कोभिड-१९ का कारण पाँच लाख नेपालीको वैदेशिक रोजगारी गुम्न सक्ने

कोभिड–१९ का कारण वैदेशिक रोजगारीमा रहेका करिब साढे पाँच लाख नेपालीले रोजगारी गुमाउनसक्ने आंकलन एक अध्ययनले गरेको छ।

काठमाडौंस्थित अनुसन्धान संस्था सोसल साइन्स बहाअन्तर्गतको सेन्टर फर द स्टडी अफ लेबर एण्ड मोबिलिटीको एक अध्ययन प्रतिवेदनले वैदेशिक रोजगारीमा रहेका करिब २० प्रतिशत नेपाली बेरोजगार हुने जोखिममा रहेको उल्लेख गरेको छ।

कोभिड–१९ र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार शीर्षकको अध्ययन प्रतिवेदनका अनुसार,  करिब २८ लाख १२ हजार  नेपाली वैदेशिक रोजगारीमा छन्। त्यसमध्ये २० प्रतिशत अर्थात ५ लाख ६२ हजारले रोजगारी गुमाउन सक्ने जोखिम छ। प्रतिवेदनले कोभिड–१९ को महामारीपश्चात उल्लेख संख्यामा वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारले रोजगारी गुमाएको, बेतलबी बिदामा बस्नुपरेको वा श्रम सम्झौताको अवधि अगाडि नै घर फर्कन दबाव परेको उल्लेख गरेको छ।

अध्ययनले रोजगारी गुमाउनेको परिवार थप गरिबीमा धकेलिन सक्ने र खाद्य सुरक्षाका हिसाबले जोखिममा पर्नेमा समेत सचेत गराएको छ।

प्रतिवेदनका अनुसार, वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमध्ये एकतिहाई भन्दा धेरै भारतमा छन्। भारतमा करिब १० लाख नेपाली कामदार कार्यरत छन्। नेपालमा करिब १५ लाखसम्म भारतीय कामदार रहेको निर्माण व्यवसायीहरुले बताउने गरेका छन्। तर, आधिकारिक तथ्यांक छैन।

त्यस्तै, मलेसियामा ४ लाख ६८ हजार, कतारमा ४ लाख ३६ हजार, साउदी अरबमा ३ लाख ५२ हजार तथा संयुक्त अरब इमिरेट्समा २ लाख २७ हजार नेपाली कामदार रहेको अनुमान गरिएको छ। यसमध्ये ठूलो संख्यामा वैदेशिक रोजगारीमा रहेका कामदार नेपाल फर्कनसक्ने अध्ययनको आंकलन छ।

अध्ययनले दैनिक १ हजार ५ नेपाली श्रमिकको श्रम स्वीकृतिको म्याद सकिइरहेको आंकडाका आधारमा पनि २ लाखभन्दा बढी नेपालीको श्रम स्वीकृतिको अवधि सकिएको र उनीहरु नेपाल फर्कनुपर्ने अवस्थामा रहेको अनुमान गरेको छ।

मानव अधिकार आयोगले गरेको ‘कोभिड–१९ को महामारीको चपेटामा नेपाली आप्रवासी श्रमिकहरुको अधिकार’ नामक अध्ययनले ८ लाख ९० हजार कामदार तत्काल नेपाल फर्कनसक्ने देखाएको छ। वैदेशिक रोजगार बोर्डले गत ७ वैशाखमा मानव अधिकार आयोगमा पठाएको विवरणका आधारमा यो संख्यामा वैदेशिक रोजगारीमा रहेका नेपाली फर्कनसक्ने अनुमान गरिएको हो।

नयाँ र पुन: गरी वैधानिक रुपमा श्रम स्वीकृति लिएर विदेशमा गएकामध्य ८ लाखले रोजगारी गुमाउनसक्ने आंकलन बोर्डले गरेको देखिएको छ। त्यस्तै, अध्ययन गर्न, पारिवारिक भेटघाट एवं श्रम स्वीकृति नलिई गएका करिब ७ लाख समेत फर्कनसक्ने अनुमान गरेको छ। यी सबै संख्या जोड्दा करिब विदेशमा रहेका १६ लाख नेपाली नेपाल फर्कन आतुर रहेको हुनसक्ने अनुमान छ।

तर, वैशाखयता श्रम गन्तव्य मुलुकहरुको अवस्था परिवर्तन भएको, कोभिड–१९ को रोकथामका प्रयास जारी रहेका कारण अनुमान गरिएजति नेपालीले रोजगारी गुमाउने अवस्था नभएको हुनसक्छ। सरकारले चार्टर्ड उडानमार्फत करिब ५१ हजार नेपालीलाई विदेशबाट ल्याइसकेको छ।
थप सामग्री : https://www.himalkhabar.com/news/117285


ताजा खबर