‘कोभिड–१९ बिरुद्धको खोप सबैको पहुँचमा पुर्याउन एक खर्ब अमरिकी डलर लाग्छ’ : डब्ल्यूएचओ

कोभिड-१९ खोपको विश्वका सबै व्यक्तिमा पहुँच पुर्‍याउन कम्तीमा पनि एक खर्ब अमेरिकी डलर लाग्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ ।

सोमबार जेनेभाबाट भर्चुअल प्रेस सम्मेलनमा बोल्दै डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम घेब्रियससले भन्नुभयो, “यो धेरै पैसा जस्तो लाग्छ र यो हो पनि ।”

स्वास्थ्यका लागि प्रयोग हुने उक्त रकम जी-२० देशले कोरोना भाइरस महामारीबाट थला परेको अर्थतन्त्रलाई उकास्न वित्तीय प्रोत्साहनका लागि लगानी गरिसकेको १० ट्रिलियन डलरको तुलनामा यो निकै सानो भएको तर्क उहाँले गर्नुभयो । कोरोना नियन्त्रण नभएमा अहिलेको स्वास्थ्य तथा आर्थिक सङ्कट थप भयावह हुने भन्दै विश्वले सम्भावित जिम्मेवारीका लागि अग्रसरता देखाउनुपर्नेमा उहाँले जोड दिनुभयोे ।

पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “आउँदो तीन महिनामा ‘एसीटी–एक्सेलेटर’को कामको मापन गर्ने महत्वपूर्ण समय हुनेछ ।” खोप विकास, उत्पादन र कोभिड–१९ परीक्षण, उपचार र खोपको समान पहुँचको गतिलाई अघि बढाउन डब्ल्यूएचओको अगुवाईमा ‘एसीटी–एक्सेलेटर’ (विश्वव्यापी सहकार्य) आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यद्यपि यसलाई सफल पार्न हामीले सहकार्यलाई महत्व दिँदै नयाँ उपकरणको प्रयोगलाई प्राथमिकता दिने मापदण्डको आधार बनाउनुपर्छ ।”

डब्ल्यूएचओ प्रमुखका अनुसार ‘एसीटी–एक्सेलेरेटर’का लागि महत्वाकांक्षा र प्रतिबद्धता गरिएको रकमको मात्रा बीच ठूलो अन्तर रहेको छ ।

“हामी ‘एसीटी एक्सेलेरेटर’को आश्वासन महसुस गर्नका लागि आवश्यक अर्बौको कोषमा १० प्रतिशतमा मात्र छौं भन्ने कुराको ख्याल गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

यस हप्ता कोभिड–१९ सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई करोडमा पुग्ने र सङ्क्रमित सात लाख ५० हजारको मृत्यु सङ्ख्या पुग्ने कुराप्रति सचेत गराउँदै डब्ल्यूएचओ प्रमुखले जोड दिनुभयो, “यी तथ्या ङ्कहरू पछाडि ठूलो दुःख र पीडा रहेको छ । यस कुरालाई मध्यनजर गर्दै विश्व नेताहरूले नियन्त्रणका लागि कदम चाल्नुपर्ने र नागरिकहरूले सम्वेदनशील बनी अगाडि बढ्नेमा उहाँले जोड दिनुभयो ।- (रासस)


ताजा खबर