नेकपा एकताको पक्षमा दबाब दिन हस्ताक्षर अभियान : सबै समूहका ६१ सांसदको हस्ताक्षर

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा दुई समूहबीच टकराव तीब्र हुँदै जाँदा पार्टीलाई फुटबाट जोगाउन सांसदहरुको समूह अगाडि आएको छ ।

संस्थापन समूह र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका ६१ जना सांसदहरुले फुटबाट रोक्न वृहत् हस्ताक्षर अभियान सुरु गरेका छन् । हस्ताक्षर अभियानमा सक्रिय सांसद विशाल भट्टराईले धेरै सांसदहरु राजधानी बाहिर रहेकाले एकै दिन ६१ जना सांसदको हस्ताक्षर संकलन गरिएको जानकारी दिनुभयो । ‘पहिलो चरणमा ६१ जना सांसदको हस्ताक्षर छ,’ उहाँले भन्नुभयो, ‘अधिकांश सांसदले पार्टी एकताको पक्षमा मत जाहेर गर्नुहुन्छ ।’ उहाँ प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली निकट हुनुहुन्छ ।

पार्टी एकताका पक्षमा माधवकुमार नेपाल नजिक रहनुभएकी रामकुमारी झाँक्रीदेखि पुष्पकमल दाहाल नजिक रहनुभएका सुरेशकुमार राई र नारायणकाजी श्रेष्ठ निकट अञ्जना विशंखेसहित दुई दर्जन सांसद उपस्थित हुनुहुन्थ्यो । नेतृ झाँक्रीका अनुसार हस्ताक्षर अभियानमा प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, सचिवालय र स्थायी कमिटीका सांसदहरु सहभागी गराइने छैन । त्यसभन्दा तलका सबै सांसदहरुको हस्ताक्षर संकलन गरिने उहाँले जानकारी दिनुभयो ।

पार्टी एकता अभियानका लागि भन्दै हस्ताक्षर अभियानबारे जानकारी दिन सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा नेतृ झाँक्रीले कम्युनिष्टहरुले विगतमा पनि धेरै टुटफुट व्यहोरेकाले अब थप विनासको बाटो हिँड्न नसकिने उल्लेख गर्नुभयो । ‘कम्युनिष्टको नाममा एउटा बोर्ड त राख्न सकिएला,’ उहाँले भन्नुभयो, ‘तर, पार्टी बनाउन सक्नुहुन्न, अब त्यो जोखिम नउठानुस् ।’

नेता यज्ञराज सुनुवारले पार्टी एकताको सन्देश प्रवाह गर्न आफूहरु सफल भएको बताउनुभयो । उहाँले ९५ प्रतिशत कार्यकर्ता पार्टी एकताको पक्षमा रहेको बताउँदै मतदाता र कार्यकर्तालाई निराश नबनाउन नेतृत्वलाई सुझाव दिनुभयो ।

सांसद जीवनराम श्रेष्ठले विगतको बाटो गलत भएको निष्कर्ष निकालिएकाले फेरि गल्ती दोहोर्‍याउन नहुने मत राख्नुभयो । ‘कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भन्ने बेला होइन,’ उहाँले भन्नुभयो ।

सांसद राजबहादुर बुढाले विभाजनको नेतृत्व जसले लिए पनि त्यो व्यक्ति इतिहासबाट हराउने दाबी गर्नुभयो । ‘पार्टी स्थापना गरेको इतिहास पुष्पलालको नाममा अमर रहन्छ,’ उहाँको भनाइ थियो, ‘विभाजनकारीको नाम इतिहासले सम्झँदैन ।’

अर्थ समितिका सभापतिसमेत रहनुभएका सांसद कृष्णप्रसाद दाहालले व्यक्तिगत इगोले पार्टी फुट्न नदिने दाबी गर्नुभयो । ‘हामीले हाम्रो कारणले पार्टी फुट्न दिँदैनौं भनेर प्रतिबद्धता जनाएका छौं,’ उहाँले भन्नुभयो, ‘अवश्य एक दिन ठूला नेताहरु पनि यही प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्न आउनुहुनेछ ।’


ताजा खबर