‘सन्देश र विचार वाक्यका खानी राष्ट्रकविका कविता’

सम्पादकीय

राष्ट्रकवि माधवप्रसाद घिमिरेको भदौ २ गते मङ्गलबार निधन भएपछि राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि सम्पन्न भइसकेको छ । एक शताब्दीपूर्व १९७६ साल असोज ७ गते लमजुङ जिल्लाको पुस्तुनमा जन्मनुभएका उहाँले नेपाली साहित्यमा विशिष्ट योगदान दिनुभएको छ । साहित्यका प्रायः सबै विधामा कलम चलाउनुभएका उहाँ मूलतः खण्डकाव्य, फुटकर कविता र गीतमार्फत नेपालीबीच लोकप्रिय हुनुहुन्छ । नेपाली पद्य लेखनमा परिष्कार र स्वच्छन्दताको प्रयोगलाई चुचुरोमा पुर्याउन सफल मानिनुहुने उहाँले लेखनमा सङ्ख्यात्मकभन्दा गुणात्मक पक्षलाई प्रधानता दिनुभयो । प्रचारभन्दा प्रभावको वजनमा विश्वस्त हुनुभयो । सौन्दर्य लेखनका अजस्र स्रोत राष्ट्रकवि घिमिरेका कवितामा फगत सौन्दर्यमात्र होइन, सन्देश र विचार वाक्यका खानी नै भेटिन्छन् । कविता सौन्दर्यमात्र होइन सन्देश पनि हो भन्नेहरूलाई बल पु¥याउँदै राष्ट्रकवि घिमिरेले स्वदेशी स्वाभिमान, राष्ट्रिय एकता तथा सामाजिक मित्रताका लागि अथाह सन्देश प्रवाह गर्नुभएको छ । सामाजिक उत्पीडन र विभेदविरुद्ध तीक्ष्ण प्रहार गर्नुभएको छ । सामयिक चेतनाको मसीमा कलमको निब चोपेर लेख्नुहुने उहाँले वसुदैव कुटुम्बकम्को विश्वासलाई लेखनयात्राको सार बनाउनुभयो । माटोका गीत र कविता लेख्नुहुने उहाँले माटोको सुगन्ध र मुटुको स्पन्दनलाई संयोजन गर्नुभएको छ । त्यसैले उहाँ राष्ट्रकवि हुनुहुन्छ । शिर उचालेर राष्ट्रलाई कलम र सलाम अर्पण गर्ने रथि हुनुहन्छ । सारथि हुनुहुन्छ ।

निधनपछि उहाँप्रति श्रद्धाञ्जलिको ओइरो लागेको छ । पत्रकारिता, सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा उहाँप्रति व्यापक सम्मान व्यक्त गरिएको छ । बाँचुञ्जेल आम नेपालीको श्रद्धा र निर्वाणपछि यति धेरै श्रद्धाञ्जलि प्राप्त गर्न सक्नुभएका उहाँबाट धेरै शिक्षा सिक्न सकिनेछ – मानिसले श्रद्धा र श्रद्धाञ्जलि प्राप्त गर्न साधन होइन, साधना प्रयोग गर्नुपर्छ । सम्पूर्ण जीवनलाई नेपाली वाङ्मयको बारी गोडमेलमा खर्चनुभएका कवि घिमिरे एक सय एक वर्षको उमेरमा पनि भन्दै हुनुहुन्थ्यो– ‘क्यै काम नौलो नगरी नजाऊँ’ । सत्य साधना नै उहाँले चाहेको ऋतम्भरा पनि थियो सायद । यो काव्य दर्शन, विचार वाक्यले तमाम नेपाली युवा पुस्तालाई पे्ररित गर्नुपर्छ– साधनमा होइन साधनामा बाँच्नुपर्छ । बाँच्नुको सार्थकता निधनमा नाप्न सकिन्छ । कति बाँच्नु, कसरी बाँच्नु ? मरेपछि पनि बाँच्नेहरूका लागि मृत्यु खास घटना हुन सक्दैन । राष्ट्रकवि घिमिरे नेपाली माटो र मनमा बाँचिरहनुहुनेछ । लेखनमा जस्तै बचाइको कौशलमा पनि उहाँ अब्बल हुनुहुन्छ । शताब्दी आयुलाई उहाँले छन्दबद्ध, लयदार र गेय बनाउनुभयो । सुन्दर बनाउनुभयो ।

नेपाल सरकार र नागरिक समाजद्वारा राष्ट्रकवि घिमिरेलाई प्रदान गरिएको सम्मानले योगदानको कदर हुन्छ भनेर आगामी पुस्तालाई प्रेरणा दिएको छ । कवि घिमिरेले हृदयतः तथा औपचारिक धेरै सम्मान प्राप्त गर्नुभएको छ । घिमिरेलाई २०६० असोज ९ गते सरकारले राष्ट्रकविको उपाधि प्रदान गरेको थियो, यद्यपि यसअघि नै उहाँ नेपाली मात्रको मन, मस्तिष्कमा स्थापित भइसक्नुभएको थियो । यसैगरी २०७४ सालमा उहाँलाई नेपाली सेनाको मानार्थ सहायक रथिको उपाधिबाट सम्मान गरिएको थियो । नागरिकस्तरका विभिन्न पुरस्कार र सम्मानबाट विभूषित उहाँले कहिल्यै पुरस्कारलाई लेखकीय हेतु बनाउनुभएन । अहेतुकी साधना नै घिमिरेको चित्तवृत्ति अर्थात् ऋतम्भरा दर्शन हो । उहाँले थाल्नुभएको ऋतम्भरा महाकाव्यलगायत अन्य फुटकर रचनाको खोजी तथा प्रकाशन अबका पुस्ताको कार्यभार हो । पुस्तुनका घिमिरेलाई राष्ट्रकवि बनाउने उहाँका कालजयी कृतिको पुनःप्रकाशन, अप्रकाशित रचनाको खोजी तथा संरक्षण गरेर उहाँको योगदानलाई अझै उचाइमा पु¥याउन सक्दा उहाँप्रति व्यक्त गरिएको श्रद्धाञ्जलि अझ ठोस र वस्तुनिष्ठ हुनेछ ।

राष्ट्रिय सम्पदा हुनुको अर्थमा पनि राष्ट्रकविको शैशवकालीन आँगन थियो गोरखापत्र जहाँ उहाँले पहिलो कविता ‘ज्ञानपुष्प’ छपाएर साहित्यको बामे सर्नुभएको थियो । गोरखापत्र त्यसैले समाचारपत्र मात्र थिएन र होइन पनि । नेपाली साहित्यको विकास तथा पूर्वीय दर्शनको अभ्युत्थानमा गोरखापत्रले धेरै प्रतिभा जन्माएको छ । पूर्व गोरखापत्रकर्मी राष्ट्रकविमाथि गोरखापत्र गर्व गर्छ र पुनः भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको योगदानलाई चिरस्थायी गर्न सक्दो सहयोग गर्ने प्रण गर्दछ ।


ताजा खबर