्राष्ट्रियबाट प्रदान हुने सबैभन्दा ठूलो सम्मान डिष्ट्रिक्ट गभर्नरले प्राप्त गर्नु डिष्ट्रिक्ट र नेपालकै लागि गौरवको विषय भएकोले खुशीको सीमा नै रहेन । यो अवार्ड भनेको लायन्स अन्तरराष्ट्रियले आफ्ना सदस्यलाई प्रदान गर्ने सर्वोत्कृष्ट (सब भन्दा ठूलो) सम्मान हो ।
एक बर्षे कार्यकालमा धेरै क्लब खोल्ने र सदस्यता बढ़ाएका कारण गभर्नरले लायन्स अन्तराष्ट्रियबाट अवार्ड हात

पार्ने तर खोलिएका क्लबको गुणस्तरमा ध्यान दिईदैन भन्ने आरोप के सत्य हो ?
➢ क्लब खोल्नु र सदस्यता वृद्धि गर्नु नियमित कार्य नै हुन् । आफू संलग्न रहेको संस्था बलियो होस्, धेरै समाजसेवी यसमा आवद्ध होउन् भन्ने चाहना राख्नु सकारात्मक कुरा नै हुन् । जति धेरै समाजसेवी हातहरु थपिन्छन्, उति नै धेरै सेवा कार्य बढ्ने हो, बढ्छ पनि । फेरी नयाँ लायन्स क्लब स्पोन्सर गर्ने डिष्ट्रिक्टले त होइन, क्लब ले हो । डिस्ट्रिक्टले त केवल उत्प्रृरणा मात्र गर्न सक्छ । विना ओरेन्टेशन हामी क्लब स्पोन्सर गर्दैनांै । लायन्स के हो, यसमा किन लाग्ने, लाग्दाका फाइदा, अनि बेफाइदा के के छन् ? सबै कुरा प्रस्ट पारेर मात्र आमन्त्रण गर्दछौं । त्यसैले गुणस्तरमा ध्यान दिइदैन भन्ने आरोप सत्य छैन, अवार्ड त सन्जोग मात्र हो ।

लायन्सद्वारा सञ्चालित अभियान के हुन् र गर्ने गतिविधिहरुको मुख्य स्रोत बारे खुलाइ दिनोस् न ।
➢ शिक्षा, स्वास्थ, जनचेतना र पर्यावरण आदि क्षेत्रहरु सञ्चालन गरिने अभियान नै लायन्सका मुख्य गतिविधि र कार्यहरु हुन् । यसको श्रोत स्थानीय जनता, समुदाय, संघ संस्थाको सहयोग, लायन्स क्लबका सदस्यका सहयोग र लायन्स अन्तर्राष्ट्रियले प्रदान गर्ने अनुदानहरु नै हुन ।

डिष्ट्रिक्ट ३२५ बी १ को विवाद छ भन्ने सुनिन्छ, के त्यो विवाद साम्य भएकै हो ?
➢ डिष्ट्रिक्ट ३२५ बी १ मा कुनै विवाद छ जस्तो मलाई लाग्दैन । नेतृत्व चयनका लागि हुने प्रजातान्त्रिक अभ्यासलाई विवाद मान्नु हँुदैन । यहाँले भने जस्तै विवाद मान्ने हो भने पनि, यो वर्ष नेतृत्व चयनका लागि हुने द्वितीय भाईस डिष्ट्रिक्ट गर्भनरको निर्वाचनलाई पनि हामीले सहमतिमा टुंग्याएका छौँ, समग्र लायन्समा खुशीको रौनक छाएको छ । द्वितीय भाईस डिष्ट्रिक्ट गर्भनरका लागि अब २,४ वर्ष प्रतिस्पर्धा हँुदैन जस्तो लाग्दछ ।

