देउवाले विभागमा मनोनयन गरेकोमा सभापतिहरुको आपत्ति

नेपाली काँग्रेसका जिल्ला सभापतिले पार्टीको १४औँ महाधिवेशन घोषणा भइसकेका परिस्थितिमा पार्टीका विभिन्न विभागमा मनोनयन गर्नु हास्यास्पद भएको जनाएका छन् ।

काठमाडौँ उपत्यकामा उपलब्ध र अन्य माध्यमबाट सम्पर्कमा रहनुभएका काँग्रेसका जिल्ला सभापतिको बुधबार सम्पन्न बैठकले वर्तमान केन्द्रीय समितिलगायत सम्पूर्ण समितिले आफ्नो कार्यकालको अवधि पूरा गरिसकेका अवस्थामा विभागमा अवैधानिक एवं स्वेच्छाचारी ढङ्गले मनोनयन गरिएको आरोप लगाएको छ । बैठकले लामो समय कसैलाई पनि जिम्मेवारी नदिर्इ स्वेच्छाचारी तवरले सञ्चालन गरी महाधिवेशनको पूर्वसन्ध्यामा गठन भएका विभागलाई अमान्य ठहर गरेको काँग्रेस नुवाकोटका जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिनुभयो ।

बैठकले केन्द्रीय समितिको बहुमतले उल्टाएका महासमितिको निर्णय अक्षरशः पार्टीको १४औँ महाधिवेशनमा प्रस्तावका रूपमा अगाडि बढाउने निष्कर्षसमेत निकालेको उहाँले बताउनुभयो । जिल्ला सभापतिले पार्टीको कार्यविधिअनुसार समायोजन सम्पन्न भएका डडेल्धुरा, सिन्धुपाल्चोक, सोलुखुम्बुलगायत जिल्लामा विभिन्न बहानामा रोकिएको क्रियाशील सदस्यता फाराम तत्काल उपलब्ध गराउन माग गर्नुभएको छ ।

बैठकले विधानानुसार तत्काल कारवाही गरिनुपर्नेलाई नगरी महाधिवेशनको कार्यतालिका प्रकाशन भइसकेपछि प्रतिशोधका आधारमा कारवाही गरिएको जनाउँदै त्यस प्रकारका गतिविधि रोक्न नेतृत्वसँग आग्रह गरेको छ । साथै आसन्न १४औँ महाधिवेशनबाट आर्थिक पारदर्शिता, स्पष्ट राजनीतिक दृष्टिकोण, स्थानीय तहसम्मका मतदाताले प्रत्यक्ष अनुभूति गर्ने गरी भावी रणनीतिक योजनासहित नीति तथा नेतृत्व स्थापित गर्ने अभियानको घोषणासमेत गरिएको छ ।

यसैगरी पार्टी एकीकरण वा प्रवेश गर्ने समूह वा व्यक्तिका हकमा पार्टीको विधानानुसार पार्टीको तल्लो तहबाटै क्रियाशील सदस्यता दिने व्यवस्था सुनिश्चित गर्न जिल्ला सभापतिले माग गरेका छन् । बैठकले मुलुकमा भ्रष्टाचार, अनियमितता र कुशासन बढेको तथा कोरोना नियन्त्रण र व्यवस्थापनमा सरकारले प्रभावकारीरुपमा काम गर्न नसकेको आरोप लगाउँदै त्यसविरुद्ध सङ्घर्षमा उत्रन आवश्यक निर्णय र निर्देशनका लागि नेतृत्वसमक्ष आग्रहसमेत गरेको छ । रासस


ताजा खबर