‘बुद्ध जन्मभूमि नेपाल नै हो भन्नेमा कुनै शंका छैन’ : भारतीय विदेश मन्त्रालय

भारतीय विदेश मन्त्रालयले गौतम बुद्ध नेपालमा नै जन्मेको भन्ने विषयमा कुनै आशंका नरहेको बताएको छ।

आइतबार नेपालको परराष्ट्र मन्त्रालयले ‘गौतम बुद्ध नेपालमा जन्मेको तथ्य अकाट्य’ भनेर प्रेस स्टेटमेन्ट सार्वजनिक गरेको केही बेरमा नै भारतको विदेश मन्त्रालयले त्यसको जवाफ दिएको हो।

प्रेस स्टेटमेन्टमा भारतले भनेको छ, “कुनै शंका छैन, गौतम बुद्ध लुम्बिनीमा जन्मिएका हुन्। जुन नेपालमा पर्छ।”

यसअघि नेपालको परराष्ट्र मन्त्रालयले भारतीय विदेशमन्त्री एस. जयशंकरले गौतमबुद्धको जन्मस्थलको बारेमा दिएको अभिव्यक्तिको विषयमा विवाद गर्नुपर्ने कुनै कारण नरहेको बताएको थियो।

परराष्ट्रले गौतम बुद्धको जन्मभूमि नेपाल हो भन्ने विषय ऐतिहासिक र पुरातात्विक ढंगले प्रमाणित भएर स्थापित तथा अकाट्य भइसकेको उल्लेख गरेको थियो।

साथै सन् २०१४ मा नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै नेपालको संसदमा सम्बोधनका क्रममा नेपाल नै बुद्धको जन्मभूमि भएको भनेर भनेको विषयलाई पनि स्मरण गरेको थियो।

केही दिनअघि भारतीय विदेशमन्त्री एस. जयशंकरले गौतम बुद्धको जन्म भारतमा भएको अभिव्यक्ति दिएका थिए।

८ अगस्टमा भारतीय उद्यमी तथा व्यापारीहरूको छाता संगठन भारतीय उद्योग परिसंघको ७५ औं भर्चुअल कन्फ्रेन्सलाई सम्बोधन गर्ने क्रममा जयशंकरले उक्त अभिव्यक्ति दिएका थिए।

“आजसम्म हामी सबै दुईजना महान भारतीयहरूलाई चिन्दछौं। पहिलो, गौतम बुद्ध र दोस्रो महात्मा गान्धी। हामी मात्रै होइन, यी दुईजना महान भारतीयहरूलाई पूरै विश्वले जान्दछ,” भारतीय विदेशमन्त्री जयशंकरले भनेका थिए।


ताजा खबर