गुगलले ल्यायो पिक्सेल ४ स्मार्टफोन

गुगलले आफ्नो नयाँ पुस्ताको स्मार्टफोन, पिक्सेल फोर सार्वजनिक गरेको छ । अमेरिकाको न्युयोर्कमा मंगलबार आयोजित विशेष समारोहबीच पिक्सेल ४ स्मार्टफोन सार्वजनिक गरिएको हो ।

स्टाण्डर्ड आकारको पिक्सेल फोर स्मार्टफोनसँगै गुगलले ठूलो आकारको पिक्सेल फोर एक्स एल स्मार्टफोन पनि सार्वजनिक गरेको छ ।

पिक्सेल फोर स्मार्टफोन सेतो, कालो र सुन्तला गरी तीन रङमा उपलब्ध छ ।
पिक्सेल फोरको प्रिअर्ड तत्कालैबाट सुरु भएको र अक्टोबर २४ देखि बजारमा उपलब्ध हुने गुगलको भनाइ छ ।

अमेरिकामा पिक्सेल फोरको मूल्य ७ सय ९९ डलर तथा पिक्सेल फोर एक्स एलको मूल्य ८ सय ९९ डलर तोकिएको छ ।

पिक्सेल फोर एक्स एलमा ६.३ इन्चको क्वाड एचडी डिस्प्ले रहेको छ । जबकी पिक्सेल फोरमा ५.७ इन्चको स्क्रिन रहेको छ ।

दुबै स्मार्टफोनमा क्वालकोम स्नापड्रागन ८५५ प्रोसेसर रहेको छ । र्‍यामको क्षमता ६ जिबी छ भने स्टोरेजको हकमा ६४ जिबी र १२८ जिबी गरी दुई विकल्प उपलब्ध छन् ।

गुगलका नयाँ स्मार्टफोनको सबैभन्दा खास विशेषता भनेको स्मार्टफोनको स्क्रिन नछोइकन हात हल्लाएरै फोन अनलक गर्न सकिने फिचर हो ।

यसका लागि स्मार्टफोनमा मोसन सेन्सर रहेको छ । त्यस्तै एप्पलको फेस आइडीजस्तै यसमा पनि फेस अनलक फिचर रहेको छ । मोसन सेन्सका लागि गुगलकै प्रोजेक्ट सोली टेक्नोलोजीको प्रयोग गरिएको छ ।

यो फिचरमा स्मार्टफोनको स्क्रिन नछोइकन स्मार्टफोनका डिस्प्ले नजिकै हात हल्लाएर कल उठाउने वा काट्ने तथा स्मार्टफोनमा गीत बजाउने लगायका काम गर्न सकिन्छ ।

स्मार्टफोनको प्राइमरी क्यामरामा टेलिफोटो लेन्स समेत थपिएको छ । टेलिफोटो लेन्समा अप्टिकल तथा डिजिटल फोकस रहेको छ ।

पिक्सेल फोरमा नयाँ रेकर्डर एप पनि रहेको छ । यसले बोलिएका कुराहरुलाई गुगलको स्पिच रिकग्नीसनको प्रयोग गरी तत्कालै अथ्र्याइदिन्छ ।

एजेन्सीको सहयोगमा


ताजा खबर