प्रतिस्पर्धामा रहेकालाई काँखी च्यापेर अरुलाई पाखा पारियो आरोप छ नि, यसको वास्तविकता के हो ?
➢ त्यस्तो बिल्कुल भएको छैन । समग्र लायन्स डिस्ट्रिक्ट ३२५ बी १ मा खुशीयाली छाएको छ, प्रायः सबै समेटिनु भएको छ । संसारको सबैभन्दा ठूलो डिष्ट्रिक्ट पर्यो हजुर हाम्रो । अब ठूलो संगठन भएपछि सबैको चित्त त कहाँ बुझ्छ र ? समग्रमा हो हेर्ने हो र धारणा बनाउने हो । संस्थाको हितमा सकारात्मक भएर काम गर्ने व्यक्ति कहिलै पछि पर्दैन, संस्थाको अहित हुने कार्य गर्ने, विरोध मात्र गर्ने, कहिलै सकारात्मक हुन नजान्नेहरुका लागि कुनै पनि गभर्नरले स्थान दिन्छ जस्तो मलाई लाग्दैन । काम गर्ने अवसर पाउँछ, कुरा मात्र गर्नेहरु कुरामा नै व्यस्त हुन्छन् । तसर्थ बाहिर सुनिएका हल्ला निराधार हुन् ।

नेपालको लाईनिजमको पछिल्लो अवस्था के छ ?
➢ नेपालको लायनिजमको पछिल्लो अवस्था अत्यन्त सकारात्मक छ । सन् २०१५ मा हामीले लायन्स अन्र्तराष्ट्रियको बोर्डमा प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्यौं । सदस्यता वृद्धि, क्लब वृद्धि, सेवा कार्यमा गुणात्मक वृद्धि भएको छ । लायन्स अन्र्तराष्ट्रियमा हामीले पेश गरेका प्राय सबै अनुदानका निवेदन स्वीकृत भएका छन, अनुदानहरु पनि भित्रेका छन् ।

विगतका वर्षहरूदेखि नेपालमा लायनवादको विकासको गति अत्यन्तै तीव्र रहेको पाइन्छ डिष्ट्रिक्ट बाईफुर्गेशनको कुरा कहाँ सम्म पुग्यो, कुन चिजले अड़काई राखेको छ ?
➢ हो, यहाँले भने जस्तै नेपालमा लायनवादको सांगठानिक अवस्था निकै ठूलो र विशाल भएको छ । करिब ३३ हजार लायन्स सदस्य र १ हजार ४ सय वटा लायन्स क्लब भएका छन् । गत वर्ष नै रिडिष्ट्रिंगको प्रकृया अगाडि बढाउन खोजेका थियौं । अन्य डिष्ट्रिक्टको पूर्ण तयारीको कमीले त्यो प्रकृया अगाडि बढ्न सकेन । यो वर्ष सबै ४ वटै डिष्ट्रिक्टको नेतृत्व रिडिष्ट्रिंगको प्रकृया अगाडि बढाउन पर्दछ भन्ने जमर्कोका साथ जुटेको छ । हाम्रो डिष्ट्रिक्टका डिस्ट्रिक्ट गभर्नर मन बहादुर रोकाज्यूले मेरै संयोजकत्वमा रिडिष्ट्रिंग कमिटी समेत गठन गरिसक्नु भएको छ, अब यो प्रकृया अगाडि बढ्छ, कुनै चिजले अड़कदैन ।

सेवा प्रदायक समाजिक संस्थामा सबैभन्दा ठूलो र फैलिदै गएको संस्थाको रूपमा लायनवादलाई नै अगाडि देखिन्छ । पछिल्लो समयमा लायन्समा नेतृत्वका लागि अस्वस्थ प्रतिस्पर्धा निकै बढेको देखिन्छ, सामाजिक

