‘डर लागे पनि मृत्युलाई ‘एसेप्ट’ गर्नैपर्छ’ : डा. शंकरमान राई

२२ वर्षअघिसम्म प्लास्टिक सर्जरीका लागि विदेशबाट चिकित्सक झिकाउनुपर्ने बाध्यता थियो । अहिले त्यस्तो अवस्था छैन । प्लास्टिक सर्जन डा. शंकरमान राईले जन्मजात खुँडे, तालु फाटेका, आगोले पोलेका र दुर्घटनामा परेर अंगभंग भएकाका लागि नयाँ जीवनदाता भएर कहलिएका छन् ।

अमेरिकाबाट प्लास्टिक सर्जरी तालिम लिएर फर्केपछि डा. राईले सालिन्दा खुँडे र तालु फाटेका सात सयजनाको प्लास्टिक सर्जरी गर्दै आएका छन् भने आगोले पोलेर अंगभंग भएका ६ सयजना लाभान्वित हुन्छन् । जन्मजात खुँडे, तालु फाटेका, आगोले पोलेका र दुर्घटनामा परेर अंगभंग भएकाको अधिकांश शल्यक्रिया काठमाडौंबाहिर गरिएपछि काठमाडौंसम्म पुगेर उपचार गराउन नसक्नेलाई डा. राई नयाँ जीवनदाता भएका हुन् ।

नेपालमा मात्रै होइन, प्लास्टिक सर्जरी गर्न दक्षिण अमेरिका, पेरु, इक्वेडर, बंगलादेश, भियतनाम, चीन, अफ्रिका र भारतसम्म पुग्ने प्लास्टिक सर्जन डा. शंकरमान राईसँगको सफल कुराकानीको सम्पादित अंश :

हजुरको मनपर्ने खाना  केहो ?
खानमा ढिँडो मीठो लाग्छ । गाई, गोरुको मासु खान्न । कहिलेकाहीं नातागोतासँग रेष्टुरेन्ट पुग्छु । कतिपय अवस्थामा कार्यालयीय कामले समेत खानकै लागि रेष्टुरेन्ट जानुपर्ने हुन्छ । पाककलासम्बन्धी ज्ञान छ । पकाउन श्रीमतीलाई सहयोग गर्दै आएको छु ।

पोसाक के मन पराउनुहुन्छ ?
प्रायः सर्टपाइन्ट लगाउने गर्छु । नीलो रंग प्रिय लाग्छ । श्रीमतीले लुगा किनिदिने हुनाले कपडामा कति खर्च हुन्छ भन्न सक्दिनँ । रेडिमेड कपडा नै लगाउने बानी छ । कपडाको ब्रान्डेबारे अनभिज्ञ छु । खोटाङबाट काठमाडौं पस्दा ढाकाटोपी लगाएको थिएँ ।

यत्तिको फिट हुनुहुन्छ, फिटनेस राज के हो ?
बिहान उठ्नेबित्तिकै हिँड्नुपर्छ । समयमा खाना खाने फुर्सदसम्म हुँदैन । विपश्यनाबारे धेरै पढ्छु । त्यसको अर्थ र भावचाहिँ थाहा छ ।

ब्यस्तताको बीच अध्ययन कत्ति गर्नुहुन्छ ?
बेफुर्सदीले पढ्ने बानी छुट्दै गएको छ । प्रत्येक दिन बिहान आठदेखि नौ बजेसम्म विद्यार्थीलाई पढाउँछु । पढाउनलाई पढ्नैपर्यो । काठमाडौंबाहिर जाँदा त्यो समय पढेर सदुपयोग गर्छु । दर्शनशास्त्र, अनुभव-अनुभूति पढ्न जाँगर चल्छ ।
पुराना लेखक मन पर्छन् । कर्ण शाक्यका किताब त्यत्तिकै पठनीय लाग्यो । नयाँ लेखकमा बुद्धिसागरको लेखनशैली लोभलाग्दो छ । ‘साइन्टिफिक आर्टिकल’ नलेखी प्रोफेसर बन्न पाइँदैन । विशेषगरेर मेडिकल जर्नलमा लेख्ने गर्छु । मसँग भएका किताब यहाँ (कीर्तिपुर अस्पतालमा) राखेको छु । विद्यार्थी हुँदा धेरै गरे पनि हिजोआज किताबमा त्यति खर्च गर्दिनँ ।

