कोरोना संक्रमण दोहोरिनु चिन्ताजनक : स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नियन्त्रण भइसकेका ठाउँमा कोरोना भाइरस (कोभिड १९) दोहोरिनु चिन्ताजनक भएको बताउनुभएको छ ।

आज राजधानीमा आयोजित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालको ६१ औं वाषिर्कोत्सव कार्यक्रममा बोल्दै( मन्त्री ढकालले पछिल्ला दिनहरुमा वीरगन्ज, नेपालगन्ज, विराटनगर, उदयपुरलगायतका ठाउँमा संक्रमण झन् भयावह हुँदै जानु चिन्ताको विषय भएको बताउनुभयो ।
मन्त्रधी ढकालले नेपालमा संक्रमण दोहोरिने समस्या अन्य मुलुकको भन्दा फरक भएको समेत बताउनुभयो ।

साउन २५ देखि भदौ १५ गतेसम्म ३९ हजार संक्रमित हुने विज्ञहरुले प्रक्षेपण गरेको स्मरण गर्दै मन्त्री ढकालले सरकारको प्रयासले आंकलन गरिएकोभन्दा एक तिहाई घटाउन सरकार सफल भएको दाबी गर्नुभयो । जेठ २५ गते विज्ञहरुले तीब्र संक्रमण भए ९१ हजार र मध्यम भए ३९ हजार संक्रमित हुने प्रक्षेपण गरेका थिए ।

एकैदिन १० हजार ७ सय ८३ जनाको पीसीआर परीक्षण गर्दा २ सय २४ जनाको पोजेटिभ केस आएको तथ्यांक प्रस्तुत गर्दै मन्त्री ढकालले असार १९ गते ४ हजार ४ सय ८३ जनाको परीक्षण गर्दा ७ सय ४० पोजेटिभ देखिएकाले बढी परीक्षण गर्दा धेरै पोजेटिभ केस आउने भनाइ तथ्यसंगत नभएको जिकिर गर्नुभयो ।

मन्त्री ढकालले स्वास्थ्यमा बेथिति गरेर हुर्किएकाहरु नेपालको स्वास्थ्य क्षेत्र माथि नउठोस् भन्ने कामना गरेर बसेको आरोप लगाउनुभयो । ‘महामारीको सिरान राखेर कतिपयले आनन्द मान्नुभएको छ भन्ने कुरो मैले हेक्का गरेरै बसेको छु,’ उहाँको भनाइ थियो, ‘स्वास्थ्य क्षेत्र सुध्रिएला कि भन्ने उहाँहरुलाई चिन्ता छ, बेथितिभित्र रमाउन चाहनेहरु त्यसलाई स्वर्ग मानेर बसेका छन् ।’


ताजा खबर