सेवाभावले लाग्ने यो संस्थामा किन नेतृत्व हत्याउन यस्तो लुछाचुँडी ?
➢ संगठन ठूलो भएपछि नेतृत्वमा आउन चाहने हरुको संख्या अधिक हुनु स्वभाविक र सकारात्मक कुरा हो । नेतृत्वमा जान गरिएको प्रयासलाई लुछाचुँडीका रुपमा बुझ्नु हुँदैन । यद्यपि मिलेसम्म सहमतिमै नेतृत्व चयन गर्ने प्रयास गरिन्छ । अन्यथा स्वस्थ प्रतिस्पर्धा हुनु स्वाभाविक कुरा हो ।

लायन्समा लाग्नेको सदस्यता वापतको मोटो रकम बिदेसिने गरेको छ तर त्यसको प्रतिफल पाउन नसकेको भनिन्छ नि ?
➢ लायन्स क्लबमा प्रतिफल पाउनका लागि सदस्यता लिने होइन । सेवा गर्नका लागि हो, आँफूसँग भएको सीप, क्षमता र स्रोत दिन–दुखीका निमित्त समर्पण गर्न हामी लायन्स क्लबको सदस्य बन्ने हो । सदस्यता वापत बुझाएको लेविको प्रतिफल रकममै किमार्थ पाइदैन । त्यो आत्म सन्तुष्टबाट प्राप्त हुने कुरा हो । पैसाको हिसाब गर्नेले त सदस्यता नलिए भै गो नि ! कर त कसैले लगाउन सक्दैन नि । जति रकम नेपाली लायन्सहरुले सदस्यता वापत बुझाएका छन्, त्यो भन्दा बढी रकम नेपाली माटोमा अनुदानका रुपमा भित्रिएको भने पक्कै छ । हामी गएको मात्र देख्छौं, आएको हिसाब राख्दैनौं ।

शुद्ध सामाजिक सेवाभावले लायन्समा लागेकालाई वितृष्णा बढेको सुनिन्छ, के यो सत्य हो ?
➢ यस्तो कुरा कदापी होइन । मैले त वितृष्णा बढेको सुनेको छैन, बरु उत्साहीत भएर सामाजिक कार्यमा सरिक भएको देखेको, भोगेको छु ।

लायन्स क्लब र सदस्यहरूको संख्यात्मक वृद्धि धेरै भएको छ, ड्रप पनि त्यहि मात्रामा देखिन्छ, सदस्यता बढ्नुको र छोड़नुको कारण ?
➢ हो, पछिल्लो समयमा लायन्स क्लबमा सदस्यहरूको वृद्धिसंगै ड्रप पनि धेरै देखिन्छ । नेपालमा मात्र यस्तो हैन, संसारभर यस्तो क्रम जारी छ । मैले लायनवाद प्रवेश गर्दा (सन् २००२ तिर) संसारभर करिब १४ लाख सदस्य छन् र नेपालमा करिव ३ हजार ५ सय सदस्य छन् भन्ने सुनेको थिए । आज पनि संसारको लायनवादमा त्यै १४ लाखकै हाराहारीमा सदस्य छन्, बरु नेपालमा ३३ हजार पुग्यो । सदस्यता बढ्नुको कारण लायन्स क्लबले गरेका राम्रो कामप्रतिको आकर्षण र समाज सेवामा समर्पित हुने दृढता भएर नै हो । सदस्यता छोड़नुको कारण धेरै हुन सक्दछ । जस्तो कि, सदस्यले सोचे जस्तो नभएर, समय र प्राथमिकता अन्यतिर बढी भएर, क्लब बाट रेखदेख नपुगेर आदि आदि ।

