परोपकार प्रसूति अस्पतालमा पीसीआर प्रयोगशाला सञ्चालन

काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा कोभिड-१९ को परीक्षण शुरु भएको छ।

काठमाडौं महानगरपालिकाले पीसीआर मेशिन उपलब्ध गराएपछि अस्पतालमा परीक्षण शुरु भएको हो। अस्पतालको ६१ औं वार्षिकोत्सवको अवसरमा मंगलबार पीसीआर प्रयोगशालाको औपचारिक उद्घाटन गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पीसीआर प्रयोगशालाको उद्घाटन गरे।

महानगरपालिकाले पीसीआर मेशिन उपलब्ध गराएपछि अस्पतालले पीसीआर ल्याब निर्माण गरेर परीक्षण शुरु गरिएको अस्पतालकी निर्देशक संगीता कौशल मिश्राले बताइन्। महानगरले पीसीआर मेसिन सहित भीटीएम १ हजार ५०० थान, आरडीटी १ हजार ५०० थान र पीपीई ५०० थान उपलब्ध गराएको छ।

निर्देशक मिश्राले संक्रमणको महामारीको अवस्थामा अस्पतालभित्रै पीसीआर परीक्षण प्रयोगशाला स्थापना हुँदा विरामीको उपचारमा थप सहयोग पुग्ने बताइन्। अस्पतालले कोरोना संक्रमणको आशंका लागेका बिरामीलाई कुपण्डोलस्थित छुट्टै भवनमा आइसोलेसनमा राखेर उपचार गर्दै आएको थियो।   रासस


ताजा खबर