घुमफिर कत्तिको गर्नुहुन्छ ?
रुचि भए पनि सबै ठाउँ परिवारसहित जान पाइँदैन । एक्लै घुम्न त्यति मज्जा लाग्दैन । ५० बढी जिल्ला पुगेको छु । १५÷२० देश टेकेको छु । नेपालजस्तो सुन्दर ठाउँ विश्वमै छैन । प्राकृतिक सुन्दरतामा दक्षिण अमेरिकी देश राम्रो लाग्यो । त्यहाँ इतिहासमात्रै होइन, संस्कृति छ । प्राकृतिक सुन्दरता त्यत्तिकै आकर्षक छ ।

फुर्सदमा के गर्न मन पर्छ ?
चौबीसै घन्टा व्यस्त हुने पेसा भएकाले कहिलेकाहीं आराम गर्न मन नलाग्ने कुरै भएन । सकेसम्म शनिवार घरपरिवारलाई समय दिने प्रयास गर्छु । फुर्सद भइहालेमा घरमै बस्छु । विदेश जाँदा कहिलेकाहीं श्रीमती सँगै हुन्छौं ।

खेलकुदमा कत्तिको शोख छ ?
ब्याडमिन्टन मन पर्छ । पहिले अभिरुचि थियो । बुझ्न गाह्रो भएकाले होला, क्रिकेट हेर्दा अल्छी लाग्छ । छोरा म्यानचेस्टर युनाइटेड, छोरी चेल्सीका फ्यान । मलाई पनि म्यानचेस्टर नै मन पर्छ ।

मोबाइल कत्तिको चलाउनुहुन्छ ?
मसँग दुई मोबाइल सेट छन् । सामसुङ आफैंले एक हजार आठ सयमा किनेको हुँ । आइफोन फोरचाहिँ साथी दिएका हुन् । छोराछोरीसँग कुरा गर्न वी च्याट, इमेल र फेसबुक एकदमै कम प्रयोग गर्छु ।

 टेलिभिजन कत्तिको हेर्नुहुन्छ ? 
टेलिभिजनमा समाचार हेर्छु । कृषि कार्यक्रम हेर्न त्यत्तिकै मन पर्छ । हिजोआज पनि खेतिपाती गर्न पाए ‘मेडिटेसन’ गरेजस्तै लाग्छ । पहिले/पहिले टेलिशृंखला हेरे पनि हिजोआज अलि कम भएको छ । घरमा रहेको सामसुङ टीभी ३२ इन्चको होला ।

चलचित्र कत्तिको हेर्नुहुन्छ ? मनपर्ने कलाकार कोही छन् ?
हलसम्मै पुगेर श्रीमतीसँग चलचित्र ‘छक्कापन्जा’ हेरेका थियौं । आक्कलझुक्कल युट्युबमा पनि चलचित्र हेर्ने गरेको छु । तर, ठूलो पर्दामा हेरेजस्तो मज्जा हुँदैन । २०२४ सालतिर ‘आमा’ हेरेको थिएँ । त्यस्तै, ‘थ्री एडियट्स’ र ‘बाबर्ची’ अहिले पनि सम्झन्छु ।
दयाहाङ राईको अभिनय मौलिक लाग्छ । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको अभिनय जीवन्त छ । दीपकराज गिरी र दीपाश्री निरौलाले पनि अभिनयमार्फत मनोरञ्जन दिएकै छन् ।

रातदिन एकनास काम गरिरहनुभएको हुन्छ , यहाँको स्वास्थ्य कस्तो छ ?
स्वास्थ्य ठिकठाक छ । कहिलेकाहीं रिंगटा लाग्नेबाहेक दीर्घरोगले समातेको छैन । रिंगटा लागेपछि एक/दुई दिन काम गर्न नसक्ने बनाउँछ । कहिलेकाहीं मुटु चाल बेतालमा चल्ने गर्छ । तसर्थ, चिया, कफी र कोल्डड्रिंक्स पिउँदिनँ । अहिलेसम्म दुईपटक ‘होलबडी चेकअप’ गराएको छु ।