व्यक्तिगत मात्र नभई लायन्सको माध्यमबाट पनि धेरै देशको भ्रमण गर्नुभएको छ, लायन्समा लागेकाको काम गर्ने शैली र त्यहाँको समाजको स्वीकृति कस्तो पाउनुभयो ?
➢ हाम्रो देशका लायन्सले गर्ने समाज सेवा र बिकसित मुलुकका लायन्सले गर्ने समाज सेवामा धेरै ठूलो भिन्नता छ । हाम्रो देशका लायन्सले जनताको न्यूनतम आवश्यकताका निमित्त सहयोग गरिरहेका छौँ, जस्तो कि शिक्षा र स्वास्थ्य यसको ज्वलन्त उदाहरण हुन् । किन भने सरकारले नै न्यूनतम आवश्यकताका पुरा गर्न सकेको छैन । विकसित मुलुकका लायन्सले न्यूनतम आवश्यकताका भन्दा माथि उठेर सेवा गरेका छन् । जहाँ जे आवश्यकता छ, त्यो क्षेत्रमा कार्य गर्नु नै (जहाँ बावश्यकता त्यहाँ लायन्स) लायन्सको उद्देश्य हो, त्यसैले समाजले सोही अनुसारको रेस्पोन्स वा स्वीकृति गर्नु स्वभाविक हो ।

लायन्सले सेवाभाव लिएर काम गर्नेहरूको संस्था हो भनेर बुझाउन नसकेकै हो र?
➢ केही हदसम्म होला । हामी जति प्रचारमुखी हुनु पर्ने हो ,त्यति हुन सकेका छैनौं । लायन्सहरु काम गर्छन्, प्रचार प्रसार कम गर्छन् । त्यसैले पवित्र सेवाभाव लिएर काम गर्नेहरूको संस्था लायन्स क्लब हो भनेर धेरै जनतालाई सुसुचित गर्न सायद सकेका छैनौ । तर जतिले लायन्स क्लब भन्ने सुनेका छन्, प्राय सबैलाई सेवा कार्य गर्ने सामाजिक संस्था हो भन्ने जानकारी छ ।

सामाजिक सेवाको क्षेत्रमा लायन्सले कस्तो भूमिका खेलेको छ, अन्य सामाजिक संस्था र लायन्समा के फरक छ ?
➢ सामाजिक सेवाको क्षेत्रमा लायन्स क्लबको पृथक एबं उत्कृष्ट भूमिका छ । संसारकै सर्वाधिक ठूलो र उत्कृष्ट सामाजिक संस्थाका रुपमा आफ्नो परिचय स्थापित गरेको छ । संयुक्त राष्ट्रसंघको चार्टर ड्राफट ऋजबचतभच मचबात गर्ने सौभाग्यशाली इतिहास बोकेको लायन्स क्लबले आज “जहाँ आवश्यकता त्यहाँ लायन्स” भन्ने मूल्य र मान्यता विकास गर्न सफल भएको छ । नेपालमा पनि लायन्स क्लबको भूमिका सोही अनुसार नै अत्यन्त राम्रो छ । सेवा, नेतृत्व विकास र भाइचारा सम्बन्धको अभिवृद्धि लायन्स क्लबका मुख्य ३ वटा क्षेत्र हुन् । यसरी ३ वटै क्षेत्रलाई प्राथमिकतामा राखेर अन्य सामाजिक संस्था अगाडि बढेका छन् जस्तो मलाई लाग्दैन । सायद त्यसैले होला, संसारमै लायन्स क्लबको भूमिका उत्कृष्ट भएको ।

तपाईको कार्यकालमा बि १ नेपालले बनाएका र योजनाहरु के के थिए र पछिका नेतृत्वले कुनकुन योजनालाई निरन्तरता दिए हुँथ्यो भन्ने लाग्छ ?
➢ मेरो कार्यकालमा माथि उल्लेख गरेका धेरै कार्यक्रमका अलावा मुख्य कार्यक्रमका रुपमा राईज टु ईम्पावरका थिम अन्तर्गत विशेष गरी युवा र महिलालाई सीप र तालिम सिकाएर स्वदेशमै रोजगारी वा आय आर्जनको वातावरण सिर्जना गर्नु रहेको थियो । केही हदसम्म हामीले सुरुवात गर्ने जमर्को गरियो । आगामी वर्षहरुमा पनि यी र यस्ता कार्यहरु गर्नु जरुरी छ जस्तो मलाई लाग्दछ ।

