टोकियो ओलम्पिक नहुने सम्भावना उच्च

अर्को वर्ष धकेलिएको टोकियो ओलम्पिक नहुने सम्भावना उच्च बनिरहेको छ । महामारीको प्रभाव यस्तै रहे सन् २०२१ को जुलाईमा ओलम्पिक गर्न असम्भव प्रायः देखिइसकेको छ ।

सन् २०२० को टोकियो ओलम्पिकका लागि सामुन्द्रिक तटमा राखिएको ओलम्पिक रिङ हटाइएको छ । आयोजकले मर्मत सम्भार गर्न भन्दै रिङ हटाइएको र अर्को वर्ष ओलम्पिकको अन्तिम तयारीका बेला अर्थात् डिसेम्बरमा पुनः राखिने जनाएको छ ।

तर अहिलेको मुख्य प्रश्न हो, के डिसेम्बरमा यी रिङहरु यही स्थानमा राखिएलान् ? किनकि महामारीले झन् उग्र रुप लिइरहेको छ ।

अघिल्लो साता मात्र आयोजक कमिटीका अध्यक्ष योसिरो मोरीले यस्तै अवस्था रहे वृहत् प्रतियोगिता गर्न नसकिने प्रस्ट पारिसकेका छन् । अर्को वर्षको जुलाई २३ मा पनि ओलम्पिकको उद्घाटन हुन सकेन भने के हुन्छ त ? यसको सिधा जवाफ हो, रद्द । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले अब ओलम्पिक सार्न नसकिने बताइसकेको छ ।

ओलम्पिक हुनेस्थलहरु जापान सरकारले खेल संघ र सर्वसाधारणको प्रयोगका लागि खुला गरेको छ । गत मार्चमा ओलम्पिक सार्ने निर्णय हुनुअघिसम्म तयारीका लागि १२ अर्ब ३५ करोडअमेरिकी डलर खर्च भइसकेको छ । प्रतियोगिता सर्नेबित्तिकै ८ करोड डलर अतिरिक्त भार पर्ने आयोजकको भनाइ छ ।

भाइरसले जापानको अर्थतन्त्रमा नराम्रो असरपारेका बेला ओलम्पिकमा यति धेरै खर्च गर्न नहुने आवाज पनि नागरिकस्तरबाट उठेको छ ।

हालैको एक सर्वेक्षणमा एक तिहाइभन्दा कम जनताले मात्र ओलम्पिक आयोजनाको पक्षमा मत दिएका थिए भने केहीले जापान राष्ट्रिय स्टेडियमअघि प्रदर्शन समेत गरेका छन् । विश्वका एघार हजार भन्दा बढी एथ्लिटको यात्रा र उनीहरुको सुरक्षा अर्को चुनौती हो ।

ओलम्पिकका लागि तीन अर्ब १० करोड डलर प्रायोजन गरेका कम्पनीहरुले अबनिरन्तरता दिन्छन् दिँदैनन् ? खेलहरु खाली रंगशालामा गर्ने कि दर्शकलाई प्रवेश दिने ? यी प्रश्नको प्रस्ट जवाफ पनि कसैसँग छैन ।

यदि ओलम्पिक नभए करोडौँ नोक्सानी त हुन्छ नै, त्योभन्दा बढी हजारौँ एथ्लिटको करियरमै असर पर्नेछ । रासस / योमरी सिम्बुन


ताजा खबर