शारीरिक अभ्यास नगरे पनि धूमपान गर्दिनँ । झडंग रिसाउनुहुँदैन, आवेशमा आउनुहुँदैन, रियाक्ट गर्नुहुन्न विपश्यनाले सिकाएको छ । त्यसले धेरैलाई ‘कुलडाउन’ गर्छ ।

यहाँ गजब को भाषण गर्नुहुन्छ ? कहाँ सिक्नु भो ?
भाषण नै गर्न नपरे पनि दैनिक विद्यार्थीलाई पढाउनुपर्छ । बिरामी र उनका आफन्तलाई सम्झानैपर्यो । यो काम पनि भाषण गरेजस्तै हो भन्छु । पाँच हजारजना सहभागी भएको ठाउँमा भाषण गरेको छु । प्रस्ट र दर्शकले सुन्नेगरी भाषण गर्न सक्छु ।

सकेसम्म अभिरुचिपूर्ण तरिकाले भाषण गर्ने प्रयास गर्छु । त्यसमा ‘ह्युमर’ थप्दा पलासको फूलमा सुगन्ध भेटेसरह हुन्छ भन्ने थाहा छ । भाषण गर्दा थाहा नहुनेगरी थेगो प्रयोग हुन सक्छ । चिकित्सक भएको नाताले भाषणलाई बौद्धिक बनाउने प्रयत्न गर्छु ।

मद्यपान गर्नुहुन्छ ?
गर्नै परे पनि कम मात्रामा मादक पदार्थ पिउँछु । चिसो बियर पिउन आनन्द लाग्छ । ह्वीस्कीचाहिँ आइस लगाएर पिउने बानी छ । एक पेग सक्न जहिल्यै गाह्रो हुन्छ ।

यहाँको संगीतमा रुचिबारे केही बताइदिनुस न ?
म संगीत सिकेको मानिस हुँ । गितार र भ्वायलिन बजाउनसमेत सिकेको छु । क्याम्पस पढ्दा गीत गाउँथें । गीत÷संगीत नसुन्ने कुरै भएन । तारादेवी र नारायणगोपालको आवाज मन नपराउने को होलान् र ?

यहाँका भूलहरु र तिनका सम्झनाहरु हामीलाई सुनाउनुस न ?
मानिस भएपछि जान/अन्जानमा भूल गरिँदोरहेछ । मैले पनि लेखाजोखा गर्नै नसकिनेगरी भूल गरेको छु । जसले भूल गर्छ उसले अर्को जूनीमा सजाय पाउँछ भन्ने भनाइ छ । तर, मैले त यही जूनीमा सजाय पाएको थिएँ/छु ।

सात कक्षा पढ्दा मेरो ‘पेन’ हरायो । शिक्षकले कसैप्रति शंका छ भनेर सोधे । मैले मसँगै पढ्ने साथीको नाम लिएँ । ‘पेन’ डेरामै छुटेको रहेछ । गल्ती छोप्न मैले त्यही ‘पेन’ साँझपख विद्यालय पुगेर आफ्नै कक्षाकोठामा फालिदिएँ । भोलिपल्ट ल हेर मेरो ‘पेन’ यहाँ कसले फालिदिएछ भनेर हल्लाखल्ला गरें ।

दस कक्षा पढ्न काठमाडौं आएँ । म जुन घरमा बसें, त्यो घरको पुरानोखालको रेडियो हराएछ । घरपेटीले मलाई शंका गरे । त्यतिबेला मैले सात कक्षा पढ्दा गरेको पाप सम्झें ।

नौ कक्षा पढ्दाको घटना हो । म जुन घरमा डेरा गरेर बस्थें । दसैं बिदा सकिएपछि म घरबाट डेरा फर्कें । त्यतिबेला घरपेटीले भनें, ‘बाबु तपाईं घर गएकै दिन मेरो अम्खोरा हरायो । तपाईंले लैजानुभयो कि ?’ स्तब्ध भएकाले मैले केही भन्न सकिनँ । तिहारको बिदामा घर गएर फर्कंदा घरपेटीले भने, ‘भाँडा धुने ठाउँमा अम्खोरा पायौं ।’