नेपालमा लायनवादमा लाग्नु भएका धेरै हुनुहुन्छ, यसबाट गैरलायन्सहरूले के सिकुन भन्ने चाहनुभएको छ ?
➢ सामाजिक संस्थामा लाग्ने भनेको समाज सेवा गर्न कै लागि हो । जसको जति क्षमता र साधन स्रोत छ त्यतिकै अनुपातमा लाग्ने हो, यान कि जे सकिन्छ त्यो गर्ने हो । आ–आफ्नो गच्छअनुसार सकेको समाज सेवामा जुट्न सबैलाई आग्रह गर्दछु ।

एक वर्षे कार्यकाल रहने यस संस्थामा पछिल्लो समयमा नेतृत्वका लागि अस्वस्थ प्रतिस्पर्धाका साथै भोज भतेरमा ठूलो धनराशि खर्चेको देखिन्छ, के छ र यसमा ?
➢ नेतृत्व चयन २ किसिमबाट हुन्छ । पहिलो सर्वसम्मत तरिकाबा चुन्ने र अर्को प्रजातान्त्रिक प्रतिस्पर्धाबाट । प्रजातान्त्रिक प्रतिस्पर्धा गर्दा अस्वस्थ प्रतिस्पर्धा गर्नु गराउनु भएन । प्रतिस्पर्धा गर्दा केही खर्च त हुन्छ नै, अस्वाभाविक तडक भडकलाई कसैले राम्रो मान्दैन । व्यक्तिको मिहनेत, लगनशिलता, योगदान र कार्यक्षमताको अवस्य मूल्यांकन जहाँ पनि हुन्छ, कार्यकर्ताले त्यसैको कदर गर्ने हुन् । भोज भतेर, अस्वाभाविक धनराशीको तडक भडकले चुनाब जितिने सम्भावन कम हुन्छ । अहिले नबुझ्ने कोही हुदैन । अर्थात् बुझ्ने मान्छे बिक्दैन ।

लायनवादमा लाग्ने धेरै जसो व्यापार व्यवसायमा संलग्न हुनुहुन्छ, लायनवादको अभियानमा जोडिँदा यसले लायन्स अभियानलाई प्रवद्र्धन गर्न कस्तो सहयोग गरेको पाँउनु भएको छ ?
➢ स्वभाविक कुरा हरु हुन् । लायनवादको अभियानमा जोडिँदा यसले व्यापार व्यवसायलाई प्रवद्र्धन गर्न केही न केही सहयोग गरेको हुन्छ । त्यसै गरी व्यापार व्यवसायमा लागेको कारणले लायन्स अभियानलाई प्रवद्र्धन गर्न ठुलो सहयोग गरेको हुन्छ । व्यापार व्यवसाय बाट २,४ पैसा जोगाएर त समाज सेवा गर्ने हो, न कमाई कताबाट खर्च गर्नु ?

डिस्ट्रिक्टमा महत्वपूर्ण पद लिनका लागि अग्रज लायनहरू लालयित धेरै देखिन्छन्, अवसर नयाँले मात्र पाएका छन् भन्ने सुनिन्छ, खास कुरा के हो ?
➢ लायन्समा मात्र हैन, हरेक सामाजिक संस्थाको नेतृत्वमा पुग्नको लागि मिहनेत, निरन्तरता, योगदान र कार्य क्षमताको आवश्यकता पर्दछ । पुरानो मात्र भएर भएन, निरन्तरता छ या छैन त्यसमा भर पर्दछ । पुरानो हुँ भन्ने तर अविरल योगदान र मिहनेत नगरेर पनि भएन । नयाँले मात्र अवसर पाएका छन् भन्ने मलाई लाग्दैन । मिहनेत, योगदान र कार्य क्षमता छ भने नेतृत्वमा पुग्नको लागि धेरै वर्ष कुर्ने पर्छ भन्नु पनि ठीक नहोला ।


ताजा खबर