रुसले बनाएको खोपबारे सर्बत्र चिन्ता : रुस भन्छ ‘चिन्ताहरू आधारहीन’

रुसले कोरोनाभाइरस सङ्क्रमणविरूद्ध बनाएको खोपको सुरक्षालाई लिएर अन्तर्राष्ट्रिय रूपमा चिन्ताहरू व्यक्त भइरहेका बेला उसले त्यस्ता चिन्ताहरूलाई “बिल्कुलै आधारहीन” भनेको छ।

रुसले मङ्गलवार देशको नियामक निकायले कोरोनाभाइरस सङ्क्रमणविरूद्ध रुसमै विकसित एउटा खोपलाई स्वीकृति प्रदान गरेको बताएको थियो।

उक्त खोप दुई महिनाभन्दा कम समय मात्रै मानिसहरूमा परीक्षण गरिएको थियो।

तर विज्ञहरूले रुसले यति चाँडै खोप बनाएकोप्रति सन्देह व्यक्त गरेका छन्।

त्यस्तो सन्देह व्यक्त गर्ने देशहरूको सङ्ख्या बढिरहेको छ।

जर्मनी, फ्रान्स, स्पेन र अमेरिका सबैले यो खोपलाई लिएर सतर्क रहन भनेका छन्।

त्यसपश्चात् बुधवार रुसका स्वास्थ्य मन्त्री मिखाइल मुराश्कोले रुसी समाचार एजेन्सी इन्टरफ्याक्ससँग भने, “यस्तो देखिदैछ कि हाम्रा विदेशी मित्रहरूलाई रुसी औषधि प्रतिस्पर्धामा अगाडि जाने कुराको फाइदाबारे जानकारी भयो र उनीहरू यस्तो कुरा गरिरहेका छन् जुन बिल्कुलै आधारहीन छ।”

उनले खोप चाँडै नै उपलब्ध हुने बताए। उनले आउँदो दुई सातामा खोपको पहिलो खेप आउने र त्यो सुरुमा चिकित्सकहरूलाई दिइने जानकारी दिए।

रुसी अधिकारीहरूले आगामी अक्टोबरदेखि ठूलो सङ्ख्यामा मानिसहरूमा खोप लगाउन सुरु गरिने योजना रहेको बताएका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलवार खोप बनेको घोषणा गरेका थिए।

उनले उक्त खोप प्रभावकारी भएको र त्यसले प्रतिरोध क्षमतालाई बलियो बनाएको दाबी गरेका थिए।

उनले आफ्नी एउटी छोरीलाई पनि उक्त खोप दिइएको बताए। बीबीसी


ताजा खबर