“मास्क व्यवस्थापनमा ध्यान दिऔं”

सम्पादकीय

“मास्कका लागि छुट्टै डस्टविनको आवश्यकता छ”

विगत दुई हप्ता देखि जिल्ला प्रशासन कार्यालय सिन्धुलीको सक्रियतामा सरदमुकाम क्षेत्रमा मास्क प्रयोगमा गरिएको कडा निगरानी र दण्ड जरिवानाले मास्क प्रयोगकर्ताको संख्या ह्वात्तै बढाएको छ । प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख देखि जिल्लाका अगुवा सरकारी तथा गैरसरकारी संस्थाको प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधिहरुको संक्रियतामा बजार क्षेत्रमा मास्क सचेतना सँगै माक्स वितरण र प्रहरीले ठउँ-ठाउँमा चेकिङ गरेर माक्स नलगाउनेहरुलाई एकसय रुपैया जरिवाना गर्न थालेपछि मास्कको प्रयोग बढेको हो । मास्कको प्रयोग बढेसँगै प्रयोग भएका मास्कको व्यवस्थापनमा अर्को चुनौति देखापर्न थालेका छन् ।

व्यापक रुपमा मास्कको प्रयोगको हुन थालेपछि बजार क्षेत्रमा प्रयोग भएर फालिएका फोहोर मास्कको संख्या यत्रतत्र देखिन थालेको छ । अहिलेको सन्दर्भमा मास्क अत्यन्तै संवेदनशिल बस्तुको रुपमा रहेको छ । प्रयोग गर्दा यसले कोरोनाको जोखिम घटाउछ । तर यदि कोरोना संक्रमितले प्रयोग गरेर फालेको मास्क रहेछ भने त्यसले कोरोना फैलाउन पनि उत्तिकै भूमिका खेल्दछ । त्यसैले फोहोर मास्कको व्यवस्थापन अन्त्यन्तै गम्भिर विषय हो । बजार क्षेत्रमा प्रयोग गरेर फालिएका मास्कहरु केटाकेटीहरुले खेलौनाको रुपमा प्रयोग गर्ने गरेको मुखमा लगाउने गरेको पनि देखिएको छ ।

अधिकांशले मास्क व्यवस्थापन गर्ने भनेर अन्य फोहोर हाल्ने डष्टविनमा मास्कलाई फाल्ने गरेको पाईन्छ यसरी अन्य फोहोर सँगै मास्क फाल्दा सफाईकर्ताहरुमा संक्रमणको जोखिम उत्तिकै बढि हुन्छ । हाल सम्म कमलामाई नगरपालिकाका सफाईकर्ताहरुले पिपिई तथा गतिलो सुरक्षा उपाय अपनाएर फोहोर व्यवस्थापन गरेका छैनन । हातमा पञ्जा र माक्स लगाउने बाहेक उनिहरुमा उच्च सावधानी छैन । मास्कको व्यवस्थापन उच्च सावधानी अन्तर्गत पर्दछ । त्यसैले मास्क व्यवस्थापन गर्न बजार क्षेत्रमा मास्कको मात्र डस्टविन राख्न जरुरी छ । त्यसरी राखिएका प्रयोग गरिएका मास्क मात्र हाल्ने हाल्ने डस्टवीन सफा गर्न पिपिई लगाएका पूर्ण सुरक्षित सफाईकर्ताहरुको प्रयोग गर्नु पर्दछ ।

केहि समय अगडि राजधानी काठमाण्डौमा ढलमा समेत कोरोना भेटिएको समाचारहरु मिडियामा आएका थिए । अव्यवस्थित रुपमा जथाभावि मास्क फाल्ने हो भने जुनसुकै ठाउँमा ढलमा कोरोना फैलन सक्छ र यसले समुदाय स्तरमा कोरोना संक्रमण देखा पर्न थाल्दछ । त्यसैले हामीले जुन उत्साहा र हौसलाले तथा सबैको साथ र सहयोगले मास्कलाई अनिवार्य गरेका छौं ।

दण्ड जरिवाना गरेर मास्क लगाउन अनिवार्य गरेका छौ अब मास्कको उचित व्यवस्थापनमा पनि त्यसैगरि ध्यान दिन जरुरी छ । संक्रमणबाट जोगिनका लागि हामीले मास्कको प्रयोगलाई प्राथमिकतामा राखिरहदा यसको उचित व्यवस्थापन र विर्सजनमा ध्यान दिन सकेनौ भने भोलि समुदायमा कोरोना फैलने माध्यको रुपमा मास्ककै नाम आउन सक्छ । त्यसैले बेलैमा सचेत होऔं, मास्क व्यवस्थापनमा प्रभावकारी कदम चालिहालौ । अलग्गै मास्क डस्टवीनको व्यवस्थापन गरिहालौ ।


ताजा खबर