मैले एकपटक गल्ती गर्दा दुईपटक विनागल्ती सजाय पाएको थिएँ ।

यहाँको घर र निवास बारे पनि केही बताइदिनुस् न ?
घर भए पनि म अहिले डेरामा बसिरहेको छु । बूढानीलकण्ठमा रहेको घर बेचेर अर्को किन्न लागिरहेको छु । त्यो घर सन् २००० तिर बनाएको हुँ । घर आफ्नै कमाइले बनाएको हुँ । आधुनिकखालकै घर बनाउन त्यतिबेला झन्डै ३० लाख लागेको थियो ।

यहाँको राशी कुन हो ?
मेरो राशी तुला हो । परिवारले गरे पनि मलाई ग्रहदशाप्रति त्यति विश्वास छैन ।

यहाँको  सौन्दर्यचेत कस्तो छ ?
एकपटक आयुर्वेदिक मसाज गरेको छु । त्यो पनि साथीले नै शुल्क बुझाइदिएका थिए । आयुर्वेदिक मसाज गर्दा स्वास्थ्यका लागि लाभै हुन्छ ।

यहाँको प्रेम र विवाह बारे केहि भन्नुहोस न ?
मेरो प्रेमबिहे हो । प्रस्ताव मैले नै राखेको थिएँ । ‘एसेप्ट’ गर्न अलि समय लागेको थियो ।

यहाँको  सपना के छ र भोली कस्तो होस भन्ने चाहनुहुन्छ ?

मानिस सभ्य भइदिए हुन्थ्यो भन्ने मान्यता छ । आफ्नोमात्रै नभएर अर्काको पनि स्वार्थ हुन्छ है भन्ने सबैले बुझिदिए हुन्थ्यो । त्यतिमात्रै होइन, अरूलाई सहयोग गर्ने संस्कृति विकास भइदिए कति जाती हुन्थ्यो भन्ने लाग्छ ।

मैले गर्न सक्ने भनेको प्लास्टिक सर्जरी हो । जन्मजात खुँडे, तालु फाटेका, आगोले पोलेका र दुर्घटनामा परेर अंगभंग भएकाको प्लास्टिक सर्जरी गर्दै आएको छु । आगोले पोलेकाको उपचार पद्धति कसरी विकसित गर्न सकिन्छ भन्ने ध्याउन्नमा छु । त्यसमा पनि एकदमै कम खर्च वा निःशुल्क उपचार कसरी गर्न सकिन्छ भन्ने सवालमा लागिपरेको छु । यसको तुरुन्त समाधान देखिरहेको छैन ।

‘सोसल बिजनेस’ गर्ने हो भने त्यसबाट हुने आम्दानीले कैयौं बिरामीको निःशुल्क उपचार गर्न सकिन्छ । १० करोड रुपैयाँ भइदिए जन्मजात खुँडे, तालु फाटेका, आगोले पोलेका र दुर्घटनामा परेर अंगभंग भएकाको तीन वर्ष उपचार गर्न पुर्याउँथे ।

 मृत्यु वारे यहाँको धारणा के छ ?

मृत्यु स्वाभाविक हो । ‘एसेप्ट’ नगरी सुखै छैन । मृत्यु ‘पार्ट अफ लाइफ’ हो । डर लागे पनि मृत्युलाई ‘एसेप्ट’ गर्नैपर्छ । अकालमा नभएर प्राकृतिक मृत्य होस् भन्ने चाहना छ ।

सन् १९९५ जनवरी २४/२५ मा प्लास्टिक सर्जरी तालिमका लागि अमेरिका जान तयारी गर्दै थिएँ । अत्यधिक रक्तस्राव भएपछि २ तारिखमा मेरो शल्यक्रिया गरियो । गाउँमै भएको भए बाँच्ने सम्भावना थिएन ।

मेरो मृत्युमा हो/हल्ला नहोस् । मेरो मृत्यु भएको वर्षौंपछि मात्रै अरूले थाहा पाऊन् ।


ताजा खबर